मेयर विद्या सुन्दर शाक्य भन्छन्,‘नागरिकको सहभागिताले मात्र दिगो विकास सम्भव छ’

काठमाडौँ, मंसिर २९ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको सहभागिताले मात्र दिगो विकास सम्भव हुने बताएका छन् ।

२३ औँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नागरिकको सहभागितामा मात्र अपेक्षा अनुरुप विकास गर्न सकिने भएकाले उनीहरूको प्रत्यक्ष सहभागिताको आवश्यकता औँल्याए ।

महानगरको संवृद्धिमा महानगरवासीलाई अपनत्व बोध गर्न आग्रह गर्दै महानगर प्रमुख शाक्यले प्राप्त उपलब्धिको रक्षा गर्न र महानगरसँगै उपत्यकालाई नयाँ स्वरुप दिन आफू लागिपर्नेमा जोड दिए ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले एकिकृत विकासको अवधारणका साथ अघि बढ्न सकेमात्र दिगो विकासले गति लिने धारणा व्यक्त गरे । महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले हाल शहरी व्यवस्थापनमा देखिएका चुनौतीको सामना गर्न नयाँ आयामका साथ अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा उत्कृष्ट करदातामा संस्थागततर्फ हिमालय बैँक र व्यक्तिगततर्फ वडा नंं २ की सुशीलादेवी बस्नेतलाई सम्मान गरिएको थियो ।

यसैगरी महानगरमा बीस वर्षभन्दा बढी सेवा गरेका अम्बिका खड्का, सुनमाया पौडेल, जयन्ती श्रेष्ठ, रामलाल देउला र नरबहादुर साउदलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । कार्यक्रम शुरु हुनुअघि नागरिकलाई सहरी व्यवस्थापनमा साझेदार बन्न आह्वान सहित वसन्तपुरदेखि इन्द्रचोक, असन, रानीपोखरी हुँदै राष्ट्रिय सभागृहसम्म ¥याली निकालिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *