देउवा विरुद्ध कोइरालाको हमला

वीपी कोइरालाका दाजु केशवप्रसाद र काँग्रेसकी शक्तिशाली नेतृ नाना कोइरालाका पुत्र डा. शेखर कोइराला काँग्रेसका प्रभावशाली नेता हुन् । गएको महाधिवेशनमा उनी सबैभन्दा रुचाइएका नेता प्रमाणित भएका थिए । राजनीतिमा ०४७ साल पछिमात्रै सक्रिय भए पनि ठुला राजनीतिक परिवर्तनहरूमा डा. शेखरको भूमिका कम छैन । अहिले काँग्रेस चुनामा लज्जास्पद पराजय भएर शिथिल भएको छ । नेतृत्वको कमजोरीका कारण काँग्रेसले पराजय बेहोरेको भन्दै कोइरालाले अब नयाँ तरिकाले काँग्रेसलाई अगाडि लैजानुपर्नेमा जोड दिँदै आएका छन् । उनै कोइरालासँगको अन्तरवार्ता ।


देउवा संसदीय दलको नेता बन्नुहुँदैन, काँग्रेसलाई बचाउने बारेमा सोच्नुपर्छ

नेपालको इतिहासमै काँग्रेस सबैभन्दा कमजोर देखियो । यो कुरा मान्न तयार हुनुहुन्छ ?

केही हदसम्म हो ।

अब काँग्रेस कसरी अगाडि बढ्छ ?
नेपाली काँग्रेस अहिले एकदमै कमजोर अवस्थामा देखिन्छ । स्थानीय तहमा पनि ७ सय ५३ मध्ये ५ सयभन्दा बढी तहमा हामी छैनौँ । प्रदेश र केन्द्रमा पनि हामी छैनौँ । तर तीनवटा चुनाव हामीले नै सम्पन्न गर्न सक्यौँ ।

तर काँग्रेसलाई जनताले त रुचाएनन् नि ?
जनताले नरुचाएको होइन । हाम्रो नेतृत्वले सङ्गठन बलियो बनाउन सकेन । अहिले काँग्रेसको सङ्गठन कमजोर छ । अब सुधार गरेर जानुपर्छ ।
काँग्रेसको सङ्गठन बलियो बनाउन अब केक गर्नुपर्छ ?

सङ्गठन सुधारका लागि नेतृत्वले कसरी सोचेको छ । त्यो मलाई थाहा छैन । हामीसँग सरसल्लाह हुँदैन । केन्द्रीय समिति मात्रै हो । समितिको बैठक अब छिटै बस्छ । त्यो पनि संसदीय दलको विधान पास गर्नका लागि मात्रै हो । संसदीय बोर्ड र कार्यसम्पादन समिति अवैधानिक छ भनेपछि बल्ल नेतृत्वले केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

केन्द्रिय समितिको बैठक बसेर मात्रै काँग्रेस बलियो हुन्छ ?
हुँदैन । नेतृत्वले के बुझेको छैन भने नेपाली जनताले अझै पनि हामीलाई भोट दिएका छन् । माया गरेका छन् । तर हाम्रो क्रियाकलापले गर्दा हामी पराजित भएका हौँ । सभापतिले एउटा सभामा भन्नुभयो, “व्यक्ति हारेको हो पार्टी हारेको होइन ।” कसरी भन्नुभयो, किन भन्नुभयो । मलाई थाहा छैन । यो कुरा उहाँले बोल्नुहुँदैनथ्यो । त्यस्तो सभापतिको नेतृत्वले पार्टीको सङ्गठन बलियो हुनै सक्दैन । उहाँले मेरो नेतृत्वमा काँग्रेसले हारेको छ भन्ने कुरा स्वीकार गर्नुभयो भने ठिक ठाउँमा पुग्नुहुन्छ ।

अब तपाईहरु के गर्नुहुन्छ त ?
हामीले अब छिटोभन्दा छिटो महासमिति बैठक डाक्नुस् भनिरहेका छौँ । समीक्षा गरौँ भनेका छौँ । महासमिति बैठकले आमूल रूपमा विधान संशोधन गरेर अर्ली अधिवेशनमा जानुपर्छ । सभापति र उहाँका नजिकका केही साथीहरू पदाधिकारी थपिदिने, केन्द्रीय समिति र विभागहरू थपेर टालटुले नीति अपनाउन खोज्नुभएको छ । त्यसले काँग्रेसलाई झन् कमजोर बनाउँछ ।

सभापति शेरबहादुर देउवा त झन् शक्तिशाली बन्नका लागि गृहकार्य गर्दैहुनुहुन्छ नि ?
त्यसै शक्तिशाली बन्छु भनेर हुँदैन । पहिला त महासमिति बैठक बस्नुपर्छ । महासमितिले जुन निर्णय गर्छ, त्यसलाई महाधिवेशनले इन्डोर्स गरेपछि मात्रै कार्यान्वयन हुन्छ । यो कुरा सभापतिले पनि बुझ्नुपर्छ । जथाभाबी गरेर हुँदैन । नेपाली काँग्रेस उहाँहरूको पेवा होइन । नेवि सङ्घ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ लगायतका संगठनहरुमा सबै देउवाकै मान्छे छन् । उहाँ त अहिले पनि शक्तिशाली हुनुहुन्छ नि । तर पार्टी त कमजोर रैछ । उहाँलाई यस विषयमा चिन्ता छैन रु उहाँ आफू बनेर के गर्नुहुन्छ रु जबसम्म पार्टी बलियो हुँदैन तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ ।

२०६४ सालमा काँग्रेसले चुनाव हार्दा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनु नपर्ने, अहिले देउवाले चाहिँ किन नेतृत्व छोड्नुपर्ने भनेर देउवा पक्षधर नेताहरूले भनिरहेका छन् नि ?
सभापति छोड्न कसले भनेको छ र रु मैले त भनेको छैन । तर छिटोभन्दा छिटो महासमिति बैठक र अर्ली महाधिवेशन गरेर जितेर देखाइदिनुस् न । कसरी जित्नुहुँदोरहेछ हामी पनि हेरौँ ।

अर्ली महाधिवेशनको औचित्य पुष्टि कसरी गर्नुहुन्छ ?
नेपाली काँग्रेसको विधान एकात्मक राज्य प्रणालीमा आधारित छ । देश सङ्घीयतामा गइसक्यो । तर उहाँहरूले अहिलेकै सिस्टमबाट बनाइदिन खोजिरहनुभएको छ । १३ औँ अधिवेशनदेखि नै उहाँहरूले प्रयास गरिरहनुभएको छ । तर अब हामी दिँदै दिँदैनौँ । एक इन्ची पनि बढ्दा दिँदैनौँ उहाँहरूलाई । कार्यसम्पादन बसाउन नसक्ने सभापतिले भनेको कुरा हामी स्विकार्दैनौँ ।

तर काँग्रेसभित्र पदको लागि सम्झौता गर्ने नेताहरू छन् नि ?
छन् । देखिसकियो । प्रवक्ता नै जानुभयो । त्यसमा मलाई चिन्ता छैन । तर जो जाँदैनन् तिनीहरू लडेर बस्छन् । नेपाली काँग्रेस काठमाण्डौमा बस्ने हामी जस्ता मात्रै होइनन् । गाउँमा बस्ने कार्यकर्ताले काँग्रेसलाई हामीलेभन्दा धेरै चिनेका छन् ।

देशभरका कार्यकर्ताले नेतृत्व परिवर्तन गर्न चाहेका छन् त ?
विधि पूरा गरेर अर्ली अधिवेशन गरेर जो नेतृत्वमा आउनुहुन्छ, त्यसलाई स्वीकार गर्नुपर्छ ।

तपाईँ सभापतिमा चुनाव लड्नका लागि तयार हुनुहुन्छ रु देउवालाई हटाउने क्षमता छ तपाईहरुसँग ?
म मात्रै होइन, धेरैजना तयार छन् । शेरबहादुर देउवाजीमा के सक्षमता छ र रु उहाँले पनि चारपटक हारेर बल्ल जित्नुभएको हो । उहाँले संसदीय दलमा एक पटक, सभापतिमा एक पटक जित्नुभएको हो । किन शेरबहादुर देउवाजीलाई बलियो ठान्नुहुन्छ ।

फेरी संसदीय दलको नेता देउवा नै बन्दैहुनुहुन्छ नि ?
मैले पनि सुन्दै छु । म त संसद्मा छैन । देउवाले २०५१ साल सम्झिनुपर्छ । त्यस बेला एमालेसँग पराजित भएर काँग्रेस दोस्रो दल बन्न पुग्यो । त्यस बेला गिरिजाले संसदीय दलमा लड्नुभएन त । उहाँले देउवालाई दलको नेता बनाउनुभएको होइन  त्यति ज्ञान पनि छैन देउवालाई ?

उहाँलाई रोक्न सक्नुहुन्न ?
म त संसद्मा नै छैन ।

तर तपाईँको प्रभाव र भूमिका त होला नि ?
अब उहाँले समानुपातिकमा भरमग्दुर प्रयास गरेर सबै आफ्ना मान्छेलाई सांसद बनाउनुभएको छ । उहाँ नै बलियो हुनुहुन्छ । तर पनि लड्नुपर्छ । कोही न कोही आउनुपर्छ । च्यालेन्ज गर्नुपर्छ ।

देउवालाई च्यालेन्ज गर्न सक्ने नेता छन् ?
सुशील कोइरालाले च्यालेन्ज गर्नुभएको होइन रु रामचन्द्रजिले संसदीय दलमा हराउनुभएको होइन रु अहिले त्यति धेरै पावर भइसक्यो र देउवासँग रु उहाँको पावर भनेको समानुपातिक सांसद हो । ७० प्रतिशत आफ्नै मान्छेलाई राख्नुभयो । त्यतिले हुन्छ रु उहाँले काँग्रेसको भविष्य सोच्नुपर्दैन । अहिले संसदीय दलमा नउठे के हुन्छ, पहाड फुट्छ ?

शेरबहादुर देउवाले संसदीय दलको नेतामा उठ्न हुँदैन भन्ने पक्षमा तपाईँ हुनुहुन्छ ?
हो । अरू जसले जित्छ उही बन्छ । देउवाले छोड्नुपर्छ ।

संसदीय दलको नेता को बन्दा ठिक हुन्छ ?
महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भयो भने मात्रै दलको नेता बन्छु भन्नुभएको छ । त्यसका लागि उहाँले नै पहल गर्नुपर्छ । प्रकाशमानजि पनि लड्छु भन्नुभएको छ । कोही न कोहीले उम्मेदवारी दिनैपर्छ । तर देउवाले सोच्नुपर्यो । ५१ साल सम्झिनुपर्यो । काँग्रेसलाई बचाउने बारेमा सोच्नुपर्छ ।

काँग्रेसको एउटा टिमले त देउवालाई नै उक्साइरहेका छन् नि  ?
त्यो टिमका नेताहरू कमजोर छन् । शेरबहादुरजीको हालीमुहालीमा उहाँहरू चल्न खोज्नुहुन्छ । तर देउवा त विपीको अनुयायी भएर विद्यार्थीकालदेखि नै राजनीतिमा आउनुभएको हो । काँग्रेस यति कमजोर भएको बेलामा उहाँले संसदीय दलको नेतामा उठ्नु हुँदैन भन्ने मेरो मान्यता हो । रिपोर्टर्स नेपालबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *