शास्त्रीय सङ्गीतमा रम्ने भारती भन्छिन्–‘कतिपय नयाँ कलाकारसँग साधना छैन’

“
पारिवारिक वातावरणले भारती बस्याललाई सङ्गीत क्षेत्रमा लाग्न प्रेरित गरे पनि उनमा कला र गला नभएको भए शाश्त्रीय सङ्गीतमा लाग्ने थिइनन् । भारतीय भूमिमा जन्मिएर उतै शिक्षा दीक्षा हासिल गरेकी भारतीलाई नेपाली साङ्गीतिक क्षेत्रमा कमैले चिन्छन् । जतिले चिन्छन् ती शाश्त्रीय सङ्गीतलाई माया गर्नेहरु छन् । शास्त्रीय सङ्गीतसँगै आधुनिक लोक गायनमा समेत सक्रिय रहनु भएकी भारती हाल पुनः साङ्गीतिक क्षेत्रमा जम्ने तरखरमा हुनुहुन्छ । टाइम्स एफएममा ‘सङ्घर्ष जीवनको’ नामक कार्यक्रमसमेत सञ्चालन गर्दै आएकी भारतीका साङ्गीतिक सङ्घर्ष र शास्त्रीय गीत सङ्गीतका अवयव केलाउने कोसिस गरेका छौँ ।
मेरो गुरु नै आमा
मेरो पुर्खाैली घर पूर्वी नेपालको ताप्लेजुङ हाे । घर चाहिँ पश्चिम अर्घाखाँची । पत्रकारिता विधामा दिल्लीबाट स्नातकोत्तर गरेकाे छु । प्रारम्भिक शिक्षा भारतमा भयो । मेरो घरमा साङ्गीतिक माहौल थियो । बुवाको जागिर भारतको आसाममै भएकाले परिवार उतै थियो । मेरो जन्म पनि त्यहीँ भएको हो ।
६ वर्षको हुँदा जतिखेर म प्राथमिक तहमा अध्ययनरत थिए, त्यतिखेर देखि नै शास्त्रिय गीत गाउँथे । आमाले सारेगमप…..भन्दै हार्माेनियम बजाउनुहुन्थ्यो । आमाले गीत पनि लेख्नुहुन्थ्यो । आमाले नै मलाई शास्त्रीय सङ्गीतको हार्माेनियम बजाउन सिकाउनु भयो । उहाँ तारादेवीका गीतहरू गाउनुहुन्थ्यो । मेरी आमापनि कलाकार नै हुनुहुन्थ्यो । तर, रेडियो कलाकार बन्नु भएन । म आमा सँगसँगै सरस्वती बन्दना गाउँथे । यसकारण मेरो गुरु ‘आमा’ हुनुहुुुन्छ । ठुलो बुवा नरसिंह ठकृुरीपनि प्रख्यात हार्माेनियम बादक हुनुहुन्थ्यो । उहाँ गीत पनि गाउनुहुन्थ्यो । त्यसैले परिवार नै साङ्गीतिक वातावरणले भरिएको भन्दा फरक नपर्ला ।
गुरु सपन चक्रवर्ती
कक्षा ६ मा अध्ययनरतका क्रममा मैले शास्त्रीय सङ्गीत सिक्न थाले । मेरो गुरु हुनुहुन्थ्यो, सपन चक्रवर्ती । उहाँले मलाई सङ्गीत सिकाउनुहुन्थ्यो । उहाँ भारतीय शास्त्रीय साङ्गीतिक क्षेत्रमा नाम चलेको गुरु हुनुहुन्छ ।
शास्त्रीय सङ्गीतको अर्थ
शास्त्रीय सङ्गीतलाई सङ्गीतको जननी भनिन्छ । शास्त्रीय सङ्गीत भनेको सङ्गीतको कखरा हो, जसले सङ्गीतका बाटाहरू पहिल्याउँछ । शास्त्रीय सङ्गीत सिकेपछि जुनसुकै सङ्गीतका विधामा प्रवेश गर्न सक्छौँ । सङ्गीतको सुरुवात भएको नै ओमकारबाट हो । नोट र ताल नभए गीत गाउन असम्भव छ । नोट र तालको संयोजन नै शास्त्रीय शास्त्रीय सङ्गीत हो । शास्त्रीय सङ्गीत पैसा र बजार कमाउनका लागि गाइँदैन । यो साधना हो ।
सरस्वती बन्दना (भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्)
शास्त्रीय सङ्गीतको बजार
शास्त्रीय सङ्गीत सरस्वतीको वरदान हो । जसलाई हामीले सम्मानका साथ अँगालेर साधना गर्नुपर्छ । तब मात्र सङ्गीतको सान बढ्छ । शास्त्रीय सङ्गीतको बजार छैन भन्नु बिल्कुल गलत हो । अहिले सुनिएका आधुनिक तथा झर्रा गीतहरू छन्, ती सबै शास्त्रीय सङ्गीतबाट परिचालित हुन् । शास्त्रीय सङ्गीत भनेको ‘सा रे ग म’ मात्रै हो भन्ने सोच बिल्कुलै गलत हो ।
अहिले हलिउड तथा बलिउडमा शास्त्रीय सङ्गीतको अवधारणा अनुसार गीतहरू गाइएको छ । नेपालमा पनि शास्त्रीय सङ्गीतको बजार एकदमै छ । कसैले शास्त्रीय सङ्गीत नसिकी गाउँछु , सङ्गीत भर्छु भन्छ भने, उ कलाकारै हुँन सक्दैन । सके सबै शास्त्रीय सङ्गीतको राग सिक्नु उत्तम, नसके एउटै राग भए पनि सिक्न अनिवार्य छ ।
गीत सङ्गीत आत्म सन्तुष्टीका लागि
मैले पैसा र नाम कमाउँला भनेर शास्त्रीय सङ्गीतमा पाइला चालेको हैन । सङ्गीत साधना हो र, मैले साधना आत्मसन्तुष्टीका लागि गरेकी हुँ । जब हामी सङ्गीतको आलप तान्छौँ तब शारीरिक, मानसिक रूपमा स्वस्थ हुन सक्छौँ । पौराणीक कालमा ऋषिमुनिहरुले समेत ‘ओम’ भन्दै आलाप तान्ने गर्थे । योग साधनाबाट जति आनन्द प्राप्त गर्न सकिन्छ शास्त्रीय सङ्गीतबाट प्राप्त गर्न सकिन्छ । यसकारण सङ्गीत आत्म सन्तुष्टिसँगै तनावबाट मुक्त हुने माध्यम हो । रक स्टाइलका गीतहरूबाट जति आनन्द पाइन्छ त्यो भन्दा कयौँ गुणा बढी शास्त्रीय सङ्गीतले आनन्द दिन्छ ।
नेपालमा शास्त्रीय सङ्गीतको प्रभाव
नेपाल मौलिक रूपमा आफैँ सुन्दर छ । नेपालको साङ्गीतिक धरोहर पनि आफ्नै छ । हामी कसैबाट प्रभावित हुन जरुरी होला जस्तो लाग्दैन । शास्त्रीय सङ्गीतको सुरुवात कहाँबाट सुरु भयो भन्ने बारेमा पूर्वीय र पश्चिमी इतिहासमा छुट्टाछुट्टै उल्लेख छ । यसको सुरुवात कहाँबाट भयो भन्ने सत्य तथ्य प्रमाण भेटिँदैन । नेपाली सङ्गीत क्षेत्रमा मारुनी, सोराठी सबै एक से एक छन् । हाम्रो शास्त्रीय सङ्गीत मात्र हैन मौलिक लोक संस्कृति पनि कसैबाट प्रभावित छैन । हामी आफ्नै मौलिकता बाट प्रभावित छौँ ।
बिचमा हराउनुको कारण
१६ वर्षको उमेरमा बुवा सवारी दुर्घटनामा परेर बित्नुभयो । घरको जेठी छोरी भएकोले तीन जना भाइबहिनीलाई हेरविचार गर्नुपर्यो । त्यसपछि केही समय साङ्गीतिक क्षेत्रबाट ओझेल हुन पुगे । ०५४ सालमा जतिबेला म १८ वर्षको थिएँ, रेडियो नेपालबाट आफ्नै शब्द सङ्गीतमा एकल एल्बम निकाले । त्यो समयमा एकल एल्बम निकाल्ने प्रथम महिला मै थिए । स्रोताहरुले ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस’ मा किन दर्ता नगराएको भन्दै जिज्ञासा पोख्नुहुन्छ । सिक्किम, दार्जिलिङ लगायतका विभिन्न स्थानमा मेरो गीत सुपरहिट भयो ।
वैवाहिक जीवनमा प्रवेश गरेपछि मैले साङ्गीतिक क्षेत्रलाई पूर्णविराम नै लगाउनु परे जस्तै भएको थियो । यसो हुुनुको कारण मैले मेरो परिवारलाई पर्याप्त समय दिएँ । बाल बच्चाको लालनपालनमा व्यस्त भए । तर, पनि कलाकारितालाई चटक्कै भने छाडिन । समय व्यवस्थापन गरेर सङ्गीत अभ्यास गर्थे । कलाकारितासँगै मलाई साहित्यमा रुचि छ । कथा, कविता, गीत कोर्ने गर्छु । उपन्यास लेखिरहेकी छु । अहिले पत्रकारिता क्षेत्रमा केही गर्नका लागि टाईम्स एफएममा ‘सङ्घर्ष जीवनको’ नामक कार्यक्रम सञ्चालक गर्दै आएकी छु । यसले मलाई साङ्गीतिक क्षेत्रमा पुनः पाइला चाल्न सहज बनाएको छ ।
कलाकारको जीवन निक्कै उत्तारचढाव भएको देखिएको छ । यो नेपालमा मात्र नभई हलिउड र बलिउडमा पनि छ । विवाहपश्चात् सम्बन्ध विच्छेदसम्मका कुराहरू सुनिन्छ । परिवारभन्दा पनि कलाकारितालाई ध्यान दिएकाले यस्तो समस्याहरू आइपरेको एक हदसम्म सत्य पनि हो । हामीले सबैभन्दा पहिला परिवार व्यवस्थापन गर्न सक्नुपर्छ । हामी धेरै खुसी हुने ठाउँ नै परिवार हो । त्यही परिवारलाई व्यवस्थित गर्न सकेनौँ भने भोलि देश र समाजका लागि जतिसुकै ठुलो काम गरे पनि आफ्नो अन्तर्मनमा भने असन्तुष्ठि रहिरहन्छ । मेरो कलाकारितामा बिचमा ब्रेक लाग्नुको कारण मैले परिवारलाई समय दिएँ ।
मेरा सहकर्मीहरू
मैले सानैदेखि आफूभन्दा दक्ष व्यक्तिसँग हिमचिम गर्ने मौका पाएकाले आज यो स्थानमा आउन सफल भएकी ठान्दछु । मेरो साङ्गीतिक यात्रा नेपालमा भन्दा पनि भारतमा भएको हो । म अधिकांश समय भारतमा रहेकी हुनाले नेपाली श्रोताले कमै चिन्नु भयो । फेरी शास्त्रीय सङ्गीतका श्रोता पनि कमै हुनुहुन्छ । जति हुनुहुन्छ उहाँहरू शास्त्रीय सङ्गीतलाई अत्यन्त मन पराउनुहुन्छ । मैले भारतमा गीत गाईरहँदा नेपालबाट चर्चित गायक रामकृष्ण ढकाल, निमा रुम्बा, यम बराल लगायतसँग सिक्किम र दार्जिलिङ आउँदा उहाँहरूसँगै स्टेजमा उक्लिन्थे, गीत गाउँथे, सबैले हौसला र साथ दिनुहुन्थ्यो ।
रचना गर्ने वातावरण
मलाई कुनै पनि रचना गर्नको लागि एकान्त, शान्त वातावरण चाहिन्न । समय परिवेशले सृजना गर्न सक्छु । बाटोमा हिँड्दै गर्दा सवारी गर्दा, भान्सामा काम गर्दा कुनै पनि बेला रचना फुर्छ र त्यस्ता रचनालाई डायरीमा टिपिहाल्छु । मोबाइलमा रेकर्ड गर्छु ।
मनपर्ने गीत
अरूलाई खुसी प्रदान गर्ने खालका गीत सुन्न मन पर्छ । लोक गीत सुन्न मज्जा लाग्छ । रक स्टाइलका गीत पनि राम्रै लाग्छ । सबैको आ–आफ्नै शैलीहरू हुन्छन् । सङ्गीतका आयामहरू जे जस्तो भए पनि समाज उन्मुख गीत हुनुपर्छ ।
चलेका गीतहरू
पारिवारिक व्यवस्थापनका कारण एक दशक पछि परे । तथापि, मैले अहिलेसम्म दुई दर्जन बढीमा भाकल दिइसकेको छु । ‘न हेर त्यसरी झिल्के मायालु’, ‘च्याङ्बा, ‘डाँडा पारिको माया’ लगायतका गीतहरू हिट भएका छन् । गीत शब्द सङ्गीत हेरेर मात्र गाउने गरेकी छु ।
नयाँ पुस्ताहरूको सम्भावना
नयाँ आउनु भएका धेरै कलाकारहरूमा राम्रो सम्भावना छ । तथापि, केहि नयाँ कलाकारहरूमा संगीत सिक्ने कुरामा साधना, मेहनत, लगनशीलता भने केहि कम छ । पहिले एउटा गीत रेकर्डिङ गर्दा महिनौँ लाग्थ्यो, सबै लाईभ हुन्थ्यो । अहिले प्रविधिले सहज बनाएको छ । प्रविधिले सङ्गीतको धुन पनि फरक बनाइदिएको छ । रेकर्ड गरेर तुरून्तै सम्पादन पनि गर्न मिल्छ । यसले नयाँ पुस्तामा मेहनत र लगनशील गर्नुपर्छ भन्ने भावना विकसित गर्न सकिरहेको छैन । नेपालको साङ्गीतिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी नयाँ सर्जकको काँधमा आइपरेको छ । प्रविधिसँगै नयाँ पुस्ताले सङ्गीतको क्षेत्रलाई विश्वमाझ चिनाउनु जरुरी छ । नेपाल अार्इडलले नयाँ कलाकारका लागि राम्राे प्लेट फर्म दिएकाे पाएकाे छु, नयाँ गायक निशान भट्टरार्इमा धेरै संभावना देखेकी छु ।
हालको यात्रा
अहिले पारिवारिक व्यवस्थापनबाट फुर्सद पाएकी छु, मेरी छोरीपनि यही क्षेत्रमा पाइला चाल्ने क्रममा छिन् । छोरीलाई पनि गीत सङ्गीतमा धेरै रुचि छ । परिवारको व्यवस्थापन पछि अहिले दुई वटा गीत गाइसकेको छु । एउटै एल्बममा दर्जनौँ गीत समावेश गर्दा दर्शक माझ पनि एक खालको दिक्दार होला की भनेर सोलो एल्बम निकाल्ने आँट गरेकी छैन । बिस्तारै गीत रेकर्ड गर्दै पछि निकाल्ने विचार गरेकी छु । छ महिना वा एक वर्षको अन्तरालमा गीतहरू सार्वजनिक गर्दा दर्शकलाई पनि नयाँ हुन्छ । हालै सरस्वती बन्दना एल्बम सार्वजनिक भएको छ भने केही अन्तरालपछि राष्ट्रिय गीत गाउदैछु । यससँगै उपन्यास पनि लेखिरहेकी छु ।
कुराकानीमा आधारित
“








