सावधान, नुन चर्को खाँदा हुनसक्छ यस्तो खतरा !

नुन मानव शरीरको लागि नभई नहुने तत्व हो । तर, यसको सन्तुलित उपभोग हुन सकेन भने गम्भिर समस्या भोग्नुपर्ने हुन्छ । नुनको मात्रा कम भयो भने पनि रोग निम्तन्छ भने बढी हुँदा पनि ठूलो असर पर्छ । शरीरको तापक्रम स्थिर राख्न र तन्दुरुस्त रहन नुनको मात्रा आवश्यक पर्छ । शरीरमा नुनको मात्रा कमी हुने वित्तिकै थकान महसुस हुने लगायतका समस्या देखापर्छन् ।

तर, नुनको मात्रा बढी भयो भने त्यसले निम्त्याउने असर निकै गम्भिर हुने एक अध्ययनले देखाएको छ । तपाई पनि नुन वा नुनिलो खानेकुरामा बढी ध्यान दिनुहुन्छ भने अहिल्यैबाट सचेत हुनुहोस्, धेरै नुन खाने मान्छेलाई पेटको क्यान्सर हुने सम्भवना अत्याधिक हुन्छ ।

वल्र्ड क्यान्सर रिसर्च फण्ड (डब्लुसिआरएफ) का अनुसार नुन कम खानेलाई पेटको क्यान्सर हुने संभावना कम हुन्छ । खानामा धेरै नुन खाँदा हाई ब्लडप्रेसरको समस्या त हुन्छ नै हर्ट एट्याकको खतरा पनि उत्तिकै हुन्छ ।

डब्लुसिआरएफका अनुसार हाल मानिसहरु दैनिक रुपमा ८.६ ग्राम नुन खाने गर्छन् । प्रतिवेदनले दैनिक ६ ग्राम अर्थात एक चिया चम्चा भन्दा धेरै नुन खान नहुने बताएको छ । हेरक व्यक्तिले ६ ग्रामको सीमामा रहेर नुन खपत गर्ने हो भने पेटको क्यान्सर १४ प्रतिशतले घटाउन सकिन्छ ।

दैनिक खानेकुरामा नुनको मात्रा कम गर्नका लागि थप नुन मिसाईएका खाद्यपदार्थहरु जस्तै पाउरोटी, कर्नफ्लेक्स, आलु चिप्स जस्ता वस्तुको सेवन कम गर्नुपर्छ । हरिया सागसब्जी एवं फलफुलमा जोड दिनाले नुनको मात्रा घटाउन सकिन्छ ।

डब्लुसिआरएफका अनुसार प्रति १०० ग्राम भोजनमा १.५ ग्राम भन्दा धेरै नुन छ भने त्यसलाई अत्याधिक नुन भएको भोजन मान्नुपर्छ । यसैगरी १.५ देखि ०.३ ग्राम भएकोलाई मध्यम नुन भएको र ०.३ वा सो भन्दा कम भएको भोजनलाई कम नुन भएको भोजनको रुपमा वर्गिकरण गर्न सकिन्छ । शिशु र ११ वर्ष मुनीकाले भने अझै कम नुन सेवन गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । एक वर्ष कम उमेरका शिशुहरुले दैनिक १ ग्राम खानु उपयुक्त हुन्छ ।

आमाको स्तनपान गरिरहेका बच्चाहरुलाई सोहि दुधबाट आवश्यक नुन प्राप्त हुने हुनाले थप नुन दिइरहनु पर्दैन । एक वर्ष भन्दा माथिका बच्चाको हकमा १ देखि ३ वर्षकालाई दैनिक २ ग्राम, ४ देखि ६ वर्षकालाई ३ ग्राम, ७ देखि १० वर्षकालाई दैनिक ५ ग्राम र ११ देखि माथिकालाई दैनिक ६ ग्राम नुन खुवाउनु उपयुक्त हुने अध्ययन प्रतिवेदनमा बताइको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *