बीनाले भनिन्, जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन

महेन्द्रनगर, मंसिर २६ । भीमदत्त नगरपालिका हाताभित्र कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम नतिजा घोषणाको तयारी भइरहेको थियो। कार्यालयबाहिर पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक जितको खुसियालीमा अबिरजात्रा गरिरहेका थिए। त्यही भीड छिचोलेर बीना मगर नगरपालिकाभित्र प्रवेश गरिन् । छोरालाई साथमा लिएर निर्वाचित भएको प्रमाणपत्र लिन पुगेकी बीनाको अनुहार मलीन देखिन्थ्यो।

प्रतिस्पर्धीलाई दोब्बर मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रकी नेत्री बीना मगरको मुहारमा खुसी छाएको थिएन।

बीनालाई बधाई तथा शुभकामना दिनेहरूको लाम थियो। उनीहरूसँग सकी नसकी बोल्ने प्रयास गरिरहेकी थिइन् उनले।

भावुक मुद्रामा बिनाले भनिन्,

आज ठूलो खुसीको दिन हो तर म खुसी हुन सकिरहेकी छैन , मेरो जीवनको सबभन्दा ठूलो खुसी आज मसँग छैन । खुसीको यो क्षणमा जीवनसाथी प्रकाशलाई सम्झिरहेको छु ।

निर्वाचन प्रचारका क्रममा मंसिर ३ गते प्रकाश दाहालको असामयिक निधनले पतिशोकमा परेकी बीना मगर विक्षिप्त भएकी थिइन्। पतिशोकका बेला धीत मरुन्जेल रुन पनि नपाई एक सातापछि चुनाव प्रचारमा होमिनुप‍रेको थियो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

आफ्नो दक्षता र क्षमताको भरपूर उपयोग गर्दै जनताको अपेक्षा पूरा गर्न निरन्तर लागिरहने उनले प्रतिबद्धता जनाएकी छन्। ‘निर्वाचन प्रचारका क्रममा हामीले सार्वजनिक गरेका प्रतिबद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर यस क्षेत्रको विकासमा लाग्नेछु’, बीनाले भनिन्, ‘स्थानीय, प्रदेश र केन्द्र सरकारमा वाम गठबन्धनकै नेतृत्व हुने भएकाले विकास गर्न सहज हुनेछ।’ बीनाले आमजनतासँग निरन्तर जनसम्पर्क स्थापित गर्न, गुनासो सुन्न र समस्या समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने पनि जानकारी दिएकी छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै बीना कञ्चनपुरबाट केन्द्रीय संसद्मा प्रत्यक्ष निर्वाचित हुने पहिलो महिला बनेकी छन्। कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मजदुर परिवारमा २०४० मंसिर २२ गते जन्मिएकी बीनालाई जन्मजात वामपन्थी बन्ने वातावरण मिल्यो।

राज्यसत्ताको दमन, सामाजिक विभेद र शोषणलाई नजिकबाट देखेकी उनी १० वर्षे जनयुद्ध, माओवादी आन्दोलन हुँदै संसद्मा निर्वाचित भएकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *