वुटवल पूर्वको रेलमार्गको डीपीआर तयार
“
मंसिर २६, काठमाडौं । काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भएको छ । रेल विभागले तयार पारेको प्रतिवेदन अनुसार झापाको काँकडभिट्टाबाट शुरु हुने रेलमार्गको अन्तिम विन्दु कञ्चनपुरको गड्डाचौकी नाका हुनेछ ।
मेचीदेखि महाकाली जोड्ने करिब नौ सय ४५ किलोमिटर रेलमार्गको डीपीआर विभागले तयार गर्दैछ । त्यसमध्ये पूर्वी खण्डको ६ सय १९ किमिको डीपीआर तयार भएको हो । सहायक मार्गसहित रेलमार्गको कुल लम्बाइ १३ सय ७६ किमि हुनेछ ।
बुटवलदेखि पश्चिम खण्डको डीपीआर निर्माणमा विभागका अधिकारीहरु जुटेका छन् । रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायका अनुसार उक्त खण्डको डीपीआर १० महिनाभित्र तयार पारिसक्ने लक्ष्य छ । ‘निर्माण भने नयाँ सरकारको निर्णयबमोजिम हुनेछ,’ उपाध्यायले भने ।
लालबन्दीदेखि बर्दिवाससम्मको ३० किमिमा निर्माण शुरु भइसकेको छ । उक्त खण्डमा कल्भर्ट र ग्राभेलिङको काम सकिएको छ । पुलका लागि टेन्डर आह्वान हुन सकेको छैन । सोही कारण आगामी चार वर्षमा पनि उक्त खण्डको निर्माण सकिने लक्षण देखिएको छैन ।
उपाध्यायका अनुसार ठेक्का लागेपछि पनि पुल निर्माण सक्न करिब तीन वर्ष लाग्छ । पुल बनेपछि मात्र रेलको लिक बिछ्याउन शुरु हुन्छ ।
मध्य भाग अर्थात् सिमराबाट पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी जोड्ने भागको डीपीआर विवादित अवस्थामा छ । सोही कारण मध्यभागको डीपीआर नै काम नलाग्ने भएको छ ।
“