मन्त्रालयको भागबण्डा अझै टुंगिएन, पार्टी एकता १५ दिनभित्र

काठमाडौं, फागुन १० । नेकपा एमाले र माओवादी केन्द्रबीच १५ दिनभित्र सबै प्रक्रिया पूरा गरेर पार्टी एकताको घोषणा गर्ने अनौपचारिक सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुबै कार्यदलको संयुक्त बैठकले १५ दिनभित्र सम्पुर्ण प्रकृया पुरा गरी पार्टी एकता गर्ने निर्णय गरेको हो ।

संयुक्त बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलका सदस्यहरु उपस्थित थिए ।

राजनीतिक प्रतिवेदनका लागि बनाइएको समितिले विगतका सहमति, असोज १७ को निर्णय, सातबुँदे सहमति, दुवै पार्टीका चुनावी घोषणापत्र लगायतमा छलफल गरेर प्रतिवेदन तयार पार्नेछ । कार्यदलले प्रतिवेदन बुझाएलगत्तै एकता घोषणा हुनेछ ।

पार्टी एकता प्रतिवेदन तयार गर्न गठित कार्यदलमा एमालेबाट माधवकुमार नेपाल, सुवास नेम्वाङ, भीम रावल, प्रदीप ज्ञवाली र रघुजी पन्त र रहेका छन् भने माओवादी केन्द्रबाट  नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेको कार्यदल गठन भएको थियो ।

दुई दलले संगठनात्मक र विधान मस्यौदा तयार गर्न एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा, मातृका यादव र गिरीराजमणि पोखरेल रहेको कार्यदल गठन गरेका थिए ।


नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दुई पार्टीबीच हुने एकताका लागि तयार भएको ७ बुँदे आधारपत्रका आधारमा राजनीतिक प्रतिवेदन तयार पारेर पार्टी एकताको घोषणा गरिने जानकारी दिए । “१५ दिनभित्र पार्टी एकता गर्नेगरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ,” श्रेष्ठले बैठकपछि भने ।

एमाले माओवादीको कार्यदलले मन्त्रालयको भागबण्डा भने अझै टुंगो लगाउन सकेको छैन । श्रेष्ठका अनुसार पहिले मन्त्रालयको संख्या कति बनाउने भन्ने बारेमा सरकारले निर्णय गरेपछि मात्रै कुन मन्त्रालय कुन पार्टीले लिने भन्ने विषयमा छलफल हुनेछ । त्यसका लागि शुक्रबार बस्ने मन्त्रिपरिषदले निर्णय गर्नेछ ।

मन्त्रालय भागवण्डामा सहमति जुटन नसक्दा बुधवार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम समयमा स्थगित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *