चितवन–२ मा शेषनाथ तलै छाडिए, एमालेका पोखरेल भारी मतले विजयी

चितवन, मंसिर २४ । जिल्लामा जारी मतगणनाको आज साँझ जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेल विजयी भएका छन् । पोखरेलले ४४ हजार ६७० प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत प्राप्त गरे । पोखरेलले १७ हजार ३५७ मतान्तरले अधिकारीलाई पराजित गरेका हुन् ।

 

जिल्लाका ६ प्रदेशसभामध्ये चार स्थानमा यसअघि नै वाम गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् भने अन्य दुई ठाउँको मतगणना जारी रहेको छ । प्रतिनिधिसभातर्फ जिल्लाको क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे अग्रस्थानमा रहेका छन् । उनलाई काँग्रेसका राजेन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् ।

साँझ ६ बजेसम्म पाण्डेले ३२ हजार ०४९ मत र बुर्लाकोटीले २२ हजार ७९८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख १९ हजार ९९८ मतदाता रहेकामा ८९ हजार ७४६ मत खसेको थियो । साँझ ६ बजेसम्म ५६ हजार ९८७ मत गणना भएको छ ।

यसैगरी क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अग्रस्थानमा रहेका छन् । उनलाई राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पछ्याइरहेका छन् । साँझ ६ बजेसम्म दाहालले २२ हजार २०३ मत प्राप्त गरेका छन् भने पाण्डेले १७ हजार १५८ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ । साँझ ६ बजेसम्म ४० हजार ७२४ मत गणना भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *