एक करोडको लागतमा मासुजन्य उद्योग स्थापना


“
सुनसरी, पुस १५ । मासुजन्य परिकार उत्पादन गरेर रोजगारी सृर्जना गर्ने उद्देश्यले धरान १७, आर्दश चोकमा १ करोड भन्दा बढी लगानीमा नेबुला फुड प्रोडक्सन प्रा.लि सञ्चालनमा आएको छ । धरानका विभिन्न क्षेत्रका ७ जना व्यक्तित्वहरु सम्लग्नतामा सो उद्योग सञ्चालनमा ल्याएको हो ।
१ करोड १५ लाख लगानी भएको उद्योगमा १० लाख रुपैयाँ सरकारको मासुजन्य उद्योग प्रर्वद्धन कार्यक्रमबाट अनुदान पाएको छ ।
उद्योगमा सुमन जवेगु, मानबहादुर विश्वकर्मा, समोजकुमार खत्री, देवराज आचार्य, विवेक खतिवडा, उज्वल पौडेल र रोशन निरौला गरी ७ जनाले लगानी गरेका छन् ।
उनीहरुले डेढ कट्टा जग्गा १० वर्षको लागि लिजमा लिएर शुरु भएको उद्योगले गएको दशैंपछि आफनो उत्पादनहरु बजारमा पुर्याइसकेको सो उद्योग सञ्चालक सुमन जवेगुले जानकारी दिए ।
प्रालिले वफ(रागा), पर्क(वंगुर), चिकेन(कुखुरा) र माछाका विभिन्न परिकारहरु उत्पादन गरेर बजारमा ल्याएको छ ।
उद्योगले धराने सुकुटी वफबाट उत्पादन गर्छ भने मिट वलमा वफ मिटवल, चिकन मिटवल, पर्क मिटवल, फिस मिटवल उत्पादन गरेर बजारमा पुर्याएको छ ।
यस्तै, वफको सुकुटी अचार, मिट पिकलमा वफ र चिकन दुवैको छ भने ससेजहरुमा वफ, चिकेन र पर्क ससेज उत्पादन भइरहेको प्रालिका अध्यक्ष समोज कुमार खत्रीले बताए ।
उद्योगका सञ्चालक एवं जनसम्पर्क प्रमुख सुमन जवेगुका अनुसार मिटवल उत्पादन गर्ने यो नेपालकै पहिलो उद्योग पनि हो । आधुनिक प्रविधि अपनाएर उपभोक्ताको स्वास्थ्य र गुणस्तरमा सजगता अपनाएको उनको भनाई छ । यहाको उत्पादन हाल इलाम, पोखरा, काठमाण्डौंलगायत विभिन्न शहरहरुमा पुग्ने गरेको छ ।
“
