एमालेमाथि प्रचण्डको गम्भिर आरोप ‘माओवादीलाई माइनस गरेर फोरमसँग सरकार बनाउने प्रयास भयो’

पुस ८, नवलपरासी । वाम गठबन्धन बनाएर निर्वाचनमा गएका एमाले र माओवादीका नेताहरुबीच विश्वासको संकट बढ्दै जाँदा वाम गठबन्धन नै फुट्ने संकेत देखिएको छ । एमाले र माओवादीबीच पार्टी एकताको हल्ला चलिरहँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई एमालेले माईनस गर्न खोजेको आरोप लगाएका छन् ।

नवलपुरको कावासोतीस्थित माओवादी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेमाथि संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाए । जनताले मत मार्फत सरकारको चाबी माओवादीलाई दिएकाले एमाले पार्टी एकताको पक्षमा उभिन बाध्य भएको प्रचण्डको दावी थियो ।

‘जब एमाले ८० सिटतिर गयो र कांग्रेस २०/२१ सिटमा समेटिएपछि एमालेका केही नेता साथीहरुलाई के लाग्यो भने अब हाम्रो एक्लै बहुमत पुग्ने भयो’ एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तितर्फ संकेत गर्दै प्रचण्डले भने, ‘यो पनि हामीलाई चाहिन्छ, त्यो पनि हामीलाई चाहिन्छ भनेर केही नेताहरुले बोल्नुभयो नि ।’ 

तर, समानुपातिकमा एमाले र कांग्रेसको मत झण्डै समान आएपछि एमाले एक्लै बहुमत नपुग्ने र माओवादी विना सरकार नबन्ने अवस्था आएको उनको विश्लेषण छ ।

यसका बाबजुद एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रयास गरेको प्रचण्डको दाबी छ ।

‘उपेन्द्रसँग हुन्छ कि भनेर कोसिस त भयो । तर, उपेन्द्र उता छाडेर आउन सक्ने छैन भन्ने भएपछि माओवादी विना वामपन्थीको सरकार बन्दैन’ उनले भने, ‘त्यसैले अहिले राम्रा कुरा भएका छन् । पार्टी एकता जसरी पनि गर्ने हो भनेर आउनु भएको छ ।’

माओवादी अध्यक्ष प्रचण्डले आफूहरु भने पार्टी एकताबारे कुनै दुविधामा नरहेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *