“हामीले केही गरेनौँ भने जनताले हामीलाई मान्ने छैनन्”

चितवन, मंसिर २५ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीले पाएको जनमत शंकासहितको जनमत भएको बताएका छन् ।

चितवन क्षेत्र नं ३ बाट विजयी भएपछि आज नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभामा उनले भने,“हामीले केही गरेनौँ भने जनताले हामीलाई मान्ने छैनन् ।”

 

अध्यक्ष दाहालले एकढिक्का भएर देशको विकास र समृद्धिमा जुट्नु पर्ने बताउँदै “हामीमा जीतको उन्माद होइन, समृद्धिको दृढ ईच्छाशक्ति चाहिन्छ, हामी त्यो दिशामा प्रतिबद्ध भएर अगाडि बढ्नेछौँ” भने ।

यो जनमत एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि पनि हो,उनले भने,“नेपाली जनताको चाहना र देशको आवश्यकता अनुसार पार्टी एकीकरण भैछाड्ने छ ।”

अध्यक्ष दाहालले देश अब समृद्धिको दिशामा अगाडि बढेको बताउँदै अब राजनीतिक मुद्दामा समय बिताउनु नपर्ने धारणा व्यक्त गरे ।

यसअघि विजय र्याली भरतपुरको वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, पुलचोक हुँदै पोखरा बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा चितवन क्षेत्र नं १ बाट निर्वाचित नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, क्षेत्र नं २ बाट निर्वाचित नेकपा एमालेका कृष्णभक्त पोखरेल लगायत जिल्लाका छ वटै प्रदेशसभा सदस्यमा निर्वाचित उम्मेदवारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *