रसुवागढी अब अन्तर्राष्ट्रिय नाका, काठमाडौंबाट चार लेनको सडक : ओली

पुस ४, काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवागढी नाकालाई अन्तर्रा्ष्ट्रिय नाका बनाउने बताएका छन् । आज आकस्मिक रुपमा रसुवा पुगेका ओलीले काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गरिने पनि घोषणा गरे ।

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले रसुवागढीमा स्थानीय जनतालाई सम्बोधन गर्दै उनीहरुका माग तथा गुनासो सुनेका थिए । स्थानीयले सडक कालोपत्रे, भन्सारको व्यवस्थापन र चिनियाँ पक्षबाट आइपरेका झण्झटका बारेमा ओलीको ध्यानाकर्षण गराएका थिए ।

पार्टी महासचिव ईश्वर पोखरेलसहितका नेताहरुसँगै लाङटाङ पुगेका ओली हेलिकोप्टरबाटै रसुवागढी निरीक्षणमा गएका हुन् । ओलीले लाङटाङमा भूकम्पपछि बन्द भएको स्कूल र स्वास्थ्यचौकी तत्काल सुचारु गराउने आश्वासनसमेत स्थानीयलाई दिएका छन् ।

ओलीले रसुवागढी–केरुङ सीमा नाकाको अवलोकन गर्दै सोही क्षेत्रबाट रेलमार्ग निर्माणको काम थालनी गर्ने बताए ।

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले गल्छीदेखि स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्म पुग्ने सडक दुई लेन बनाउने कार्यलाई तीब्रता दिने जानकारी पनि दिए।

‘हामीले काठमाडौं, पोखरा र लुम्बिनीसम्म पुर्‍याउने गरी रेलमार्ग निर्माण गर्ने भनेको ठाउँ पनि यही हो। गल्छी–रसुवागढी सडक पनि छिटै पूरा हुँदैछ। अब यो नाका सबै हिसाबले अन्तर्राष्ट्रिय स्तरको बन्नेछ’, ओलीले भने।

चीनको केरुङस्थित सुक्खा बन्दरगाह प्रयोगका लागि आफू प्रधानमन्त्री हुँदा चीनसँग सम्झौता गरिसकेको उल्लेख गर्दै उनले त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए।

‘चिनियाँ भूभाग केरुङमा रहेको सुक्खा बन्दरगाह नेपालले प्रयोग गर्नेबारे सम्झौता भइसकेको छ। अब त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्छ’, उनले भने।

टिमुरेमा एकीकृत भन्सार निर्माणको कार्य सर्वोच्च अदालतमा मुद्दा परेर अड्किएको बताउँदै त्यो किनारा लागेपछि सो कार्यले तीब्रता पाउने उनले जनाए।

अध्यक्ष ओलीसँगै पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ, शंकर पोखरेल, गोकर्ण विष्टस, रसुवाका पूर्व एमाले सांसद जनार्दन ढकाल एवं जिल्ला अध्यक्ष कर्नेल लामा ओलीको भ्रमणमा सहभागी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *