पराजयको डरले गच्छेदार कांग्रेस प्रवेश गरेको भगवति चौधरीको दाबी
“
मङ्सिर ४, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा वाम गठबन्धनकी उम्मेदवार भगवति चौधरीले पराजयको डरले गच्छेदार काग्रेस प्रवेश गरेको बताएकी छन् । सत्तेरझोरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले क्षेत्र नम्बर तीनका जनताले परिवर्तन चाहेकाले २२ औ वर्षदेखिको एकल सर्वसत्तावाद ढल्ने दाबी समेत गरिन ।
हार्न लागेकोले विपक्षीले महिलाले नेतृत्व गर्न नसक्ने भनेर आफूविरुद्ध कुप्रचार गर्न थालेको उनको भनाई छ । उनले त्यस किसिमका अफवाहहरुलाई गाउँ गाँउका जनताले परास्त गर्ने बताइन । सुनसरी क्षेत्र नम्बर तीनको विकास र सम्वृद्धिका लागि आफूले कुनै कसर बाँकी नराख्ने चौधरीले प्रतिबद्धता जनाइन । कार्यक्रममा बाेल्ने वाम गठबन्धनका नेताहरूले सुनसरी क्षेत्र नम्बर ३ मा दशकौ देखी जनताको इच्छा चाहाना अनुसारको काम हुन नसकेकाले आउँदा दिनहरूमा जनताको भावना अनुसार विकासका काम गरेर देखाउने प्रतिबद्धता जनाएका थिए ।
उनीहरूले जनतालाई झुक्याउने, प्रलोभनमा पार्ने खेल अब अन्त्य हुने बताए । कार्यक्रमलाई सुनसरी निर्वाचन क्षेत्र नं. ३(२) का प्रदेश सभाका उम्मेदवार रामदेव यादव, एमालेका सुनसरी अध्यक्ष रमेश बस्नेत, जिल्ला सदस्य फनिलाल चौधरी, शिव प्रसाद दंगाल, रोहित कार्की र कुशेश्वर खेरवार लगायतले सम्बाेधन गरेका थिए ।
कार्यक्रममा सङ्घीय समाजवादी फोरम युवा सङ्घका जिल्ला अध्यक्ष लव कुमार यादवको नेतृत्वमा सदस्यहरू जगदिस यादव, रामचन्द्र साह, राज कुमार यादव, उमेश यादव, बौवा लाल यादव, लक्ष्मी मेहता, गणेश यादव लगायत सयजना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । उनीहरूलार्इ चौधरीले अबिर लगाएर पार्टीमा स्वागत गरेकी थिइन । पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने व्यक्तिहरूले सुनसरी क्षेत्र नम्बर तीनको सम्वृद्धि र विकास भगवति चौधरीको नेतृत्वमा मात्र हुन सक्ने विश्वासमा एमाले प्रवेश गरेको बताएका थिए ।
“