टिकापुरमा ‘होरी’को रौनक शुरु

टिकापुर, फागुन १२ । टीकापुर क्षेत्रमा मनाईंदै आएको बहुचर्चित होरी पर्व शुरु भएको छ । सात नम्बर प्रदेशको संस्कृती मन्त्रालय समेत जिम्मेवारी सम्हालेका प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरे ।

टीकापुरको खुला मञ्चमा भएको कार्यक्रममा मन्त्री सोडारीले होली खेल खेलेर पर्वको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री सोडारीले पुर्खाले जोगाउँदै आएको होली जस्ता सामाजिक मेलमिलापका पर्वहरूलाई जोगाउन आफूले सक्दो प्रयास गर्ने बताए ।

टीकापुरमा निरन्तर वर्षौंदेखि होली सञ्चालन हुँदै आएकोमा प्रशंसा गर्र्दै मन्त्री सोडारीले होलीले सबै भाषा, धर्म, समुदायलाई जोड्ने काम गरेकाले यस पर्वलाई जोगाउनु सबैको कर्तव्य भएको पनि बताए ।

टीकापुरमा फागुन शुक्ल अष्टमीमा शुरु गर्ने गरिएको होली एक सातासम्म अर्थात् फागु पूर्णिमाको दिनसम्म सञ्चालन गर्ने प्रचलन रहेको छ । अछाम जिल्लाबाट बसाइसराइ गरेर आएकाहरूले वर्षौदेखि मनाउँदै आएको होली पर्व कैलालीमा टीकापुर होलीका रूपमा चर्चित छ । होली पर्व सेता पहिरनमा पञ्चेबाजासँग देउडा गाउँदै खेल्ने गरिन्छ ।

उद्घाटन कार्यक्रममा प्रदेशसभाका सांसद डा. रणबहादुर रावल, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल, उपप्रमुख केशरी विष्ट लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *