मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कसरी लन्डनमा आगो लागेको थियो ?

एजेन्सी । ढोकामा बजेको घन्टीले ४४ वर्षीय एसिन एडमको निन्द्रा टुट्यो ।

उनले घडीतिर आँखा डुलाए। रातको १ बज्न लागेको थियो। कोठाबाहिरको कोलाहलले उनको ध्यान तान्यो। आफ्नो जीवनमा मडारिएको खतरा एडमले बल्ल चाल पाए।

त्यसबेलासम्म एडम बस्ने ग्रेनफेल टावरलाई आगोको लप्काले छोपिसकेको थियो।

आगलागी सुरु भएपछि एक व्यक्ति छिमेकीलाई सचेत गराउन सबैका ढोका घच्घच्याउँदै थिए। भन्दै थिए, ‘मेरो रेफ्रिजेरेटर पड्कियो।’

जुन १५ का दिन पश्चिम लन्डनस्थित २४ तले भवनमा लागेको आगो एक भयंकर ठूलो दुर्घटना थियो, तर अनपेक्षित थिएन। त्यस भवनमा बस्नेहरुले आफ्नो वासस्थान आगोबाट सुरक्षित छैन भनेर बारम्बार उजुरी गरेका थिए। उनीहरुका अनुसार टावरमा आपतकालीन ‘फायर अलार्म’ थिएन। आगो निभाउने पानीका फोहोरा थिएनन्। न त आपतकालीन अवस्थामा भाग्ने वैकल्पिक बाटो नै थियो।

एउटा मात्र सिँढी भएको त्यो २४ तले भवनका बाहिरी भित्ता आल्मुनियमका पाताले ढाकिएका थिए। भवनको गुणस्तर बढाउन आल्मुनियमका पाता प्रयोग गरिन्छ। घरका बाहिरी भित्तामा आल्मुनियमका पाता लगाउने विधिलाई ‘क्लाडिङ’ भनिन्छ।

ग्रेनफेल टावरका हकमा भने त्यही क्लाडिङ विध्वंशको मुख्य कारण बन्न पुग्यो।

आल्मुनियम जल्दै आगोको लप्का र धुवाँको मुस्लो एकदमै छिटो गतिमा भवनको माथिल्लो तलातर्फ लम्केको थियो। एक प्रत्यक्षदर्शी भन्छन्, ‘त्यस बेला आल्मुनियम जलेको हेर्दा कसैले आगोमा पेट्रोल खन्याएजस्तो देखिन्थ्यो।’

ग्रेनफेल टावरको यो घटनालाई बेलायतमा पछिल्लो शताब्दीकै सबभन्दा भयानक आगलागी मानिन्छ। उक्त दुर्घटना राष्ट्रिय शोकमा रुपान्तरण भएको छ। लन्डन प्रहरीले दुर्घटनाको कारण भवनमा प्रयोग भएको प्रज्ज्वलनशील आल्मुनियमलाई मानेको छ। उसले घटनाका दोषीलाई नरसंहारको आरोपमा मुद्दा चलाउने बताएको छ।

बेलायतका भवनमा व्यापक रुपले आल्मुनियम प्रयोग हुँदै आएको छ। ग्रेनफेल टावरको दुर्घटनापछि प्रज्ज्वलनशील क्लाडिङ प्रयोग भएका अन्य पाँच ठूला भवनलाई खतराको सूचीमा राखिएको छ। त्यहाँका सयौं परिवार अन्यत्र सारिएका छन्।

ग्रेनफेल टावरको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रक तुरुन्तै घटनास्थल पुगेका थिए। तर, जुन वेगले आगो फैलियो, त्यसले उनीहरुलाई नै तर्सायो। भवनभित्र छिर्न सकिन्छ कि सकिन्न भनेर उनीहरु अलमलमा परे।

लन्डन दमकल कार्यालयले ग्रेनफेल टावरमा आगो लागेको सूचना राति १२:५४ मा पाएको थियो। त्यसको ६ मिनेटपछि नै अग्निनियन्त्रकहरु घटनास्थल पुग्दा आगो नियन्त्रण गर्न हम्मे पर्ने गरी दन्किसकेको थियो। कसरी यति चाँडो त्यत्रो आगो सम्भव भयो भनेर अग्निनियन्त्रकहरु नै चकित खाएका थिए।

त्यतिबेला माथिल्लो तलाका टुटेका झ्यालबाट टावरवासी जीवन रक्षाका लागि गुहार माग्दै थिए। तर, उद्धार सजिलो थिएन। त्यही भएर यो घटनामा कम्तीमा ७९ जनाले ज्यान गुमाएका छन्। कयौं अझै हराइरहेका छन् भने दर्जनौं घाइते छन्। यसले मृत्यु हुनेको संख्या अझ बढ्ने अनुमान गरिएको छ।

सरकारी निकायहरुले दुर्घटनाको औपचरिक अनुसन्धान सुरु गरेका छन्। भवनमा बस्ने मानिस, निर्माण अधिकारी र अग्नि सुरक्षा इन्जिनियरसँग कुरा गर्दा दुर्घटनाको कारण प्रस्ट छ- भवन निर्माणका क्षेत्रमा सरकारको गलत नीति र हेलचेक्र्याइँ।

विगतमा भवन सुरक्षालाई लिएर देशभित्र र बाहिरबाट आएका चेतावनीलाई कन्जरभेटिभ र लेबर दुवै पार्टीका सरकारले बेवास्ता गरे। अझ सरकारले भवन निर्माण गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्ड झनै खुकुलो पारिदियो। व्यापार-मैत्री राज्य बनाउने नाममा सरकारले कर्मचारीतन्त्रको झन्झटिलो प्रक्रियालाई सरल बनाउने नीति लियो। भवन सुरक्षाभन्दा निर्माण र व्यवस्थापन खर्च सरकारको प्राथमिकतामा पर्यो।

यही कारणले ग्रेनफेल लगायत अन्य टावरको तलदेखि माथिसम्म क्लाडिङ प्रयोग भयो। अत्यन्त प्रज्ज्वलनशील पदार्थ भएकाले अमेरिका र अधिकांश युरोपेली देशमा यसको प्रयोग प्रतिबन्धित छ। बेलायतमा भने छुट छ। यसका लागि चाहिने आल्मुनियमका पाता अमेरिकी कम्पनीहरुले बेलायत निर्यात गर्दै आएका छन्।

आगोले ध्वस्त भएको ग्रेनफेल टावरमा गत वर्ष क्लाडिङ गर्दा दुई पत्र आल्मुनियम प्रयोग गरिएको थियो। ती दुई पत्रका बीचमा प्रज्ज्वलनशील पोलिथिन प्लास्टिक थिए।त्यसलाई अमेरिकी कम्पनी अर्कोनिकले बेलायत निर्यात गरेको थियो।

फ्रान्स, युएई, अस्ट्रेलिया र बेलायतमै पनि क्लाडिङका कारण भएका केही आगलागी घटनापछि बेलायती सांसदले त्यस्ता पदार्थको प्रयोग रोक्न सरकारलाई पत्र लेखेका थिए। बेलायत सरकारले भने वास्ता गरेन। भवन निर्माणमा सबै किसिमका प्रज्ज्वलनशील पदार्थको प्रयोगमा रोक लगाउँदा निर्माणकर्ताका लागि सामानको विकल्प थोरै हुने तर्क अघि सारियो। सरकारले त्यही तर्क स्वीकार गर्यो।

क्लाडिङका बारेमा विज्ञले दिएका सुझाव सरकारले मानेको भए ग्रेनफेल टावरमा यस्तो दुर्घटना नहुने विज्ञहरु बताउँछन्।

यति मात्र होइन, क्लाडिङ गरिएका अग्ला भवनमा आगलागी हुँदा बच्ने उपायबारे भवन व्यस्थापन कम्पनीले दिएको सुझाव मान्नुले पनि धेरैको ज्यान गएको अनुमान छ।

भवनमा आगो लाग्दा ढोका बन्द गरेर बस्न भवन व्यस्थापन कम्पनीले सुझाव दिएको थियो। एसिन एडमलाई पनि यसको जानकारी थियो।

एडम, उनकी पत्नी, छोरी र उनकी गर्भवती बहिनीले भवन व्यस्थापन कम्पनीको सुझाव मानेनन्। उनीहरु आगो सल्किएको भवनबाट निस्कन दौडिए। यसरी एडम र उनको परिवारजस्तै भवन व्यवस्थापन कम्पनीको सुझाव उल्लंघन गरेर भाग्नेहरु यो दुर्घटनामा बाँच्न सफल भए। आज्ञाकारी भएर उक्त नियम पालना गर्नेहरुको ज्यान गयो।

‘जसले भवन व्यवस्थापन कम्पनीको सुझाव माने र आगो लाग्दा पनि कोठा छाडेनन्, उनीहरु मरे,’ एडमले आगलागीको दोश्रो दिन सञ्चारमाध्यमसँग भने।

साधारणतया भवनमा आगलागी हुँदा आगो घरको झ्यालबाट भित्र प्रवेश गर्छ। ग्रेनफेल टावरमा भने उल्टो भयो। यहाँ घरबाहिरको भित्ताबाट आगो भित्र छिरेको थियो।आल्मुनियमका पाता जल्दा आगोका लप्का अकासिए र भवनको भित्री भाग विषाक्त धुँवाले भरियो। यही धुँवामा उकुसमुकुस गुम्सिएर धेरैको ज्यान गयो। त्यो आगो र धुँवाको मुस्लो कतिसम्म भयानक थियो भन्ने दुई सय अग्नि नियन्त्रक र ४० वटा दमकललाई समेत निभाउन गाह्रो पर्नुले पुष्टि गर्छ।

ग्रेनफेल टावर ‘ब्रुटलिज्म’ भन्ने ढाँचामा सन् १९७४ मा निर्माण गरिएको थियो। त्यस समय भवनमा क्लाडिङ गरिएको थिएन। यसले आगलागी हुँदा अग्निनियन्त्रक आइपुग्ने बेलासम्म आगो त्यति धेरै फैलिन पाउने थिएन।

अपार्टमेन्टको भुइँको डिजाइनले पनि आगो कसरी लाग्यो भन्ने आन्दाज गर्न सकिन्छ। अधिकांश अपार्टमेन्टमा रेफ्रिजेरेटरलाई झ्यालनजिकै भित्तामा जोडेर राखिएको थियो। भवन मर्मत गर्ने क्रममा लगाइएको क्लाडिङ र रेफ्रिजेरेटरबीचको दुरी केही इन्च मात्र थियो। चौथो तलामा रहेको रेफ्रिजेरेटर पड्किएपछि आगो क्लाडिङमा सल्कियो र त्यसपछि भित्ता जल्न थाल्यो।

अग्ला भवनका निम्ति क्लाडिङ सामग्री उत्पादन गर्ने कम्पनीले अमेरिकास्थित आफ्नै मुख्यालयमा लगेर यसको विशेषताबारे जानकारी दिएको थियो। भवन सुन्दरताका लागि मात्र होइन, इन्धन बचत गर्न पनि क्लाडिङ उपयोगी भएको प्रचार गरियो। क्लाडिङ प्रयोग गर्दा भवन चिस्याउन र न्यानो बनाउन लाग्ने इन्धन बचत हुने देखियो। यसले क्लाडिङ विधि र यसमा प्रयोग हुने सामग्रीको बजार माग वृद्धि भयो। त्यससँगै आल्मुनियमका दुई पाता बीचमा प्रज्ज्वलनशील पोलिथिनजस्ता प्लास्टिक राखेर बेच्न थालियो।

सन् १९९८ मा आइपुग्दा अमेरिकाले ठूला भवनमा पोलिथिन प्रयोग गरेर क्लाडिङ गर्न बन्देज लगायो। अमेरिकाले त भवन निर्माण गर्दा स्वचालित फोहोरा प्रणाली, फायर अलार्म, आपतकालीन समयमा सुझावका लागि माइकको प्रयोग, एकभन्दा बढी सिँढी, आपतकालीन द्वारजस्ता अनेकौं नयाँ नियम पनि बनायो। केही हदसम्म अमेरिकी प्रभावका कारण संसारका अन्य देशमा पनि भवन निर्माणमा यस्ता नियम लागू भए। बेलायतमा भने भएन।

बेलायतमा आगलागीको आफ्नै अनुभव पनि छ।

सन् १६६६ मा लन्डन सहरमा लागेको भयंकर आगलागीको घटना स्कुले विद्यार्थीको पाठ्यक्रममा पनि समावेश गरिएको छ। उक्त दुर्घटनामा लन्डनका कयौं काठका घर जलेर नष्ट भएका थिए। त्यसपछि बेलायतले भवन निर्माणसम्बन्धी नियम कडा बनाएको थियो।

सन् १९९९ मा स्कटल्यान्डमा आगलागी भएपछि इन्जिनियरहरुले प्रज्ज्वलनशील क्लाडिङको प्रयोग रोक्ने गरी भवन निर्माण सुधार हुनुपर्ने सुझाव दिएका थिए। भवन निर्माणकर्ताहरुले भने त्यसको विरोध गरे। उनीहरुले प्रज्ज्वलनशील क्लाडिङले भवन सुरक्षित हुन्छ वा हुन्न भनेर व्यवहारिक परीक्षणसमेत गर्न दिएनन्। आगो नलाग्ने पदार्थ प्रयोग गर्दा भवन निर्माण खर्च महंगो हुने उनीहरुको तर्क थियो।

भवन निर्माणकर्ताहरुको विरोधपछि व्यापार-मैत्री बेलायतका सरकारहरुले कडा नियम लागू गर्न मानेनन्।

सन् २००५ मा अनुमोदन गरिएको एक कानुनअनुसार कुनै भवन आगोबाट सुरक्षित छ वा छैन भनेर सरकारी अनुगमनकर्ताबाट प्रमाणपत्र लिनुपर्ने व्यवस्था खरेज गरियो। भवनको सुरक्षा सम्बन्धित निर्माणकर्ताकै जिम्मामा गयो। सरकारको यस्तै गलत नीतिका कारण बेलायतमा भवनहरु आगोबाट असुरक्षित छन् भन्दै स्थानीयले त्यसको विरोधमा आवाज उठाएका थिए।

अन्तत: ग्रेनफेल टावरको दुर्घटनाले यसलाई पुष्टि गरेको छ।

ग्रेनफेल टावरको २३ औं तलामा बस्ने हसन इब्राहिम आगो लागेका दिन इङ्ल्यान्डमा थिएनन्। उनलाई भाग्यमानी पनि भन्न सकिएला। तर, इब्राहिमकी पत्नी रैना र दुई बच्चा भाग्यमानी भएनन्।

रातको समय आगो र धुँवाले आफू बसेको माथिल्लो तला घेर्दै जाँदा रैना अलमलमा परिन्। घरको ढोका उघार्ने कि नउघार्ने भनेर छिमेकीसँग विवाद गर्न थालिन्।

‘अगाडिको ढोका नउघार,’ उनको छिमेकीले भन्यो, ‘ढोका उघारेमा धुँवा कोठामा आउँछ, तिमी सास फेर्न सक्दिनौ।’

त्यसपछि उनी आत्तिएर कराइन्, ‘कोही बाहिर छ?’

उनले एक्कासि ढोका उघारिन्। ‘हेलो! हेलो! यता आऊ,’ धुँवामय प्यासेजमा उनी कराइन्।

उनी फेरि आफ्नै कोठा फर्किइन्, ‘ओके, ओके, मैले ढोका बन्द गरेँ। म बाहिर जान्नँ।’

त्यसपछि अब के गर्ने भनेर बेचैनी हुँदै गर्दा उनले आफ्नो भिडियो खिचिन् र अनलाइनमा अपलोड गरिन्। त्यति बेलासम्म बाहिर आगो दन्किरहेको थियो। अग्नि नियन्त्रण सेवामा त्यस दिन उक्त भवनबाट एक घन्टाभित्रै ६०० पटक फोन गरिएको थियो।

अरबी भाषामा बोल्दै रैनाले फोनमा भनिन्, ‘हामी सबैभन्दा माथिल्लो तलामा छौं। हाम्रो माथिल्लो तलालाई अझै आगोले समातेको छैन।’

त्यसको केही बेरमै उनले थपिन्,  ‘अब सकियो, आगो आइपुग्यो।’

आगोले जलेर नष्ट भवनमा रैनाका श्रीमान हसन भोलिपल्ट आइपुगे। उनले आफ्नी पत्नी र बच्चा-बच्चीलाई कतै भेटेनन्।

स्रोत : सेतोपाटी

प्रतिकृयाहरु
Loading...