गच्छदारलाई हेक्का होस देशको नेतृत्व गर्ने राष्ट्रपति पनि एकल महिला हुन : भगवती चौधरी
“
मंसिर १३, सुनसरी । बहुचर्चित सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि वामपन्थी साझा उम्मेदवार नेकपा एमालेकी भगवती चौधरीले आफ्ना प्रतिद्धन्दी विजय कुमार गच्छेदारले जनता सम्म पुग्ने एजेण्डानै नपाएको बताएकी छन् ।
सुनसरीको बर्जु र सोनापुरमा भएको चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै चौधरीले गच्छेदारले विकासको एजेन्डा नपाएर बाख्रा पालनका लागि ऋण दिँदै हिँड्ने एकल महिलाले नेतृत्व गर्न सक्दैन भनेर कुरा गर्दै हिडेको बताइन । उनले भनिन्, “देशको उपप्रधानमन्त्रीलाई हेक्का हुनुपर्ने हो यो देशको राष्ट्रपति पनि एकल महिला हुनुहुन्छ । प्रधानन्यायाधिश पनि महिलाले कुशलतापूर्वक चलाइ सक्नु भएको छ । सभामुख पनि महिला भइसकेको देश हो नेपाल ।”
महिलालाई इज्जत नगर्नेले ५१ प्रतिशत महिलालाई कसरी न्याय दिन सक्छ ? उनले प्रश्न गरिन । उम्मेदवार चौधरीले भनिन मेरो उम्मेदवारी महिलाको नेतृत्व स्थापित गर्न हो, महिलालाई न्याय दिलाउन हो, समतामा आधारित समाज निर्माण गर्न हो ।” उनले युवालाई स्वरोजगार बनाउन आफूसँग विशेष योजना रहेको दाबी समेत गरिन । आफूले अवसर पाँए देशको जनशक्ति युवा वर्गले विदेशिनु नपर्ने अवस्था आफूले सृजना गर्ने बताइन ।
क्षेत्र नम्बर तीनमा प्राविधिक शिक्षालय स्थापना गरेर जनताका छोराछोरीले आफ्नै घरको खाना खाएर प्राविधिक शिक्षा अध्यन गर्ने वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता छ । उनले सुनसरी क्षेत्र नम्बर तीनका सबै वडालाई छुने गरी चक्रपथ निर्माण गर्ने, पाँच वर्ष भित्रमा कच्ची सडकलाई पक्कि बनाइसक्ने, एकघर एक रोजगार पुर्याउने, युवालाई व्यवसायी बनाउने योजना सुनाए ।
प्रतिनिधिसभामा ठूलादलबाट सुनसरीकै एकमात्र महिला उम्मेदवार चौधरीले आफूले अवसर पाँए पाँच वर्षमा सुनसरी ३ लाई देशकै नमुना बनाउने दाबी समेत गरिन । तीन नम्बर क्षेत्रका जनताकी छोरी भगवती चौधरी देशकै छोरी बन्न चाहन्छे एक पटक अवसर दिनुहोस उनले सबैसँग आग्रह गरिन ।
“