‘माक्समाण्डु होईन काठमाडौँ चाहिन्छ’


काठमाडौँ, फागुन २ । काठमाडौंमा प्रणय दिवसका अवसरमा ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने नाराका साथ तेस्रो साताव्यापी अभियान माक्समाण्डु कार्यक्रम समापन गरिएको छ । वायु प्रदुषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ आज ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्ने कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा हजार जनाभन्दा बढी युवा, विद्यार्थीका साथै सर्वसाधारणको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
वायुको गुणस्तरमा सुधारका लागि केही नीतिगत व्यवस्था भएता पनि वायु प्रदूषण र यसको असर झन् विकराल बन्दै गएकाले सर्वसाधारणमा सचेतनाका लागि मास्कमाण्डु एक र दुई पश्चात मास्कमाण्डु तेस्रो अभियानको आयोजना गरिएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम प्रबन्धक राजन थापाले बताए ।
कार्यक्रममा माक्सबिना काठमाडौँको जीवनशैली जटिल भयो भन्दै रत्नपार्कको बीच सडकमा सहभागीहरु लम्पसार परेका थिए भने कार्यक्रमकै एक सहभागीलाई प्रधानमन्त्रीको रुप मानेर माक्सले बनाएको माला लगाइएको थियो ।
मास्कमाण्डु ३ अभियानअन्तर्गत उपत्यकाका चावहिल, कोटेश्वर, सातदोबाटो, कलंकी र माइतीघर लगाएतका विभिन्न चोकहरुमा स्वच्छ हावाको लागि श्रृंखलाबद्ध सांकेतिक प्रदर्शन गरिनुका साथै शहरको वायुको गुणस्तर सुधार गर्न र प्रत्येक व्यक्तिले आफ्नो स्वच्छ हावाको अधिकार सुनिश्चित गर्न आफ्नो स्तरबाट जिम्मेवारी लिन सहभागीहरुले अनुरोध गरेका छन् ।
