स्वदेशी औषधि उत्पादकलाई सहुलियत दिने सरकारको तयारी


“
काठमाडौं, पुस १६ । सरकारले औषधिमा आत्मनिर्भर हुन स्वदेशी औषधि उत्पादकलाई सहुलियत दिने तयारी गरेको छ । आयातलाई विस्थापन गरी मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरकारले यस्तो तयारी गरेको हो । स्वास्थ्यमन्त्री दीपक बोहराले आइसियुमा आवश्यक पर्ने औषधि तथा मुटु रोगीलाई चाहिने औषधि र औषधिजन्य पदार्थ उत्पादन गर्ने उत्पादकलाई सरकारी सुविधा उपलब्ध गराइने बताउनुभयो ।
स्वदेशी उत्पादनलाई थप प्रोत्साहन दिँदै नेपाली औषधिलाई सर्वसुलभ बनाइने उहाँले बताउनुभयो । मिर्गौला रोगी, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक पाँच हजारका दरले दिने भनिएको भत्ता सूर्तीजन्य पदार्थमाथिको करको २५ प्रतिशत रकमबाटै पुग्ने बताउँदै उहाँले कार्यविधिमै सूर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमको छुट्टै कोष खडा गर्ने जानकारी दिनुभयो । नेपालमा करिव १८ हजार व्यक्ति मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीबाट पीडित रहेको तथ्याँक छ ।
“
