झापामा विरुवाको माग बढ्दो

बनियानी, झापा । यस वर्ष झापामा नौ लाख ५० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको छ । जिल्लामा टिक, मसला, खमारी, मलेसियन साल, मगोहिनी, खयर, नेमारो, सिरिस, कदमलगायत उक्त परिमाणको बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्य रहेको जिल्ला वन कार्यालय झापाले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीका अनुसार जिल्लाका १४ नर्सरीबाट नौ लाख ५० हजार बिरुवा उत्पादन भइसकेको छ । यसै सातादेखि विरुवा वितरण सुरु गरिएको उहाँले बताउनुभयो । यस वर्ष ११५ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने कार्यालयको लक्ष्य छ ।

बिरुवा उत्पादनका लागि यस वर्ष रु ७२ लाख अनुदान प्राप्त भएको छ, सहायक वन अधिकृत उप्रेतीले भन्नुभयो –“एउटा बिरुवा उत्पादन गर्न रु आठ जति खर्च हुन्छ ।”

प्रत्येक वर्ष झापामा बिरुवाको माग बढ्दै गएका छन् । गत वर्षको तुलनामा यस वर्ष एक लाख विरुवा बढी वितरण गरिने योजना छ । आव २०७१/७२ मा सात लाख, आव २०७२÷७३ मा आठ लाख ५० हजार बिरुवा वितरण गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

“हरेक वर्ष बोटबिरुवा लगाउनेको सङ्ख्या बढ्दै गएको छ”, सहायक वन अधिकृत उप्रेतीले भन्नुभयो – “खाली जग्गामा बिरुवा लगाउने बढेका छन् ।” खाली पर्ती जग्गामा बिरुवा लगाउँदा राम्रो आम्दानी लिन सकिने भएकाले बिरुवाको माग बढ्दै गएको उप्रेतीले बताउनुभयो ।

बिरुवा लिनका लागि निवेदन दिन आउनेलाई १५ वटा र ठूलो क्षेत्रफलमा बिरुवा लगाउने प्रस्ताव ल्याउनेलाई आवश्कताअनुसार बिरुवा उपलब्ध गराउँदै आएको जिल्ला वन कार्यालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान कृषि जोनका किसानलाई चार हजार थान आँप, लिचीलगायतका फलफूलको बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । साउन र भदौ बिरुवा रोप्ने याम हो । झापामा हाल १८ हजार ८०० हेक्टर क्षेत्रफलमा वन रहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *