माधव नेपालको चेतावनी : ‘दुई नेताको मात्रै व्यवस्थापनले पार्टी एकता हुँदैन’

“
चितवन, फागुन २ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन् । पार्टी एकताबारे एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच मात्र वार्ता हुने गरेको र बरिष्ठ नेताहरुलाई वेवास्ता गरिएको गुनासो आइरहेका बेला नेपालले घुमाउरो पाराले आफुलाई वेवास्ता नगर्न चेतावनी दिए ।
चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता गर्नुपर्ने बताए ।
उनले भने– “दुई नेताको व्यवस्थापनले मात्रै हुँदैन । पहिला पूर्व प्रधानमन्त्री भइसकेका, पार्टी सञ्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका र तल्लोस्तरमा रहेका सबैलाई मिलाउनुपर्छ ।”
पार्टी एकतामा देखिएका बाधालाई छिटो भन्दा छिटो पन्छाएर पार्टी एकता गर्नु आजको आवश्यकता रहेको उनले बताए । उनले भने–“पार्टी एकता कहिले गर्ने, पार्टीले कस्तो विचार अवलम्बन गर्ने, दिइएको जिम्मेवारी पूरा नगरे परिवर्तन गर्ने, समयमा काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेर पार्टी एकता टुंग्याउनु जरुरी छ ।”
पहिला सरकार गठन गरेर पार्टी एकता हुनुपर्ने भन्दै उनले सरकार गठनका लागि समय आइसकेको बताए । एक फरक प्रसंगमा बोल्दै उनले भने, “काम चलाउ सरकारले गरेका दीर्घकालीन निर्णय अब बन्ने सरकारले उल्टाउने छ ।”
स्थायी कमिटिको आकस्मिक बैठक
यसैबिच, नेकपा एमालेले स्थायी कमिटिको आकस्मिक बैठक बोलाएको छ । बैठक ललितपुरको मानभवन स्थित व्यबसायी शारदाप्रसाद अधिकारीको घरमा बस्दैछ । यसअघि सोही स्थानमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच एक्ला एक्लै वार्ता भएको थियो ।
पार्टी एकताबारे दुई शीर्ष नेताहरुबीच भएको सहमतिलाई औपचारिक अनुमोदनको लागि बैठक बस्न लागेको पार्टी प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।
एमाले स्थायी समितिको बैठकपछि दुईपार्टीको एकता संयोजन समितिको बैठक बस्ने तयारी छ ।
“








