‘२६ वर्षमा गच्छदारले ठेकेदार मात्र उत्पादन गरे’ नेतृ चौधरी

मङ्सिर ११, सुनसरी । नेकपा एमाले बाम गठबन्धनकी साझा उम्मेदवार भगवती चौधरीले आफ्नो चुनावी कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानु भएको छ । सुनसरी क्षेत्र नं. ३ का लागि बाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि साझा उम्मेदवार बन्नु भएकी नेतृ चौधरीले मतदाता घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै आफ्नो पक्षमा जनमत सृजना गर्नुभएको छ ।

घरदैलो कार्यक्रम अन्र्तगत आज क्षेत्र नं. ३ को बुद्धचौक, सिमरिया क्षेत्रका वडामा विभिन्न टोलमा घरदैलो गर्दै उहाँले यस पटक परिवर्तन र विकासका लागि आफूलाई जिताउन आग्रह गर्नुभयो । पटकपटक एउटै व्यक्तिलाई सत्तामा पुर्याउँदा क्षेत्र नं. ३ को विकास हुन नसकेको भन्दै यस पटक नयाँ नेतृत्व आउनुपर्ने जिकिर गर्नुभयो । ‘तपाईहरुले जसलाई २६ वर्षसम्म विश्वास गर्नुभयो, यसले यो क्षेत्रको विकासका लागि केही गर्न सकेन । त्यस कारण यस पटक मलाई विश्वास गर्नुस्’ उहाँले भन्नु भयो ।

नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहनुभएकी नेतृ चौधरीले विजयकुमार गच्छदारले यो क्षेत्रमा उद्योग धन्दा सञ्चालन गर्नुको सट्टा टोलटोलमा ठेकेदार मात्र उत्पादन गरेको भन्दै जनताको विकासका लागि उद्यमशिलता र व्यावसायिक सिप विकास गर्नुपर्ने औल्याउनु भयो । ‘सत्तामा रहेर जनताका लागि सोच्नु पर्नेथियो । तर, उहाँले २६ वर्षमा जनताका आधारभूत विकासका लागि केही गर्नुभएन ।’ उहाँले भन्नु भयो ।
घरदैलो कार्यक्रममा जनताले नेतृ चौधरीलाई शिक्षा, स्वास्थ्य, गुणस्तरीय सडक जस्ता विकासका कुरा माग गरेका थिए ।

  स्थानीय डुमराहाकी रामदेवी ऋषिदेवले गरिब, अल्पसंख्यक, दलित समुदायको विकासका लागि नेताहरूले सोच्नुपर्ने भन्दै चुनावका बेला मात्र घरघरमा नेताहरू आउँदा आफुहरुलाई नेताहरूले काम गर्छन् भन्नेमा विस्वासै नरहेको बताइन् । उनले गत साउनमा आएको विनाशकारी बाढीका कारण सो क्षेत्रमा धेरै जनधनको क्षति हुँदा समेत कुनै नेताहरू सहयोगको लागि नआएको भन्दै आक्रोस व्यक्त गरिन् ।

अर्की स्थानीय महिला ठकुनी चौधरीले गच्छदारले अहिलेसम्म गरिब किसानका लागि केही गर्न नसकेको भन्दै गाँसबास र कपासको व्यवस्था गर्नुपर्ने बताइन् । उनले गाउँघरमै बालबालिकाले उच्च शिक्षा हासिल गर्नका लागि सुविधा हुनुपर्ने, किसानका लागि सहुलियत दरमा मल, विउ लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध गराउनुपर्ने बताइन् ।

घरदैलो कार्यक्रम अन्र्तगत दुहवी १०, सिमरियाका मतदातासँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो ।

सुनसरी क्षेत्र नं. ३ का लागि बाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेतृ चौधरी र प्रदेश सभा (ख) का लागि रामदेब यादवको उम्मेदवारी रहेको छ भने, सोही क्षेत्रको (क) बाट इटहरीका लिलम बस्नेतको उम्मेदवारी रहेको छ । नेकपा एमालेले यस पटक क्षेत्र नं. ३ मा बहुमत हासिल गर्ने गरी आन्तरिक तयारी गरेको छ । नेकपा एमालेका उम्मेद्वारसँग नेपाली काँग्रेसका उम्मेद्वारको प्रतिस्पर्धा देखिएको छ । यो क्षेत्रबाट नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेतृ चौधरीसँग प्रतिस्पर्धा गर्दैछन् । गच्छदार दोस्रो संविधानसभा निर्वाचनमा नेतृ चौधरीसँग झिनो मतान्तरले विजयी भएका थिए । विगतमा नेतृ चौधरीलाई सड्यन्त्रपूर्वक पराजित गरेका गच्छदारसँग स्थानीय मतदाता रिसाएका छन् । उनीहरूले यस पटक खुलेरै नेतृ चौधरीलाई बहुमत दिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *