झापामा एमालेको अग्रता कायमै

दमक, २० असार । झापाको जारी स्थानीय तहको मतगणना सम्पन्न हुन बाँकी रहेका ११ वटा स्थानीय तहमध्ये नौ वटामा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ ।

आज बिहानसम्मको मतपरिणामअनुसार जिल्लाका दुई गाउँपालिकासहित सात नगरपालिकामा एमालेले आफ्नो अग्रता कायम राखेको हो । एमालेले जिल्लाको दमक, गौरादह, शिवसताक्षी, विर्तामोड, मेचीनगर, अर्जुनधारा र भद्रपुर नगरपालिका तथा बुद्धशान्ति र कमल गाउँपालिकामा अग्रता लिएको छ । यसअघि एमालेले कनकाई नगरपालिकामा विजय हासिल गरेको छ । एमालेका तर्फबाट कनकाईको प्रमुखमा राजेन्द्र पोखरेल विजयी हुनुभयो ।

यस्तै, नेपाली काँग्रेसले एक स्थानमा विजय हासिल गरेर एक स्थानीय तहमा अग्रता लिएको छ । झापा गाउँपालिकामा काँग्रेसका जयनारायण शाह अध्यक्षमा विजयी हुनुभएको छ । काँग्रेसले बाह्रदशी गाउँपालिकामा अग्रता लिएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको दुई तहमा विजय हासिल गरेको छ । उसले काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा पर्ने हल्दिबारी र कचनकवलमा जित हासिल गरेको छ । कचनकवलमा अञ्जार आलम र हल्दिबारीमा राजेन्द्र लिङ्देन प्रमुख पदमा विजयी हुनुभएको छ । यस्तै, जिल्लाको गौरीगञ्ज गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता कायम राखेको छ । झापामा १५ स्थानीय तह रहेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *