मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पालभित्रको अस्पताल


विष्णु नेपाल र ज्ञानेन्द्र न्यौपाने
रसुवा, १७ असार । बाँसका टेका । टेकाहरुलाई फलामे तारले दरो गरी कसिएको । कसिएका तारलाई खियाले खाइसकेका । कतै कतै त चुँडिन थालिसकेका । बाँस पनि लेउ र ढुसीले मक्किए जस्तो ।
यिनै बाँसका टेकाले जसोतसो त्रिपाल अडिएकै छन् । त्रिपाल  घाम पानीले गलेर ठाउँ ठाउँमा च्यातिएका छन् । च्यातिएका त्रिपाल तन्द्रयाङ तुन्द्रुङ झुन्डिन थालेका छन् । ठाउँ ठाउँमा त प्वालसमेत परेको छ । यस्ता त्रिपालमुनि अर्काे कपडा र प्लास्टिकका अलि बलिया पाल गाडिएको छ । फलाम र स्टिलका टेकाले बलियोसित यिनलाई अड्याइएको छ । त्रिपालबाट कहीँ कहीँ त तुपु तुपु पानी चुहिरहेको देखिन्छ । यो दृश्य यहाँस्थित जिल्ला अस्पतालको हो ।
त्रिपाल र पालबाट अत्यन्त कष्टप्रद रुपमा जिल्लाको एक मात्र जिल्ला अस्पतालको चिकित्सकीय सेवा अहिले दैनिक रुपमा प्रवाह भइराखेको छ । यसरी नै  दुई वर्ष बितिसक्यो । ‘त्रिपाल र टेन्टमुनि अस्पताल सञ्चालन भए पनि यहाँबाट प्रदान गरिने सेवामा कुनै कमी गरेका छैनौँ । घाम, पानी, हुरी बतास, चिसोबाट टेन्टलाई जोगाउँदै स्वास्थ्य सेवामा तल्लिन छौँ ।’  जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीले भन्नुभयो ।
अस्पतालबाट प्रदान गरिने प्रसूति सेवा, आकस्मिक तथा बहिरङ्ग सेवा, प्रयोगशाला, औषधि, एक्सरे कक्ष, एचआइभी परीक्षण, आँखा परीक्षणलगायत प्रायः सबै सेवा यहाँ रहेका पालबाट नै हुन्छ । स्वास्थ्यकर्मी पालबाट बिरामीको सेवामा तल्लिन छन् ।
विसं २०७२ वैशाख १२ को भूकम्पले अस्पताल भवनमा पूर्ण क्षति  पुगेको छ । अति प्रभावित १४ जिल्लामध्ये सबैभन्दा बढी यही जिल्लामा कार्यरत दुई स्वास्थ्यकर्मी (नर्स), एक कार्यालय सहयोगी र चार  महिला स्वयम्सेविकाको मृत्यु भएको थियो ।
आफ्नो काखमा नवजात शिशु च्यापेकी हाकु–४ की १७ वर्षीया मुना तामाङले भनिनर ‘मैले यही टेन्टमुनि रहेको खाटमा चार दिनअघि बाबु पाएकी हुँ ।’ उनले आफूलाई सुत्केरी व्यथाले च्यापेपछि दुई घन्टा हिँडेर एक्लै अस्पतालमा आएकी सुनाइन् । उनले भनिन् । ‘खाटमा त सुतेँ, आकाश गड्याङगुडुङ ग¥यो, झमझम पानी दक्र्याे, पानी त चुहिन्छ कि भन्ने डर लागिरह्यो । व्यथाले छटपटाइरहेँ, एकछिन पछि त नर्सले ल बाबु हेर्नुस् भन्नुभयो । दुःख कता हरायो, हरायो ।’

अस्पतालमा कार्यरत नर्सिङ अधिकृत सुसाङ गुरुङका अनुसार असार महिना लागेपछि प्रसूति सेवा लिने मुना पहिलो महिला हुन् । गत वर्ष साउनदेखि यस वर्षको जेठ मसान्तसम्म यहाँ ५१ जना सुत्केरी भएका थिए । अस्पतालमा दैनिक सेवा लिन ३०/३५ जनासम्म आउँछन् ।
अर्काे पालको एक कुनाबाट पानी चुहिरहेको थियो । जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईं त्यही पालमुनि बनेको कक्षमा जापानी इन्सेफलाइटिसका बारेमा आफू मातहतका स्वास्थ्यकर्मीलाई कक्षा लिइरहनुभएको थियो । ‘आज चार दिन भो,  विभिन्न खोपका महत्वका बारेमा तालिम दिइरहेको छु, तालिम कक्षा सञ्चालन गर्न आधुनिक भवन नहुँदा  केही असुविधा हुन्छ तर मैले असर पर्न दिएको छैन, प्रोजेक्टरबाट तालिम दिइरहेको छु ।’ उहाँले भन्नुभयो ।
जिल्ला तहका अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति सरकारको  छ । फार्मेसी सहायक मीना लाप्चोपले भनिन् ‘हामीकहाँ आजका दिनमा २० प्रकारका औषधिको अभाव रहेको छ ।’
टेन्टको साटो प्रि फ्याब
जिल्ला अस्पताललाई भूकम्पले क्षति पु¥याएपछि तत्काल नै नेपाल रेडक्रस सोसाइटी रसुवाले त्रिपाल, पाल तथा अन्य चिकित्सकीय सामग्रीको व्यवस्था गरी अस्पतालको सेवा पुनः सञ्चालन गर्न सहयोग पु¥याएको थियो । अर्कातर्फ सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले क्यानेडियाली रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा यहाँको जिल्ला अस्पतालका लागि  आधुनिक प्रि फ्याब भवनको निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । कार्यक्रमका स्वास्थ्य संयोजक डा मौसम बोहराले आगामी भदौभित्र प्रि फ्याब भवनबाट अस्पतालका सेवा सञ्चालन हुने तयारी भइरहेको जानकारी दिनुभयो । भवनभित्र १५ शैया, आकस्मिक, बहिरङ्ग, प्रसूति, औषधि वितरण, उपकरण, प्रयोगशालालगायत सबै विभागका लागि अत्याधुनिक कोठा रहने छन् ।
कार्यक्रमले क्यानेडियाली रेडक्रसकै सहयोगमा अस्पतालका लागि अल्ट्रासाउन्ड, इसिजी, दाँत परीक्षण उपकरण, फोरो थेरासी (नवजात शिशुमा कमलपित्तको मात्रा पहिचान) अक्सिजन, नयाँ श्यया, म्याक्टेक्स, प्रयोगशालाका लागि  सबै सामग्री पनि थप सहयोग गर्ने तयारी गर्दैछ । जेनेटर दिइसकिएको छ ।
सोसाइटीले नै अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको आवास गृहका लागि  प्रि फ्याब भवन निर्माण  जारी राखेको भूकम्प प्रतिकार्य कार्यक्रम रसुवा जिल्ला संयोजक मधु थापा बताउनुहुन्छ ।
निर्माणाधीन यस्ता प्रि फ्याब भवनको समयावधि ३० वर्षभन्दा बढी रहने बताइएको छ ।  ल्याब असिस्टेन्ट रोशनी श्रेष्ठ प्रि फ्याब भवनका कोठामा प्रयोगशाला सञ्चालन गर्दा सजिलो हुने ठान्नुहुन्छ । उहाँले भन्नुभयो ‘टेन्टभित्र प्रयोगशालाका लागि तापक्रम मिलाउन नै गाह्रो परिरहेको छ ।’
सोसाइटीले भूकम्पपछि तत्काल भूकम्पले क्षतिग्रस्त जिल्ला अस्पताल एवम् स्वास्थ संस्थाको सेवा शीघ्र सञ्चालन गर्न आवश्यक त्रिपाल, पाललगायत चिकित्सकीय सामग्री सहयोग गरेको सोसाइटीका केन्द्रीय उपमहामन्त्री हरि न्यौपानेले जानकारी दिनुभयो ।
यहाँ एक एक जिल्ला अस्पताल र  प्राथमिक स्वास्थ्य केन्द्र, १७ स्वास्थ्य चौकी, दुई सामुदायिक स्वास्थ्य एकाइ, ४५ गाउँघर क्लिनिक, ५७ खोप क्लिनिक र दुई सय ४५ महिला स्वास्थ्य स्वयम्सेविका छन् ।
३० स्वास्थ्य भवन पुनःनिर्माण हुँदै
सोसाइटीले भूकम्पबाट अतिप्रभावित जिल्लामा आवास निर्माण, स्वास्थ्य, खानेपानी र सरसफाइ, जीविकोपार्जनलगायत क्षेत्र समेटी भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालन गरिरहेको छ ।
स्वास्थ्य मन्त्रालय र सोसाइटीका बीच सिन्धुपाल्चोकका १४, काभ्रेका दुर्गम भेगका ¥याले, महेन्द्रज्योति, रविओपी, चन्डिनीमण्डन, ज्याम्दिमण्डन, खरेलथोक, सानोनाङ्थली, गोठापानी, पोखरीचौरी, बाल्टिङ, बनिखु, फालामेटार, काठमाडौँको गोठाटार, ललितपुरको चन्दनपुर, भक्तपुरको सुडाल, धादिङको कल्लेरी स्वास्थ्यचौकी र रसुवाको धुन्चे जिल्ला अस्पताल गरी ३०  स्वास्थ्य संस्था पुनःनिर्माण गर्न  द्विपक्षीय सम्झौता भएको थियो ।

प्रतिकृयाहरु
Loading...