भारत द्वारा नेपालको आयुर्वेद विकासमा सहयोग गर्ने प्रतिबद्धता


“
मङ्सिर २१,नयाँदिल्ली । भारतले नेपालको आयुर्वेद विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
नेपालका आयुर्वेद चिकित्सकसँग बुधवार यहाँ भेट गर्दै भारतका आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी काम गर्ने आयुस मन्त्रालयका मन्त्री श्रीपद नाइकेले नेपालमा आयुर्वेद प्रदर्शनी, चिकित्सा शिक्षा र सेवालगायतका विकासमा काम गर्न सधैँ तयार रहेको बताए।
भारतमा गत १८ गतेदेखि सुरु भएको आरोग्य अन्तर्र्राष्ट्रिय सम्मेलन २०१७ मा नेपालबाट आएका सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा वंशदीप शर्माखरेल, आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवाली, सहकारी आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा शङ्कर गौतम, आयुर्वेद विद्यार्थी समाजका अध्यक्ष डा सुमन खनालको टोलीले मन्त्री नाइकेसँग भारतमा आयुर्वेदको उच्च शिक्षाको कोटा बढाउन आग्रह गरे।
अहिले भारतमा नेपाली विद्यार्थीका लागि १८ सिट मात्र छुट्याइएको छ । आयुर्वेद प्रतिष्ठान, पञ्चकर्म तथा योग केन्द्रको विकास, स्तरोन्नतिका लागि पहल गर्न पनि टोलीले आग्रह गरेको थियो ।
मन्त्री नाइकेले द्विपक्षीय सहयोगका लागि सदैव सकारात्मक रहेको तथा नेपालबाट औपचारिक प्रस्ताव आए तुरुन्त कार्यान्वयन गर्ने बताए।
आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले अहिलेसम्म नेपाल सरकारको तर्फबाट औपचारिकरूपमा विकासका लागि कुनै प्रस्ताव नआएको बताए।
उनले यस्तो कुनै पनि प्रस्ताव आएमा आयुर्वेदको हरेक विधामा विकास अनुसन्धानमा सहयोग गर्न तयार रहेको स्पष्ट पारे। रासस
“
