नेपाल–भारत प्रबुद्ध समूहको बैठक आजदेखि काठमाडौंमा हुँदै

काठमाडौं, फागुन १२ । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक शनिबारदेखि काठमाडौँमा बस्दैछ । हरेक तीन महिनामा बस्ने समूहको बैठक शनिबार र आइतबार दुई दिन चल्नेछ ।

नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, दुई देशबीचको खुला सिमानाका समस्या तथा त्यसको समाधान, दुई देशबीचको व्यापार, सांस्कृतिक विकासका यावत् विषयमा दुवै देशका सरकारलाई प्रतिवेदन बुझाउने गरी गठन भएको दुवै देशका विज्ञ सम्मिलित समूहको बैठकले यसअघिसम्मको छलफलबाट प्रारम्भिक मस्यौदाको काम सुरु गर्ने समूहका सदस्य नीलाम्बर आचार्यले बताउनुभयो ।

नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको प्रबुद्ध समूहको बैठकमा दुवै देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, समग्र हितका विषयमा छलफल भइरहेको छ । छलफलको

पहिलो चरण करिब सम्पन्न भएकाले मस्यौदाको काम सुरु हुने समूहका सदस्य आचार्यले बताउनुभयो ।
यसअघि दुई देशबीच भएको पारवहन सन्धि र सन् १९५० को मैत्री सन्धिको विषयलाई समयानुकूल परिमार्जन गर्न दुवै देशका विज्ञ समूह तयार भएका छन् । समूहले व्यापक छलफल गरी तयार गर्ने प्रतिवेदनलाई दुवै देशको सरकारले कार्यान्वयनमा लाने प्रतिबद्धता यसअघि नै जनाएका छन् ।

बैठकका लागि भारतीय प्रबुद्ध समूहका सदस्यहरू काठमाडौँ आइसक्नुभएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *