३ प्रतिशतको ‘टार्गेट’ कुन कुन दलले पुर्याए ? यस्तो छ ताजा नतिजा

काठमाडौँ, मंसिर २७ । बुधबार बिहान १० बजेसम्म निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार समानुपातिकतर्फ आधाभन्दा बढी मतगणना भइसक्दा तीन प्रतिशतको थ्रेसहोल्ड प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादीसँगै दुई मधेसवादी दलहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले पनि कटाएको छ।

तीन प्रतिशत मत नपाए समानुपातिकमा कुनै सिट पाइँदैन। तीन प्रतिशत मत पुर्‍याउन राप्रपा र विवेकशील साझा पनि संघर्षरत छ। यी दलहरुले दुई प्रतिशत मत कटाउने निश्चित देखिन्छ । विवेकशील साझाले काठमाडौँ रहेको प्रदेश ३ बाट राम्रो मत ल्याएको छ।

समानुपातिकतर्फको मतमा दुई प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ। अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसलाई यसपटक समानुपातिकतर्फ पनि एमालेले पछाडि पारिरहेको छ। कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेकोमा ५३ लाख १ हजार ८२८ मत गन्दा एमालेले सबैभन्दा बढी ३५.१ प्रतिशत मत ल्याएको छ। नेपाली का‌ंग्रेसले भने ३३.४ प्रतिशत मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ। यता, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईको पार्टीले १ प्रतिशत मात्र ल्याउन सफल भएको छ ।

यही अन्तिम परिणाम भएको भए एमालेले समानुपातिकबाट ४३ सिट पाउँथ्यो भने कांग्रेसले ४१ सिट पाउँथ्यो।

माओवादी तेस्रो स्थानमा छ तर उसको मत अनुपात दुई ठूला दलको भन्दा निकै कम १३.७ प्रतिशतमात्रै छ। माओवादीले यही अन्तिम परिणाम भएको भए १७ सिट पाउँथ्यो। फोरमले ४.३ प्रतिशत मत पाएको हुनाले ५ सिट पाउनेछ भने राजपाले भर्खर ३ प्रतिशतको थ्रेसहोल्ड कटाएको हुनाले ४ सिट पाउनेछ।  थप मतगणनासँगै पाएको मतका आधारमा यो सिट संख्या हेरफेर हुनेछ। अरु कुनै दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाए ठूला दलले पाउने सिटको संख्या कम हुँदै जानेछ।

यस पटक प्रतिनिधि सभामा ११० सिट समानुपातिकका लागि छुट्याइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *