नवराज सिलवालका समर्थकको अदालत अघि धर्ना !

काठमाडौं, फागुन २ । पूर्व डिआइजी एवं एमाले सांसद नवराज सिलवालविरुद्ध षडयन्त्र गरिएको भन्दै उनी विरुद्ध मुद्दा दर्ता नगर्न दबाब दिन उनका समर्थकले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला अदालत काठमाडौं अगाडि प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, महान्यायाधिवक्ता बसन्तराम भण्डारी र आईजीपी प्रकाश अर्यालको योजनामा नियोजित रुपमा सिलवालविरुद्ध कीर्तेमा मुद्दा दर्ता गराउन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

सिलवाल विरुद्ध सरकारी किर्तेमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले नमानेपछि महान्यायाधिवक्ता बसन्तराम भण्डारी आफैंले दर्ता गर्ने समाचार सार्वजनिक भएको छ ।

सरकारबाट बाहिरिदै गर्दा हतार हतार सिलवालसँग बदला लिन खोजिएको भन्दै सचेत युवा समूहको नाममा प्रदर्शन गरिएको हो । मुद्दा दर्ताअघिनै जिल्ला अदालत बाहिर प्रहरी परिचालन गरिएको छ ।

सिलवालविरुद्ध आजै काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता गर्ने तयारी रहेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्यराज दाहाललाई सिलवाल विरुद्ध मुद्दा दर्ता गर्न महान्यायाधिवक्ता भण्डारीले दबाव दिएका थिए ।

दाहालले सिलवाल विरुद्धमात्र मुद्दा दर्ता गर्ने आधार नरहेको भन्दै अस्वीकार गरेका थिए । एक-दुई दिनभित्रै नयाँ सरकार आउने भएकाले सिलवाल विरुद्ध तत्काल मुद्दा दर्ता गर्ने हतारोमा महान्यायाधिवक्ता भण्डारी छन् । तर महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले समेत मुद्दा दर्ता गर्न नमानेपछि कर्मचारीलाई प्रत्यायोजित अधिकार आफूले फिर्ता लिएरमात्र भण्डारीले मुद्दा दर्ता गर्न मिल्छ ।

यसअघि तत्कालिन महान्यायाधिवक्ता मुक्ति प्रधानले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको मुद्दामा कर्मचारीलाई दिएको अधिकार आफूले लिएको नजिर छ । सो प्रकरण सर्वोच्च अदालतमा समेत पुगेको थियो ।

आइजीपी नियुक्ति प्रकरणमा पेश भएका अलग-अलग कार्य सम्पादन मूल्यांकनमध्ये कुन चाहिँ किर्ते हो र यसमा को कसको संलग्नता छ अनुसन्धान गरी कारवाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

सोहीअनुसार प्रहरी परिसर काठमाडौंले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएकै बेला परिसर प्रमुख रविन्द्र धानुकको सरुवा भएको छ । धानुकको सरुवालगत्तै अनुसन्धानका फाइल प्रहरी प्रधान कार्यालय तानेर सिलवाल विरुद्धमात्र मुद्दा दर्ता गर्न लागिएको स्रोतले जनाएको छ ।

प्रधानन्याधीशको राजिनामा माग्दै धर्ना
यता, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालय घेराउ गरे । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशमाथि लागेका आरोपको संस्थागत खण्डन नगरेसम्म कुनै पनि निर्णय नगर्न पनि पराजुलीको ध्यानाकर्षण गराएका हुन् ।

नागरिकता र शैक्षिक प्रमाणपत्रलाई लिएर विवादमा परेका पराजुलीले तत्काल राजीनामा दिन माग गर्दै कानुन व्यवसायीहरुले बुधबार पुल्चोकस्थित न्याय परिषदको कार्यालय घेराउ गर्दै एक घण्टा धर्ना दिएका थिए ।

बुधबार न्यायपरिषदले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतको रिक्त न्यायाधीश सिफारिस गर्न बैठक बस्ने कार्यसूची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *