फुटको संघारमा माओवादी : किरातीको नेतृत्वमा समूह गठन, आत्मसमर्पण नगर्ने आहुतीको अडान

काठमाडौं, ११ पुस । एमालेसँग पार्टी एकतालाई लिएर असन्तुष्ट माओवादी केन्द्रका नेताहरुले गोपाल किरातीको नेतृत्वमा ‘आठौं महाधिवेशन समूह’ बनाएका छन् ।मंगलबार भएको भेलाले किरातीको संयोजकत्वमा आठौं महाधिवेशन समूह गठन गरेको हो । साथै पार्टी अध्यक्ष प्रचण्डलाई पत्र लेख्दै महाधिवेशन माग गरेका छन् ।

समूहले महाधिवेशन आयोजनाको पक्षमा अन्तसम्मै अन्तरपार्टी दुई लाइन संघर्ष गर्ने निर्णय गरेको छ । तर, माओवाद र पहिचानको मुद्दा धरापमा पारेर एकता गरे पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुने नेता किरातीले बताएका छन् ।

जनप्रतिनिधिहरु सदन र सरकारको मोर्चामा सक्रिय हुनुपर्ने भन्दै यो समूहले भनेको छ, सडक मोर्चालाई अझ प्रभावकारी तुल्याउन तत्काल पार्टी महाधिवेशन जरुरी छ ।’

प्रदेश २ मा मधेस सरकार बन्न लागेको स्वागत गरेको यो समूहले ताम्सालिङ, किरात, लिम्बुवान लगायतका स्वायत्त राज्य सरकार स्थापना गर्न संविधान संशोधन, संयुक्त आन्दोलन निर्माणको आव्हान गरेको छ ।

किराँतीले पार्टी नेतृत्वसँगै आफुहरु सती नजाने भन्दै पार्टी पुनर्गठन बताए । “माओवादी केन्द्रका कैयौ नेताहरु आत्मसमर्पणको तयारीमा छन् । हामी त्यसरी आत्मसमर्पण गर्दैनौं,” किराँतीले भने, “एमालेसँग गठनबन्धन कायम राखे भइहाल्यो, किन लाचार भएर एकतामा हामफाल्न पर्यो भनेर अध्यक्षलगायत केही नेताहरुलाई भनिराखेका छौं । उहाँहरुले हामीसँगको भेटमा त्यस्तो होइन भन्नुहुन्छ, भाषणचाहिँ अर्कै गर्नुहुन्छ ।”

यता,  माओवादी केन्द्रका अर्का प्रभावशाली नेता विश्वभक्त दुलाल‘आहुती’ले पनि माओवादी केन्द्र एमालेका अगाडी आत्मसमर्पण गर्न लागेको भन्दै असन्तुष्टि जनाएका छन् । आहुतीले माओवादी केन्द्र संशोधनवादमा फँसेको भन्दै एमालेलाई कम्युनिष्ट नै नमान्ने माओवादीले गैरकम्युनिष्टसँग कसरी पार्टी एकता हुनसक्छ भन्ने प्रश्न गरे ?

‘माक्र्सवाद, लेनिनवादका अधारभुत प्रस्तावना स्विकार गरेर मात्र पार्टी एकता हुनसक्छ’ आहुतीले मकालु खबरसँग भने, ‘सैद्धान्तिक, राजनीतिक, सांगठनिक विषयमा एकरुपता नहुँदासम्म पार्टी एकता हुन सक्दैन । एमाले र माओवादी दुबै रुपान्तरित नभइसकन पार्टी एकता सम्भव छैन ।’ अहिलेकै अवस्थामा पार्टी एकता भएमा यहाँहरुको भुमिका के हुन्छ भन्ने प्रश्नमा आहुतीले भने, ‘संघर्षको विकलप छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *