भगवती चौधरी भन्नुहुन्छ ‘मङ्सिर २१ गते डेट एक्सपायर’ पात्रलाई फ्याकिदिउँ’

सम्पूर्ण न्यायप्रेमी जनताहरूमा म भगवती चौधरीको न्यानो अभिवादन !
हामी यति बेला जनताकै हातबाट लेखिएको संविधान कार्यान्वयनको अन्तिम चरणमा छौँ । मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल रूपमा सम्पन्न भएर पश्चात् नयाँ युगमा प्रवेश गर्नेछौँ । यो निर्वाचनले हाम्रो समाजमा सदियौंदेखि जकडिएर रहेको जाति, वर्ग, क्षेत्र, लिङ्गका नाममा रहेका विभेदको अन्त्य गर्नुका साथै देशलाई विकासको पथमा डोर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मैले विश्वास लिएकी छु ।

२१ औँ शताब्दिका हामी जनता राजनैतिक, आर्थिक र सामाजिक विभेदका कारण सदैव गरिबीका रेखामुनि बाँच्न विवश छौँ । हामीले २००७ सालदेखि राजनीतिक सुब्यवस्थाका कायम गर्नका लागि विभिन्न क्रान्ति गर्‍यौँ । जहानिँया राणा शासनको अन्त्य गर्न गरिएको आन्दोलन, ०३६ सालदेखि ०४६ सालसम्म पञ्चायति शासन व्यवस्था अन्त्य गर्न गरिएको आन्दोलन, ०५२ सालदेखि १० वर्षसम्म राजतन्त्र समाप्ती र नयाँ संविधानका लागि गरिएको आन्दोलन हेर्दा हाम्रा सात–आठ दशक शासन व्यवस्था मात्र बदल्न क्रान्तिमा होमिएका रहेछौं । यी आठ दशकमा हामीले प्राप्त गरेका राजनीतिक उपलब्धि र हाम्रो जिवनस्तरलाई तुलना गरेर हेर्दा हामी विकास र संवृद्धिका पक्षमा भर्खरै बामे सर्दै गएको देखिन्छ ।

२००७ साल यताका विभिन्न चरणका राजनीतिक क्रान्तिमा नेपाली जनताले हाम्रा राजनीतिक दलहरूलाई राम्रै साथ दिएका थिए । नेकपा माओवादीले ०५२ सालमा गरेको सशस्त्र द्वन्द्व, त्यसपछि ०६२/०६३ को जनआन्दोलनमा पनि जनताको अभूतपूर्व सहभागिता भयो । जनआन्दोलनले २ सय ४० वर्षे राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै देश गणतन्त्रात्मक सङ्घीय शासन व्यवस्थामा गयो र, २ ओटा संविधान सभा निर्वाचनले नयाँ संविधान बनाउन पनि सफल भयो । तर, हाम्रो जिवनस्तर जस्ताको तस्तै नै रह्यो ।

जनतालाई असल शासन व्यवस्था दिन विश्वमा प्रचलनमा आएका हरेक शासन व्यवस्था अपनाईरहँदा हामी भने, कुनै पनि शासन व्यवस्था एक दशक भन्दा बढी टिकाउन सकिरहेका छैनौँ । २००७ सालयता हरेक दशकमा कुनै न कुनै शासन व्यवस्थाका विरुद्ध जनता सडकमा आएका छन्, सशस्त्र सङ्घर्षमा उत्रिएका छन् । बारम्बार राजनीतिक मुद्दाकै लागि आन्दोलन भएका छन् ।

किन त ? अब हामी जिम्मेवार जनताले सोच्ने बेला आएको छ । हो, हामीले यी सात दशकमा विभिन्न शासन व्यवस्थाको अनुभव गरिरहँदा ती व्यवस्थाहरू हाम्रो समाजमा हाम्रो परिवेशमा किन असफल भए ? कसका कारण असफल भए ? कहिल्लै सोच्न सकेनौं, अथवा हामीलाई सोच्ने मौका भएन । हामीले शासन व्यवस्था फेरेसँगै पात्र पनि फेर्न नसक्दा हाम्रो विकास हुन नसकेको हो ।

समस्या शासन व्यवस्थामा हैन, शासकमा छ । हामी एक पटक २००७ साल यताका हाम्रा शासकलाई नियालौं । हामीले त्यत्तिखेरको शासन व्यवस्था फाल्न जसलाई साथ दिएका थियौँ अहिले तिनीहरू नै शासक बनेर वर्षौदेखि विराजमान छन् । एउटै व्यक्तिलाई २६ वर्षदेखि शासन सत्तामा पुर्याउँदा त्यसले कस्तो सोच र भिजन ल्याउन सक्छ हामीले कहिल्लै वास्ता गरेनौं । बारम्बार सत्तामा पुर्याईरहँदा त्यसले हाम्रो जिवनस्तर उकास्न केके काम गर्‍यो सोचेनौं । र, त्यही पात्रको निगाहले दिएको ग्रहण मात्र स्विकार्दै गयौँ । उसलाई माग्न सकेनौं । त्यहीँ निर हामी जनताहरू असफल भयौँ । हामी संविधान, गणतन्त्र, प्रजातन्त्र, राजतन्त्रका नाममा वर्षौ सडकमा कुर्लिइरहँदा यो सोच्न सकेनौं की, शान्ति, सुशासन, विकास र परिवर्तन शासन व्यवस्थाले हैन, व्यक्तिको सोच र विचारले प्रभावित हुन्छ । नेतृत्वको भिजनले हुन्छ ।

लोकतन्त्रका नाममा, गणतन्त्रका नाममा, राजतन्त्रका नाममा आएका यस्ता पात्रले विगत २६ वर्ष यता जनताका लागि केके गरे भन्न्ने हामीले अब हेक्का राख्न जरुरी छ । अहिलेपनि तिनै पात्रहरु विभिन्न भेष बदलेर हाम्रा घर आँगनमा आइरहेका छन् ।

अब पुरानै प्रवृत्ति र पात्रले देश अघि बढ्ने अवस्था छैन । देशमा आर्थिक, सामाजिक परिवर्तन ल्याएर जनताका घरदैलोमा विकासका मूल फुटाई मुलुकलाई परिवर्तन र संवृद्धिमा डोर्याउने हो भने, अब त्यस्ता ‘डेट एक्सपायर’ भएका पात्रलाई समाजबाट फ्याक्ने बेला आएको छ । र, त्यो बेला भनेको मङ्सिर २१ गते हो ।

म, सम्पूर्ण न्याय प्रेमी जनताहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु, अब पनि पुरानो सोच र विचार गरेका पात्रलाई राज्य सत्तामा पुर्‍याउने हो भने, हामी अझै तीस वर्ष अन्धकारमा हराउने छौँ । हामीले आफ्नो जीवन स्तर उकास्ने हो भने, नयाँ सोच र विचार भएका परिवर्तनका पक्षधरलाई चुन्न जरुरी छ । र, त्यो दिन भनेकै मङ्सिर २१ गते हो । परिवर्तनको संघारमा उभिएका जनतालाई असल सोच, असल विचार र नयाँ भिजन भएका व्यक्तिलाई स्वच्छ, निष्पक्ष, कसैको वहकावमा नलागि, आर्थिक प्रलोभनमा नपरी निष्पक्ष रूपमा ह्दयदेखि नै मतदानमा सरिक भईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

न्यानो अभिवादन सहित
भगवती चौधरी (प्रतिनिधिसभा उम्मेदवार)
बाम गठबन्धन, सुनसरी क्षेत्र नं. ३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *