ओली–प्रचण्ड भेटवार्ता सकियो, प्रगति के भयो ?

काठमाडौं, फागुन ५ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री र माओवादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता सम्पन्न भएको छ । तर, दुई शीर्ष नेताको भेटमा पार्टी एकता र सरकार बिस्तार बारे कुनै प्रगति हुन नसकेको नेताहरुको अभिव्यक्तिले संकेत गरेको छ ।

दुई नेताको छलफलमा आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाएर थप छलफल गर्ने सहमति भएको छ । यस अघि सहमति नजिक पुगेको दावी गरेका यी दुई दलबीच सरकार गठन भएकै दिन भने विवाद देखिएको थियो । एमाले र माओवादीवीच पार्टी एकता र शक्ति बाँडफाँडमा समस्या देखिरहेकै बेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेटवार्ता भएको हो ।

करिब ४५ मिनेट भएकोे वान टु वान वार्तामा पार्टी एकतामा देखिएका समस्याका बारेमा छलफल भएको थियो ।

भेटवार्तापछि माओवादी अध्यक्ष ‘प्रचण्ड ले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिए । उनले भने –“पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताकाबारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ ।”

सो अवसरमा प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भोली पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएकाले त्यसको तयारीका लागि आज दुई अध्यक्ष बिच छलफल भएको जानकारी दिए ।

आइतबार बस्ने संयोजन समितिको बैठकपछि मात्र माओवादी सरकारमा सहभागि हुने नहुने टुङ्गो लाग्ने माओवादीले जनाएको छ ।

एकताको टुंगो नलागेसम्म माओवादीले प्रधानमन्त्रीलाई समर्थन गरे पनि सरकारमा सहभागी नहुने अडान राखेको छ ।

माओवादी सरकारमा नगएपछि प्रधानमन्त्री ओलीले एमालेका दुई नेतालाई मन्त्रीमण्डलमा राखेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

दुई पार्टीबीच मुख्यत एकीकृत पार्टीको सिद्धान्तका बिषयमा सहमति हुन सकेको छैन ।

एमालेले बहुदलीय जनवाद नछोड्ने अडान राखेको छ भने माओवादी केन्द्रले दुबै पार्टीका सिद्धान्त महाधिवेशनमा लगेर टुङ्गो लगाउनुपर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *