‘२१ गतेपछि गच्छदार रिटायर्ड हुन्छन्’ ‘काँग्रेसलाई बट्टामा थन्क्याइदिन्छौं’

मङ्सिर १६, सुनसरी । राज्य संयन्त्र प्रयोग गरेरै भए पनि चुनाव जित्ने रणनीति अपनाएका नेपाली काँग्रेसका विजयकुमार गच्छदारको रणनीति जनताले असफल बनाईदिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । संयुक्त बाम गठबन्धन सुनसरी क्षेत्र नं. ३ ले दुहवीमा आयोजना गरेको विशाल चुनावी जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘भगवती चौधरीले चुनाव जितेपनि हराएर देखाई दिन्छु’ भन्नेले ‘मेरो क्षेत्रमा आएर चुनाव लडेर देखाउन’ चुनौती दिनु भएको हो ।

बाम गठबन्धनबाट नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीलाई ‘एकल महिला’ भन्दै गच्छदारले कमजोर ठानेर हेप्ने कोसिस नगर्न चुनौती दिँदै ‘भगवती चौधरीका पक्षमा सिङ्गो बाम गठबन्धन र नेपाली जनता रहेको जिकिर गर्नुभयो । ‘चार चौरस्ता डुलेर थकित भएर आएका व्यक्तिले हाम्री चेली भगवती चौधरीलाई जितेपनि हराई दिन्छु भन्छ भने, त्यो नसोचेपनि हुन्छ । त्यस्ता व्यक्तिले मेरो क्षेत्र यहीँ नजिक छ, आउनुस म सँग लडेर देखाउनुस् ।’ उहाँले निर्वाचन स्वतन्त्र र निष्पक्षरुपमा हुनुपर्ने जिकिर गर्दै कसैले राज्य संयन्त्र नै लगाएर विथोल्न खोज्छ भने अब जनताले नै त्यस्तालाई ठेगान लगाउने जिकिर गर्नुभयो । ‘राजाले गल्ती गर्दा त टपक्क टिपेर फालिदियौं भने, एउटा व्यक्तिले गल्ती गर्दा फ्याक्न के गाह्रो ?’ उहाँले अब देशमा बाम गठबन्धनको सरकार बन्ने दाबी गर्दै ‘लुटिखाने ठगिखानेहरुको दिन गए । अब जनताका दिन आए ।’ उद्घोष गर्नुभयो ।

 अध्यक्ष ओलीले गच्छदारको राजनीति समाप्त भएको दाबी गर्दै अब थारु र मधेसका नाममा राजनीति गर्ने दिन सकिएको बताए । उनले गच्छदारलाई गन्तव्य र सिद्धान्त विहिन व्यक्ति भएको ठोकूवा गरे । उहाँसँग कुनै भिजन छैन, सिद्धान्त छैन, गन्तव्य छैन, मात्र कसरी मन्त्री हुने ध्याउन्न मात्र छ । यस्ता व्यक्तिले समाजका लागि राष्ट्रका लागि केही गर्दैनन् । मङ्सिर २१ गतेपछि उनी रिटायर्ड हुन्छन् ।’ ओलीले केहीले वामपन्थीको सरकार आए मधेसमा नागरिकता खोस्ने, मधेसका समस्या हल नगर्ने गलत हल्ला फिँजाएको तर्क गर्दै नागरिकताका अब बन्ने बाम गठबन्धनको सरकारले कानुन नै बनाएर नागरिकता समस्या हलगर्ने बताउनु भयो । मधेसका समस्या, नागरिकताका समस्या, सुशासन, राष्ट्रिय स्वाभिमानका पक्षमा बाम गठबन्धन छ, कसैले गलत कुरा गर्छ भने, त्यस्ता कुराको पछि नलाग्नुस् ।’

राजनीति देश र जनताका लागि गरिने भन्दै नेपाली काँग्रेसले परिवार र आफन्तका लागि राजनीति गरिरहेको ओलीको तर्क थियो । ओलीले अहिलेको काँग्रेसको सरकार अन्तिम सरकार भएको ठोकूवा गर्नुभयो । सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधिसभा उम्मेदवार चौधरीमा जनताको सेवा गर्ने दृढ इच्छाशक्ति भएको भन्दै चौधरीले इमान र निष्टाको राजनीति गरेकोले सत्तामा गएर भ्रष्टाचार नगर्ने बताउनु भयो । ‘भगवती चौधरीले निष्टा र इमानको राजनीति गर्नुभएको छ, उहाँलाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाउने जिम्मा मेरो भो ।’ ओलीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनसभामा बोल्दै प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकास र संवृद्धिका आफू दिनरात लागि पर्ने बताउनु भयो । उहाँले एक पटक जनतालाई विश्वास गर्न आग्रह गर्दै विजयकुमार गच्छदार जनताको प्रतिनिधि बन्न नसकेको आरोप लगाउनु भयो । ‘२६ वर्षदेखि सत्तामा हुनुहुन्छ, विकास किन गर्नुभएन, जनताको प्रतिनिधि भन्नेले जनताका दुखः पिडा किन देख्न सकेन ?’

उहाँले आफूलाई एक पटक मात्र मौका दिए यो क्षेत्रलाई संबृद्धशाली बनाएर देखाउने भन्दै सत्तामा रहँदा राज्यले दिने सुविधा समेत उपभोग नगर्ने प्रतिबद्धता गर्नुभयो । ‘यहाँको विकास र संवृद्धिका लागि ५ वर्ष खुल्ला आँखाले हेर्नेछु, राज्यले दिने सेवा सुविधा पनि मलाई चाहिन्न ।’

जनसभामा बोल्दै अर्का उम्मेदवार प्रदेशसभा (ख)का रामदेव यादवले आर्थिक संबद्धि र परिवर्तनका लागि एक पटक बाम गठबन्धनको सरकार आवश्यक रहेको बताउनु भयो ।

जनसभामा बोल्दै माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले बाम गठबन्धनले नेपाली इतिहासमा नयाँ आयाम थपिएको जिकिर गर्दै २१ गतेको निर्वाचन पछि माओवादी–एमालेको एकता हुने बताउनु भयो । अहिले पुरातनवादी र यथास्थितिबादीका कारण राजनीतिक अस्थिरता बढेकोले देश विकास हुन नसकेको भन्दै नेता पोखरेलले अब राजनीतिक स्थिरता र देश विकासका लागि भनेर नै बाम गठबन्धन गरिएको दाबी गर्नुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य महबुव अन्सारीले नेपालमा बाम गठबन्धनको विकल्प नभएकोले अस्थायी सरकार हुँदा जनताको जिवनस्तर सुधार हुने विकास नभएको औल्याए ।

विशाल आमसभामा सो क्षेत्रका विभिन्न गाउँपालिका र नगरका दसौँ हज्जार जनताहरुको सहभागिता थियो । आमसभामा विशेषगरी महिला, बृद्धा तथा युवाहरूको उख्लेख्य उपस्थिति रहेको थियो । आमसभामा गायक बद्री पंगेनी, कलाकार बालकृष्ण सिग्देलले गीत गाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *