‘सीटी सफारी’ हटाउने निर्णयको विरोध गर्दै इटहरीमा प्रदर्शन, प्रहरीसँग झडप

पुस ८, इटहरी । इलेक्ट्रोनिक रिक्सा राजमार्गबाट हटाउन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले अभियान थालेपछि इटहरीका सफारी चालकहरु आन्दोलित भएका छन् । भारतीय नाकाबन्दीको समयमा पेट्रोल र डिजेल अभाव भएका बेला भित्रिएका ‘सीटी सफारी’ भनिने इ–रिक्साले राजमार्गमा दुर्घटना बढाएको निश्कर्षसहित सरकारले हटाउने निर्णय गरेको हो ।

राजमार्गबाट इ– रिक्सा हटाउन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले बिहीबार इटहरीमा सर्वपक्षीय भेला गराएर यस्तो निर्णय सार्वजनिक गरेको हो ।

सरकारी अधिकारीहरुका अनुसार यातायात व्यवस्था विभागले मुख्य राजमार्गमा ब्याट्रीबाट चल्ने सीटी सफारीहरु गुड्न नदिनू भन्ने सर्कुलर पठाएपछि इटहरीबाट ई–रिक्सा हटाउने अभियान सुरु गरिएको हो ।सफारी हटाउने सर्वपक्षीय छलफलमा यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिका, नागरिक समाज र राजनीतिक दलहरुका प्रतिनिधिहरु सहभागी थिए ।

सफारीले दुर्घटना बढाएको र धेरै चालकहरुसँग अनुमतिपत्र पनि नभएको निश्कर्ष निकाल्दै यस्तो निर्णय भएको हो ।
सर्वपक्षीय भेलामा सफारीले दुर्घटना बढाएको र एक बर्षमा १९ जना सफारी चालकहरु कारागार चलान भएको तथ्य प्रस्तुत गरिएको थियो ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी राजकुमार लम्सालले सफारी हटाउन बिषेश पहल सुरु गरिएको जानकारी दिए ।

चालकले राजमार्ग अवरोध गरेपछि प्रहरी हस्तक्षेप

शुक्रबारदेखि लागु हुने गरी गरिएको निर्णयको विरोधमा सफारी चालकहरुले बिहीबारदेखि नै इटहरीको सडकमा सफारी तेस्र्याएर बिरोध जनाएका छन् । शुक्रबार पनि जारी बिरोधमा भने प्रहरीले बल प्रयोग गरेर सफारी चालकहरुको जामलाई हटाएको छ ।

इटहरीको मुख्य चौकमा सफारी चालकहरुको अवरोध हटाउन प्रहरीले ६ राउण्ड अश्रुग्याससमेत प्रहार गर्याे।
प्रदर्शनकारीका नेता गणेश कार्कीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको इलाका प्रहरी इटहरीका डीएसपी सञ्जय राउतले जानकारी दिए । सडकमा एम्बुलेन्स चल्नसमेत नदिइएपछि प्रदर्शनकारीलाई हटाउन सामान्य बल प्रयोग गरिएको राउतले बताए ।

राजमार्गमा दुर्घटना गराएको र धेरै सफारी चालकहरुको लाइसेन्स नभएको भन्दै सफारी निशेध गर्नुमा बजाजको अटो हाल्ने षडयन्त्रले काम गरेको सफारी चालकहरुको आरोप छ ।

‘दुर्घटना त मोटरसाइकलले पनि गर्छन् । धेरै मोटरसाइकलहरु पनि लाइसेन्सबिनै कुदेका छन्’, इटहरीका सफारी चालक बिमल राई भन्छन्, ‘तर सफारीलाई मात्रै नियोजितरुपमा हटाइएको छ, यो सबै भारतीय कम्पनी (बजाज) का नयाँ तीन पांग्रे सवारी हाल्न चालिएको कदम हो ।’”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *