स्वास्थ्य मन्त्रीले बोलाएको सिनेट ‘भिसी’का कारण रोकियो

काठमाडौँ,मङ्सिर २९। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकूलपति स्वास्थ्यमन्त्री दीपक बोहराले बोलाएको सिनेट प्रतिष्ठानका उपकूलपतिले लत्याएका छन् । गत कार्तिक ३० गते स्वास्थ्य मन्त्रालयमा बसेको सिनेटले कतिपय विषयमा निर्णय गर्न सकेको थिएन, त्यही विषय उपर छलफल गरी निर्णय गर्न आज (शुक्रवार) बोलाईएको सिनेट लत्याउँदै उनी बिदामा बसेका हुन् ।

 

स्वास्थ्य मन्त्रालयले मङ्सिर २५ गते प्रतिष्ठानका उपकूलपति डा.राजकुमार रौनियारका नाममा पत्र नै काटेर प्रतिष्ठानको सञ्चालक परिषद् (सिनेट) बैठक डाकेपछि उपकूलपति डा.रौनियार घरायसी बिदा लिएर बसेका छन् । मन्त्रालयले पत्र सङ्ख्या ०७४/०७५ तथा चलानी नंं. ३५ मा उपकूलपतिलाई नैं सम्बोधन गर्दै सिनेट बस्न भनेको छ । पत्रमा ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमावली ५५ को नियम ३.४ बमोजिम २०७४/०७/३० गते बसेको सञ्चालक परिषद् बैठकबाट भएको निर्णयको बुँदा नं.६ (निर्णय नं. ३११) ‘आर्थिक प्रतिवेदन सम्बन्धमा’ को ‘ग’ मा उल्लिखित विषयमा प्राप्त प्रतिवेदन माथि छलफल गरी निर्णयमा पुग्न’ पूर्व बैठकको निरन्तरता स्वरूप अर्को बैठक बस्ने भन्ने सभाषद्हरु बिच छलफल भई निर्णय भए बमोजिम’ आज (मङ्सिर २९ गते) सिनेट डाकिएको बताइएको छ ।

कार्तिक ३० गते मन्त्रालयमा बसेको ४० औँ सिनेटमा प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई उपकरणमा ३.५ करोड, ओन्कोलोजी र कार्डियोलोजी भवनको परामर्शदाता छनौटमा ७.५ करोड भ्रष्टाचार भएको, बिना कारण अंङ्कोलोजी र कार्डियोलोजी भवनको टेन्डर खारेज र रकमान्तर गरी एमआरआई उपकरण खरिद गर्ने कार्यमा व्यापक भ्रष्टाचार भएको भन्दै उपकूलपतिको चर्को आलोचना गरेको थियो ।

सिनेटका अधिकांश सदस्यहरू डा.रौनियारको विपक्षमा देखिएपछि मन्त्री बोहराले विवादित विषयमा सिनेट सदस्य स्वास्थ्य सचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति नै गठन गरेका थिए । उक्त समितिलाई प्रतिष्ठान भित्रका समस्या र अनियमितता सम्बन्धमा छानबिन गरी १ महिना भित्र प्रतिवेदन पेस गर्न भनिएको थियो । समितिले बुझाएकोे प्रतिवेदन आजको सिनेटमा पेस गरिने भएपछि उपकूलपति डा.रौनियारले २६ गते नै शिक्षाध्यक्ष डा.गुरु खनाललाई निमित्त उपकूलपतिको पत्र थमाएर आफू छुट्टीमा बसेका हुन् । स्रोतका अनुसार समितिले मन्त्री बोहरालाई बुझाएको प्रतिवेदनमा डा.रौनियारले एकलौटी ढङ्गले प्रक्रिया र पद्धति मिचेको, अंकोलोजी, कार्डियोलोजी र एमआरआई खरिदमा अनियमितता भएको ठहर गरिएको छ ।

उक्त प्रतिवेदन आजको सिनेटमा पेस भए आफ्नो उपकूलपति पद नै दाउमा लाग्ने देखेपछि डा। रौनियारले बहाना बनाएर छुट्टी लिएका हुन् । कार्तिक ३० गते बसेको सिनेटले आ.व.०७२/०७३ तथा ०७३/०७४ को बजेट समेत पारित गर्न सकेको थिएन । दुई आ.व.मा प्रतिष्ठानमा भएका टेण्डर, उपकरण खरिद प्रक्रियामा व्यापक अनियमितता भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको अवस्थामा सिनेटले बजेट पास गर्दा भोलि विवाद हुने देखेपछि सहकूलपति मन्त्री बोहराले समिति नै गठन गरेर सत्यतथ्य पत्ता लगाउन भनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *