३४ घण्टापछि खुल्यो सडक

किशोर खनाल, भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड झण्डै ३४ घण्टापछि शनिबार साँझबाट सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा खसेको पहिरो ३४ घण्टापछि सञ्चालनमा आएको चितवन जिल्ला ट्राफिक प्रमुख सन्तोष पन्तले जानकारी दिए । शुक्रबार बिहान ८ बजेदेखि नारायणगढ मुग्लिन सडक अवरुद्ध भएका थियो । पहिरो पन्छाएपछि शनिबार साँझ साढे ६ बजेबाट बाटो खुलेको चितवन प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले अवरुद्ध सडक खुलाउन ५ वटा एक्जाभेटर र लोडर प्रयोग गरिएको जानकारी गराएका थिए । सडक अवरुद्ध भएपछि लामो जाममा परेका हजारौँ सवारी साधनले सो सडक पार गरेर गन्तव्यतर्फ लागेका थिए । नारायणगढ–मुग्लिन सडकखण्डमा असार लागेयता पटकपटक पहिरो खसेर गाडीहरु लामो जाममा फस्दै आएका छन् ।

ओभरटेक नगर्न अनुरोध
जिल्ला ट्राफिक कार्यालय चितवनले नारायणगढ मुग्लिन सडकमा ओभरटेक नगरी सवारी साधन चलाउन अनुरोध गरेको छ । जुनसुकै बेला पहिरो खस्ने हुँदा सो सडकमा विस्तारै सवारी साधन चलाउन अनुरोध गरिएको चितवन ट्राफिक प्रमुख सन्तोष पन्तले बताए । उनले भने, ‘पहिरोको जोखिम बढेको हुनाले ओभरटेक गरेर स्पिडमा गाडी चलाउन ठीक मानिदैन । विस्तारै हाक्नुपर्छ भनेर हामीले चालकलाई सेचत गराएका छौँ ।’

एक जना फेरि बेपत्ता
नारायणगढ मुग्लिन सडकबाट त्रिशुलीमा खसेर एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार बिहान सर्लाही मदनपुर– ६ का २१ वर्षीय भिखारी चौधरी त्रिशूली नदीमा खसेर बेपत्ता भएको जानकारी दिएको छ । सडकबाट चौधरी १०० मिटर तल त्रिशुलीमा खसेको प्रहरीको भनाइ छ । इच्छाकामना गाउँपालिका– ५ बाट चौधरी त्रिशुलीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । शुक्रबार बिहानबाट पहिरो खसेर सडक अवरुद्ध भएपछि पैदल हिँड्दै आएका चौधरी अचानक त्रिशूली नदीमा खसेका थिए ।

पहिरो कटेर बस चढ्ने योजना बनाएका चौधरी हिँड्दाहिँड्दै त्रिशूलीमा खसेर बेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ । बिहीबार पनि नारायणगढ मुग्लिन सडकको पहिरो हेर्न गएका एक वृद्धको मृत्यु भएको थियो । यसअघि पहिरोले प्रहरीको भ्यान बगाउँदा तीन प्रहरीको मृत्यु भएको थियो । एक प्रहरी अझै बेपत्ता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *