कांग्रेसकाे गठबन्धन लुटतान्त्रिक

मङ्सिर १०, सुनसरी । नेकपा एमालेका सचिव एवं सुनसरी क्षेत्र नं १ प्रदेशसभा ख का बाम गठबन्धनका उम्मेदवार भीम आचार्यले काँग्रेस नेतृत्वको गठबन्धन लोकतान्त्रिक नभई लुटतान्त्रिक गठबन्धन भएको बताएका छन् ।

धरानको वडा नं २० स्थित विष्णुपादुका टोट्केमा आज घरदैलो पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले काँग्रेसले २०४६ सालयता २ पटक बहुमतको सरकार बनाए पनि देश र जनताको लागि केही नगरी लुटतन्त्र मात्र चलाएको बताए ।

बरु एमालेको अल्पमतको सरकार हुँदा आफ्नाे गाउँ आफै बनाऊ कार्यक्रम ल्याएर गाउँ गाउँमा बजेट पुर्याएको, विधुवा तथा वृद्धा भत्ता दिएकोजस्ता जनप्रिय र विकासको कार्यक्रम ल्याएको उनले बताए ।

काँग्रेसले भने जहिल्यै पनि सत्तामा बसेर देश र जनतालाई लुटेको भन्दै नेता आचार्यले अहिलेको गठबन्धन पनि लोकतान्त्रिक नभई लुटतान्त्रिक भएको आरोप लगाए । ‘काँग्रेसको गठबन्धन लोकतान्त्रिक होइन, लुटतान्त्रिक हो । उनले भने ।

काँग्रेस सत्तामा बसेर लुट्ने, खानेबाहेक केही पनि गरेन र अब पनि गर्दैन । जनतालाई पनि चुनावको बेला मात्र पैसा बाड्ने, खुवाउने पिलाउने गर्छ, ’प्रदेशसभा(ख) का उम्मेदवार आचार्यले भने, ‘त्यसैले देशको विकास गर्न, रोजगारी र आर्थिक समृद्धि ल्याउन बाम गठबन्धनलाई जिताउनुस्, प्रदेश र केन्द्रमा बहुमतको सरकार बनाउछौं, तपाईहरुले भनेको काम गछौं ।’

विगतमा एमाले होस वा माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकार होस्, राम्रो काम गर्न खोज्यो कि षडयन्त्र गरेर सरकार ढाल्ने गरेकोले अब ५ वर्षसम्म बामपन्थीहरुको बहुमतको स्थिर सरकार बनाउन जनताले मत दिएर जिताउन पनि आचार्यले आग्रह गरे । काँग्रेसले विगतमा २ पटक बहुमतको सरकार बनाउँदा के गर्‍यो भनेर प्रश्न गर्न पनि आचार्यले मतदाताहरुसँग आग्रह गरे ।

आफू निवार्चित भएर गएपछि विष्णुपादुका, बराहक्षेत्रको बाटो, खानेपानी व्यवस्थापन, मन्दिर व्यवस्थापन, बिजुलीलगायत पूर्वाधार विकासमा बजेट हालेपनि पर्याप्त नभएको बारे आफू जानकार भएको उनले बताए । ‘म २ पटक जितेर संविधानसभामा गए, तर त्यति बेला संविधान निर्माण गरेर जनतालाई अधिकार सम्पन्न गराउनु मुख्य कार्यभार थियो । अब ती कार्यभार सकिएको छ र जनतालाई विकास, समृद्धि दिनुछ ।

यो चुनाव पछि बामपन्थीहरुको बहमुतको सरकार बनाएर ती सबै अधुरा काम पुरा गछाै,’ आचार्यले भने, ‘रोजगारी सृर्जना गर्ने, कृर्षिमा आत्मनिर्भर बनाउने, खानेपानी र बाटो पुरा गर्ने, भञ्ज्याङ र रमिते डाडा आउने बाटोमा सर्दुमा पुल हाल्ने काम अबको ५ वर्ष भित्रमा पुरा हुन्छ ।’

प्रदेश नं १ को भावी मुख्यमन्त्रीको रूपमा पनि चर्चामा रहेका नेता आचार्यले अबको ५ वर्ष भित्र पर्याप्त बिजुली उत्पादन गरेर गाडी, रेल, चुलोलाई सबै नेपालीहरूले विद्युतीय रूपमा उपभोग गर्न सक्ने अवस्थामा पुर्‍याउने बाम गठबन्धनको योजना रहेको बताए । उनले भने,‘५ वर्ष भित्र ग्याँसको विकल्पमा विद्युतीय चुलो हुन्छ । गाडी बस पनि विद्युतबाटै चल्ने हुन्छ । पुर्वपश्चिम राजमार्ग, जोगवनीदेखि किमाथांकासम्म, रक्सौल विरगञ्जबाट हेटौडा, सुनौली भैरहवादेखि बुटवल सबैतिर विद्युतीय रेल चल्छन्, र देश आर्थिकरुपमा समृद्ध बन्छ ।’

यसैबिच सुनसरी क्षेत्र नं १ मा प्रतिनिधि सभाका बाम गठबन्धनका साझा उम्मेदवार जयकुमार राईले भारतले नेपालविरुद्ध नाकाबन्दी लगाउदा ‘नाकाबन्दी नै छैन’ भन्नेहरु अहिले लोकतान्त्रिक गठबन्धनको नाममा जनतालाई ढाट्दै भोट माग्न आइरहेको बताए । विष्णुपादुकामा आयोजित चुनावी कोणसभामा बोल्दै उम्मेदवार राईले जनता पेट्रोल, ग्यास, डिजेल नपाएर हाहाकार भइरहँदा नाकाबन्दी छैन भन्ने जनघाती काँग्रेस, समाजवादी फोरम पार्टीलाई जनताले कुनै हालतमा साथ नदिने बताए ।

‘हिजो केपी ओली नेतृत्वको सरकार हुँदा ६ महिना नाकाबन्दी भारतले लगायो । जनता पेट्रोल, ग्यास नपाएर छटपटि रहँदा काँग्रेस, फोरमले नाकाबन्दी नै छैन भन्यो । यस्तो जनघाती पार्टीहरूलाई जनताले किन भोट दिने ?’उम्मेदवार राईले भने । उनले विष्णुपादुका, बाराहक्षेत्र, भरौल, बक्लौरी लगायतका सबै धार्मिक, सांस्कृतिक, पुरात्तात्विक क्षेत्रहरुको व्यवस्थापन र संरक्षण गरेर पर्यटनको केन्द्र बनाउने पनि घोषणा गरे । विष्णुपादुकामा एकीकृत पर्यटन योजना बनाउने, गोर्खा स्मृति पार्कको विकास गर्ने, सुर्यकुण्डमा भ्यु टावर बनाउने, विष्णुपादुकालाई जैविक मह, अदुवा, बेसार र अकबरे खोर्सानीको जोनमा प्रर्वद्धन गर्ने पनि योजना सुनाए ।

‘सही ठाउँमा टेलफोन टावर बनाउछौं, आधुनिक कृर्षि बजारको व्यवस्था गछौं । पर्यटकीय चक्रपथ व्यवस्थित गछाै, खानेपानी आयोजना सञ्चालन र कार्यान्वयन गछाै,’उम्मेदवार राईले भने,‘साविक स्वास्थ्य चौकीहरुको स्तरोन्नती गर्ने, सडकको सञ्जाल बनाउनेछौं, बाख्रापालन, पशुपंक्षी पालन, बंगुरपालनको पकेट क्षेत्र पनि बनाउछौं । यी सबै प्रतिबद्धता पत्रमा छ, त्यो पुरा गछौं ।’

माओवादी केन्द्रकी प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार उमिता बराइलीले पनि विगतमा बामपन्थीहरुको सरकारले लोकप्रिय काम गरे पनि बहुमत नहुँदा निरन्तरता पाउन नसकेको बताइन् । बाम गठबन्धनले बहुमतको सरका बनाएर ५ वर्षमा देशलाई समुन्नत र विकसित बनाउने उनको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *