नेपालगन्ज मेयरमा २० वर्षपछि फेरि धवलकै राज

असार २०, नेपालगन्ज । नेपालगन्जमा मतदान हुनुभन्दा अघिको तापक्रम ४० को हाराहारी, उखरमाउलो गर्मीले तातेका सडक। दलहरुको चुनावी अभियानले माहोल झन तताएको थियो। बाँकेका आठ वटा स्थानीय तहमध्ये सबै राजनीतिक दलको ध्यान नेपालगन्ज उपमहानगरपालिका पुरै केन्द्रित थियो । ६ नम्बर प्रदेशका अरु तहमध्ये प्रमुख दलहरुको ध्यान पनि नेपालगन्जमै बढी केन्द्रित रह्यो । केन्द्रीय तहका नेताहरु समेतले निकै चासो दिए नेपालगन्ज उपमहानगरमा ।

त्यसो त नेपालगन्ज बहुजाति बहुभाषी भएको ठाउँ हो। मधेसी र मुस्लिम समुदायको बाहुल्य भएको नेपालगन्जमा उनीहरुको मत तान्न मुख्य कसरत देखियो । अन्यत्रको चुनावमा भन्दा नेपालगन्जमा भिन्न ढंगको प्रतिस्पर्धा भयो । अरु ठाउँमा दुईपक्षीय वा त्रिपक्षीय प्रतिस्पर्धा भइरहँदा नेपालगन्जमा भने बहुपक्षीय प्रतिस्पर्धा चल्यो । प्रमुख तीन दलबाहेक राप्रपा र संघीय समाजवादी फोरम पनि कडा प्रतिस्पर्धामा आए ।

पञ्चायतपछि भएका दुई वटा स्थानीय निर्वाचनमा कांग्रेस र एमालेले पालैपालो तत्कालिन नेपालगन्ज नगरपालिकाको नेतृत्व गरिसकेका छन् । ०४९ सालमा नेपाली कांग्रेसबाट विजयकुमार गुप्ता र ०५४ सालमा एमालेबाट डा. धवलशमशेर राणाले तत्कालीन नेपालगन्ज नगरपालिकाको नेतृत्व गर्ने मौका पाएका थिए ।

साबिकको नेपालगन्ज नगरपालिका १७ वडा र १० वटा गाविस गाभेर बनाइएको नेपालगन्ज उपमहानगरपालिका २० वर्षअघिकै मेयर डा. धवलशम्शेर राणा दोहोरिएका छन् । २० वर्षअघि एमालेबाट मेयर बनेका उनी २० बर्षपछि राप्रापाबाट मेयर बनेका छन् ।

धवलशम्शेर बाँकेको नेपालगन्जमा निकै लोकप्रिय नाम हो । धवल अहिले राप्रपाको महामन्त्री पनि हुन् । संसदको चौथो ठूलो दल राप्रपाका महामन्त्री रहेका धवलशम्शेरले आफै नेपालगन्ज उपमहानगरपालिकामा चुनाव लड्ने भनेपछि उनलाई पार्टीले उम्मेदवार बनाएको हो ।

धवल राजाको एजेन्डा एउटै छ, त्यो हो नेपालगन्ज शहरको विकास र समृद्धि । यसकै लागि धवल शमशेर उपमहानगरपालिकाको मेयर पदमा भिडे र जीतलाई सुनिश्चत गरे । नेपालगन्जमा विकासप्रेमी नेताको छवि बनाएका धवलशम्शेरलाई पार्टीगत भन्दा व्यक्तिगत मत बढी आयो ।

नेपालगन्ज उपमहानगरमा ६२ हजार ३९६ मतदातामध्ये ४८ हजार ६७८ मत खसेको थियो । मेयरको उम्मेदवारी घोषणा गर्दा धवलले भनेका थिए, ‘म २० वर्षअघि मेयर हुँदा सुरु गरेका राम्रा योजनाले निरन्तरता पाउन सकेका छैनन् । ती योजनालाई पुरा गर्न म उम्मेदवार बनेको हुँ ।’ विकासप्रेमी नेता भनेर नेपालगन्जमा चिनिने धवलशम्शेरले नेपालगन्जलाई ‘सफा, स्वच्छ, हराभरा र औद्योगिक सहर बनाउने उद्घोष गरेका थिए । त्यसैले पनि जनताले उनलाई विश्वास गरेर पार्टी नहेरेर मत दिएको चर्चा छ ।

पूर्व र वर्तमान मेयर धवल राजाले २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा स्वतन्त्ररुपमा बाँकेबाट चुनाव लडेका थिए । तर, उनी त्यो निर्वाचनमा सफल हुन सकेनन् । त्यसलगत्तै एमालेमा प्रवेश गरेका धवललाई एमालेले २०५४ को निर्वाचनमा मेयरको टिकट दियो । मेयरमा एमालेबाट उम्मेदवार बनेका उनी नेपालगन्ज नगरपालिकाको मेयर बन्न सफल भए । त्यसपछि भने उनी एमाले त्यागेर राप्रपामा प्रवेश गरेका हुन् ।

२०६२/०६३ का जनआन्दोलनअघि एमाले त्यागेका धवल २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राप्रपाबाट उम्मेदवार बने । तर, उनले तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो । २०७० सालको निर्वाचनमा बाँके क्षेत्र नं.३ मा चुनाव लडेका धवल राजाले कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई कडा टक्कर दिएका थिए।

२३ वटा वडा रहेको नेपालगन्ज उपमहानगरमा प्रमुखका लागि प्रतिस्पर्धामा रहेका १६ जना उम्मेद्वार मध्ये ५ जना मुस्लिम समुदायका थिए। तीमध्ये मुस्लिम समुदायमा चर्चित एमालेका उम्मेद्वार शमशुद्दिन सिद्दिकीले पनि आफ्नै समुदायको मत तान्न सकेनन्। २० वर्षअघि उनी नेपालगन्ज नगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए।

सिद्दिकी नेपालगन्ज नगरपालिकाका पूर्व उपमेयर तथा भारत्तोलनका चर्चित खेलाडी हुन्। २०६४ को संविधानसभा निर्वाचनमा पनि उनले हार व्यहोर्नु परेको थियो।

उता, राजपाबाट अलग भएर चुनावी अभियानमा होम्मिएको संघीय समाजवादी फोरमले मेयरमा मुस्लिम समुदायबाट कमरुद्दिन राईलाई उम्मेद्वार बनायो । नेपाल मजदुर किसान पार्टीका रसिद अहमद मनिहार र स्वतन्त्र रूपमा मोहम्मद अजुव हल्वाई तथा अब्दुल सलाम सिद्धिकी प्रमुख पदका लागि चुनावी मैदानमा उत्रिएका थिए।

करिब १८ हजार मुस्लिम मतदाता रहेको नेपालगन्जमा सबैको आस मुस्लिममै थियो। तर मुस्लिम उम्मेद्वारले नै आफ्नो समुदायको मत तान्न सकेनन्। यहाँ उनीहरुले सोचेभन्दा अलग भयो। मुस्लिम मत गाईमा धेरै गयो। उपमहानगरको २३ वडा अध्यक्षका १७० जनाले उम्मेदवारी दिएका मध्ये ५४ जना मुस्लिम समुदायका थिए।

विगतका निर्वाचन हेर्दा पनि नेपालगन्ज उप–महानगरपालिका एउटै पार्टीको पकड क्षेत्र मानिएको छैन। यहाँका मतदाताहरुको मन परिवर्तन हुने गरेकाले एउटा निर्वाचनमा एउटा पार्टीले जित्छ भने अर्को निर्वाचन अर्कै पार्टीले जित्छ।

नेपालगन्ज उप–महानगरपालिका रहेको क्षेत्र नम्बर ३ मा पहिलो संविधानसभामा १० हजारभन्दा माथि मत ल्याएर विजय भएका तत्कालीन मधेसी मोर्चाका उम्मेदवार सर्वदेव ओझाले दोस्रो संविधानसभा निर्वाचनमा जम्मा ७७ मतमै चित्त बुझाउनुपरेको थियो। पहिलो संविधान सभामा यिनै ओझाले कांग्रेसका तत्कालीन कार्यवाहक सभापति सुशील कोइरालालाई पराजित गरेका थिए। दोस्रोमा कोइराला विजयी भए। तर यो निर्वाचनमा यहाँका मतदाताहरुको मन फेरिएन र २० वर्षअघिकै मेयरलाई निरन्तरता दिए।

यहाँ धवलले आफ्ना प्रतिस्पर्धीलाई धेरै नै मतको मात दिएर जिते। स्थानीय तहको निर्वाचनमा देशैभर धक्का खाइरहेको राप्रपालाई भने उनको यो जितले प्राण दिएको छ। यहाँ राप्रपाको रणनीति खुबै काम लाग्यो। मुस्लिम समुदायमा यस्तो विश्वास जगाउने रणनीति भने धवलकै थियो।

पार्टीका केन्द्रिय महामन्त्री समेत रहेका धवलले नेपालगन्जका पाँचवटा वडामा त मुस्लिम युवालाई वडाअध्यक्षको उम्मेदवारी दिलाए। जसले मुस्लिम मतदातालाई आकर्षित गर्न सहज भयो। नेपालगन्जका मुस्लिमले मुस्लिम समुदायकै मेयर भन्दा पनि मुस्लिम समुदायलाई साथ र संरक्षण गर्ने नेता खोज्ने क्रममा धवललाई रोजे।

यसअघि मेयर हुँदाको उनको कार्यकाल धेरै राम्रो मानिएको थियो। यहाँको विकास निर्माणबारे कुरा चल्दा पहिले नाम पनि उनैको आउँछ। वुद्धिजीवी, काम गर्ने आँट र पहुँच भएको मानिस भनेर यहाँका जनताले उनलाई चिन्छन्। सम्पन्न परिवारमा भए पनि उनी सरल भएकाले यहाँका जनतामा उनको प्रभाव राम्रो छ। स्थानीय विकास र नगरपालिका भन्ने विषयमै धवलले विद्यावारिधि गरेका छन्।

२०५४ सालको मेयर हुँदा आफ्नो तलब भत्ताको रकमबाट नेपालगन्जको भेरी अञ्चल अस्पताल परिसरमा बिरामीका आफन्तहरुका लागि कुरुवा घर बनाइदिएका थिए। यसपटक पनि उनले आफूले तलब नलिने घोषणा गरिसकेका छन्। नेपालगन्ज जस्तो धार्मिक हिसाबले संवेदनशील शहरमा यस्ता पार्टीका उम्मेदवारले जितेका छन् जसले हिन्दु धर्म नेपाली राज्यको धर्म हुनुपर्छ भनेर वकालत गर्दै आएको छ। जबकी नेपालगन्ज शहर मुस्लिम समुदायको बाहुल्य छ।

यो शहरले धवललाई अत्याधिक भोट कसरी दियो भन्ने अहिले धेरैको चासोको विषय पनि बनेको छ। कुनैबेला नेपालकै प्रमुख चार शहर मध्येको एक शहर थियो नेपालगन्ज। २०१७ सालमै नगरपालिका बनिसकेको नेपालगन्ज ५४ बर्षपछि बल्ल उपमहानगरपालिका घोषित भएको हो। तर उपमहानगरपालिकाका लागि आवश्यक पर्ने पर्याप्त पूर्वाधार यहाँ छैनन्। कुनैबेला मध्य र सुदूरका २४ जिल्लाको केन्द्रको रुपमा रहेको नेपालगन्ज संघीय राजधानीका लागि प्रस्तावितसम्म छैन।

अन्तर्राष्ट्रिय विमानस्थल, सुख्खा बन्दरगाहा, विशेष औद्योगिक क्षेत्र, रिङ रोड, नेपालगन्ज विश्वविद्यालय र हुलाकी सडक जस्ता नेपालगन्जको विकासका आधारहरु लामो समयदेखि अलपत्र अवस्थामा छन्। तर ती योजनाहरुलाई कार्यान्यनको तहमा लैजान सक्ने आँट र क्षमता नेपालगन्जका अन्य नेताहरुमा देखिएको छैन। यसपाली आफ्नो मत मार्फत जनताले यी समस्या सुल्झाउन सक्ने उनै हुन् भनेर विश्वास गरेको देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *