अर्घाखाँचीका सबै तहको मतगणना सम्पन्न

अर्घाखाँची, १९ असार । अर्घाखाँचीका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । जिल्लाको छ स्थानीय तहमध्ये चारमा काँग्रेस र एक÷एक स्थानीय तहमा एमाले र नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । सन्धिखर्क नगरपालिका, शीतगङ्गा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएका हुन् भने मालारानी गाउँपालिकामा एमालेले र भूमिकास्थान नगरपालिकामा माओवादी केन्द्र विजयी भएका हुन् ।

सन्धिखर्क नगरपालिकाको प्रमुखमा काँग्रेसका कमलप्रसाद भुसालले आठ हजार ३०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले सात हजार १२७ मत प्राप्त गर्नुभयो । त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर विकले सात हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वरा पोख्रेलले छ हजार ४०४ मत प्राप्त गर्नुभयो ।

शीतगङ्गा नगरपालिकाको प्रमुखमा काँग्रेसकै सूर्य अधिकारीले आठ हजार ६७७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका वसन्त श्रेष्ठले छ हजार ९९० मत प्राप्त गर्नुभएको हो । त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका टीका रेस्मीले सात हजार १२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी गीता भाट हुनुहुन्छ ।

यसैगरी छत्रदेव गाउँपालिकाको अध्यक्षमा काँग्रेसकै लेखनाथ पोख्रेलले छ हजार १६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषि अधिकारीले पाँच हजार ६५ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा काँग्रेसकै तुलसादेवी श्रेष्ठले छ हजार १९० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मनिषा पन्थी रहनुभएको छ ।

यस्तै, पाणिनी गाउँपालिकाको अध्यक्षमा काँग्रेसकै अच्युत गौतमले पाँच हजार ९७७ मत प्राप्त गरी विजयी हुनभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जीवनारायण कोइरालाले पाँच हजार ४८५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकी लक्ष्मी गौतमले पाँच हजार ५४७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी अम्बिका पोख्रेल हुनुहुन्छ ।

यसैगरी मालारानी गाउँपालिकाको अध्यक्षमा एमालेका बालकृष्ण आचार्यले छ हजार ५०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पदम क्षेत्रीले पाँच हजार ५०४ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी प्रमिला क्षेत्री छ हजार ५२२ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी शान्ता खनालले पाँच हजार २१० मत प्राप्त गर्नुभयो ।

त्यस्तै, भूमिकास्थान नगरपालिकाको प्रमुख माओवादी केन्द्रका रेशम थापा पाँच हजार ३२० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कविराम खनालले चार हजार ५४२ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा काँग्रेसका खडानन्द बेल्बासेले पाँच हजार २३० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुनिता बेल्बासेले चार हजार ७०१ मत प्राप्त गर्नुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *