राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको होली पर्वका अवसरमा शुभकामना

काठमाडौं, फागुन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताउनुभएको छ ।

जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुशी र हर्षोल्लासपूर्वक रंगमा रमाएर यस पर्व मनाउने गरेको उल्लेख गर्दै उहाँले यस महान् पर्वले सबै नेपालीमा खुशीका रंग छर्दै नयाँ उमंग एवं हर्षोल्लास प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

यसै अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले वसन्त ऋतुको आगमनसँगै आउने यस पर्वले नेपाली समाजलाई एक सुत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गर्नुभएको छ ।

सन्देशमा उहाँले यस पर्वले संप्तरंगी जस्तै समृद्धिका विभिन्न आधारहरुको तीव्र विकासका माध्यमबाट प्रत्येक नेपालीको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुद्ध नेपाल निर्माणको महाअभियानमा सहभागी हुन सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपालीबीच सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ – “फागुपूर्णिमाले सम्पूर्ण नेपालीमा उत्साह, उमंग ल्याओस् । सम्पूर्ण नेपालीमा हौसला प्रदान गरोस् । सबै समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्टता अभिवृद्धि गर्न सहयोग पु¥याओस् ।”

शुभकामना सन्देशमा उहाँले होली पर्वलाई असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रुपमा लिइने पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *