नयाँ कार किन्न चाहनेलाई आयो निराश खबर


“
पुष २, काठमाडौं । नयाँ वर्ष (सन् २०१८) लागेसँगै नयाँ कार कुदाउने सोचमा हुनुहुन्छ भने तपाईंलाई केही निराश हुनुपर्ने अवस्था आएको छ । कारण, भारतमा रहेको अधिकांस गाडी उत्पादक कम्पनीहरुले सन् २०१८ को सुरुवात जनवरी देखिनै मूल्य बढाउने घोषणा गरेका छन् ।
भारतीय बजारमा मूल्य बढ्ने वित्तिकै नेपालमा पनि आधिकांस सवारी भारतबाटै आउने भएको केही मूल्य बढ्ने निश्चित जस्तै भएको छ । यदि भारतीय बजारमा १.५ देखि ४ प्रतिशतसम्म मूल्य बढ्दा नेपाली बजारमा त्यसको प्रत्येक्ष असर पुग्ने देखिन्छ । यसरी हेर्दा एउटा मध्यम मूल्यको कारमा करिब १ लाखको हाराहारीमा मूल्य बढ्न सक्छ ।
जनवरीदेखि सवारीको मूल्य वृद्धिको घोषणा अधिकांश सवारी उत्पादकहरुले गरिसकेका छन् । टोयोटाले ३ प्रतिशत, महिन्द्रा एन्ड महिन्द्राले १।५ देखि ३ प्रतिशत, फोर्डले ४ प्रतिशत तथा होन्डाले १ देखि २ प्रतिशत मूल्य जनावरीदेखि लागू हुने गरि वृद्धि गरेका छन् । मर्सिडिज्(वेन्ज इन्डिया तथा टाटा मोटर्स वृद्धि गर्नेबारे निर्णय गर्ने चरणमा रहेका छन् ।
आगामी सन् २०१८ को सुरुवातमै गाडीको मूल्य बढाउने घोषणाले भारतभर गाडी खरिद गर्नेहरुको चाप डिसेम्बर महिनामा देखिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
अन्य समयमा पनि भारतमा सवैभन्दा धेरै डिसेम्बर महिनामा कार बढी बिक्री हुने गरेको छ । आन्तरिक बजारमा कार खरिदकर्ताहरुका लागि डिसेम्बर महिना उपयुक्त समय रहेको पनि पाइएको छ । डिसेम्बरका लागि उपयुक्त समय भनिनुका पछाडि दुईवटा कारण रहेका छन् । पहिलो, जनावरीदेखि सबैजसो सवारी उत्पादक कम्पनीहरुले मूल्य वृद्धिको घोषणा गरेको र दोस्रो कारण हो सवारी कम्पनीहरुले डिसेम्बरमा छुट दिनु ।
डिसेम्बर महिनादेखि लागू हुने गरि विभिन्न कम्पनीहरुले विभिन्न मोडलमा ३५ हजारदेखि १ लाख भारुसम्म छुटको स्किम ल्याएका छन् । यो छुट गत वर्षको डिसेम्बरको तुलनामा १० देखि १५ प्रतिशत धेरै हो ।
नयाँ वर्षमा नयाँ मोडल आउने हुँदा सबैजसो सवारी उत्पादक कम्पनीहरुले स्टक क्लियरेन्सका लागि वर्षको अन्तिम महिनामा छुटमा सवारी उपलब्ध गराउने गरेका छन् । डिसेम्बरको पहिलो साता नै धेरै बिक्री गर्ने कार ब्रान्डहरू टाटा, फोर्ट, हुन्डाई, होन्डा, महिन्द्रा एन्ड महिन्द्रा तथा फक्सवागनले निःशुल्क, इन्स्योरेन्स, एक्सचेन्ज अफर, वास्तविक छुटमा पनि थप छुट उपलब्ध गराउने घोषणा गरेका हुन् ।
“
