मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बाथ रोग के हो ? कसरी बच्न सकिन्छ

मङ्सिर ३, काठमाडाैं । बाथरोग एक प्रकारको ‘अटोइम्युन डिजिज’ हो । अर्थात् शरीरको रोग निरोधक शक्तिले शरीरकै अङ्गलाई असर गर्दा बाथरोग हुने गर्छ । सामान्य अर्थमा भन्नुपर्दा बाथ एउटा दीर्घकालीन रोग हो । यो रोग लागि सकेपछि पूर्ण रूपमा निको हुन सम्भव छैन । तर, यसलाई समयमै पत्ता लगायौं र उपचार भयो भने धेरै समस्याबाट जोगिन सकिन्छ । कतिपय बाथ वंशाणुगत कारणले पनि हुन्छ । तर, बाथ सरुवा रोग भने होइन ।

आम मानिसमा बाथ भन्ने बित्तिकै ‘युरिक एसिड’ मात्र हो भन्ने भ्रम छ । युरिक एसिड बाथको एउटा प्रकार मात्र हो । जबकि बाथका सयभन्दा बढी प्रकार छन् । तर, बिरामीलाई बुझाउने हिसाबमा यसलाई मुख्य तीन भागमा बाँड्ने गरिन्छ । पहिलो, ‘ओस्टियो आरथाइटिस’ अर्थात् हड्डी तथा जोर्नी खिइने बाथ । दोस्रो, युरिक एसिड र तेस्रो, अटोइम्युन बाथ हो । आफ्नै शरीरले आफ्नै शरीरलाई नचिनेर बिगार गर्ने बाथलाई अटोइम्युन बाथ भनिन्छ । यसलाई हामी कडा रोगको बाथ पनि भन्छाै ।

ओस्टियो आरथाइटिस विशेषगरी उमेर बढ्दै जाँदा जोर्नी तथा हड्डी खिइँदा लाग्ने गर्छ । बढ्दो उमेरसँगै देखा पर्ने यो बाथ मोटा मानिसमा र महिलामा बढी देखिन्छ । उमेर बढ्दै जाँदा जोर्नीमा रहेको कुरकुरे हड्डी खिइएर नष्ट हुँदै जाँदा ओस्टियो आरथाइटिस हुन्छ । यस किसिमको बाथले घुँडा, गर्दन, कम्मरको मेरुदण्ड, खुट्टाको बुढी औंलाको फेद, हातका औंलाहरु तथा नितम्बको जोर्नीमा असर पार्छ ।

हड्डी खिइएर बाथरोग हुने भएका कारण यसमा हिँडडुल वा चलमल गर्दा घुँडा, औंलाहरु, नितम्ब, गर्दन र ढाड दुख्ने जस्ता लक्षण देखिन्छ । उमेर र मोटोपनासँगै शरीरमा पोषण तत्त्व, क्याल्सियम, भिटामिन ‘डी’को कमी तथा थाइराइडका कारणले बाथ लाग्ने गर्छ। यस्तै, महिनावारी सुकेपछि हर्मोनको परिवर्तनका कारण पनि महिलामा ओस्टियो आरथाइटिस बढी हुने गर्छ । त्यस अघि पोषणको अभावका कारण पनि महिलामा यो बाथ देखिन्छ ।

युरिक एसिड बाथ भनेको रगतमा युरिक एसिडको मात्रा बढी भएर उत्पन्न हुने समस्या हो । युरिक एसिड शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो । रगतमा युरिक एसिडको मात्र बढ्दै जाँदा गोडाको बुढी औंला वरपर र पछि अन्य भागमा पनि जोर्नी दुख्छ । तर, आम मानिसमा शरीरका कुनै हड्डी तथा ठुला जोर्नी दुख्यो भने पनि युरिक एसिड नै भयो भन्ने भ्रम छ । सबै जोर्नीका दुखाइ युरिक एसिड हुँदैनन् । यसको सुरुवात विशेषगरी बुढी औंला वरपरका जोर्नीबाट हुन्छ । त्यसपछि मात्र अन्यत्र बढ्ने हो । यसमा जोर्नीमा युरिक एसिडको मात्र जम्दै जाने हुन्छ र एक्कासि दुख्ने, सुन्निने, रातो हुँदै जाने हुन्छ । युरिक एसिडले एक्कासि लक्षण देखाउने भएकाले असाध्यै दुखाउँछ । यो रोग बढ्दै गएमा जोर्नी बिग्रिने, बांगिने, युरिक एसिडका डल्ला ठाउँठाउँमा जम्ने र मिर्गौलाको काम बिग्रने तथा मिर्गौलामा पत्थरी समेत हुन सक्छ ।

यसमा माछा, मासु, अन्डा, गेडागुडी, गोलभेँडाको गुदी, खुर्सानीको गुदी, पालुङ साग, च्याउ, कुरिलो, रातो मासु, दही, दूधजन्य पदार्थ खानु हुँदैन । साथै, मदिरा र धूमपान सेवन पनि गर्नु हुँदैन । दूध पिउने नै हो भने पनि तर काटेर मात्र पिउनुपर्छ । मुख बारेर एवम् समयमा औषधि खाएर युरिक एसिड नियन्त्रण गर्न सकिन्छ ।

अटोइम्युन बाथले चाहिँ आँखा, मुटु, मिर्गौला, छाला बिगार्नुका साथै जोर्नी र मांशपेशी समेत बिगार्ने काम गर्छ । यो बाथले कपाल पनि झार्ने गर्छ । समयमै उपचार नभए यी अङ्ग बिगार्नुका साथै जोर्नी बांगिने, छालाका कारण मुख खोल्न नसक्ने जस्ता समस्या आउँछन् । यो बाथका सयभन्दा बढी प्रकार छन् । सबैको उपचार फरक छ । समयमै उपचार नहुँदा ज्यानै खतरामा पर्न सक्छ । यसलाई नियन्त्रण गर्न अहिले नयाँ नयाँ इन्जेक्सन आएका छन् । यो बाथमा क्यान्सरका लागि चाहिने औषधि पनि चलाउनुपर्ने हुन्छ ।

सामान्यतया सबै बाथको साझा लक्षण भनेको शरीरका जोर्नीहरु दुख्ने वा सुन्निने हो । त्यसपछि क्रमशः अन्य अङ्गमा असर हुने हो । बाथरोगको लक्षण बाथले असर गरेको अङ्ग अनुसार फरक फरक हुन्छ । लक्षण र कुन प्रकारको एन्टीबडी रगतमा देखिन्छ त्यसका आधारमा यो रोगको वर्गीकरण गरिन्छ । बाथरोग नियन्त्रणका लागि लक्षण एवं एन्टीबडीको संलग्नताका आधारमा मूल्याङ्कन गरी उपचार विधि अपनाइन्छ । ल्याब परीक्षण गरेर मात्र बाथरोग हो/होइन पत्ता लगाउन सकिन्छ ।

यी बाहेक नेपालमा प्यालोटोइड आरथाइटिस (गठिया बाथ), र्‍युमाटाइड आरथाइटिस, स्पोन्डिलो आरथाइटिस (ढाडको बाथ), लुपस, स्क्लेरोडर्मा (छाला बाक्लो हुने बाथ), जुभेनाइल आरथाइटिस (केटाकेटीमा हुने बाथ) जस्ता अन्य प्रकारका बाथ पनि देखिन्छ ।

प्यालोटोइड आरथाइटिस (गठिया बाथ)

गठिया बाथले मुख्यतः हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । गठिया बाथ पुरुषमा भन्दा महिलामा बढी देखिने गर्छ । महिलामा महिनावारी सुकेपछि र पाठेघर फालेपछि बाथरोग हुने सम्भावना बढी हुन्छ । सुरुमा ३० वर्षको उमेरदेखि यसको लक्षण देखिन्छ र ४० वर्ष काटेपछि बाथरोग लाग्ने सम्भावना बढी हुन्छ ।

र्‍युमाटाइड आरथाइटिस

यो वयस्क तथा बढ्दो उमेरमा देखिने र लामो समयसम्म रहिरहने कडा बाथ हो । यो पुरुषको तुलनामा महिलामा बढी देखिन्छ । रोगको सुरु अवस्थामा हातगोडाका जोर्नीहरु (हातगोडाका औंला, नाडी, कुहिनो, कुम, घुँडा र गोलीगाँठा) दुख्ने, सुन्निने र अह्ररो हुन्छ । जसले बिहानीपख धेरै सताउँछ भने दिउँसो घाममा सहज हुँदै जान्छ । रोग छिप्पिदै गएपछि भने हातगोडाका जोर्नीहरु जाम हुने, बांगिने, बिग्रिने र काम नलाग्ने हुन्छन् ।

स्पोन्डिलो आरथाइटिस (ढाडको बाथ)

ढाडको बाथ ढाडका जोर्नीहरु सुन्निएर हुने एक दीर्घ रोग हो र यसले फिलाभित्रको जोर्नी, ढाँड, गधर्न र कहिलेकाहीँ नितम्ब, कुम र हातगोडाका ठुला जोर्नीहरु दुख्ने, सुन्निने गराउँछ । यो बाथ प्रायः ४० वर्षको उमेरअघि नै सुरु हुन्छ र यसले पुरुषलाई बढी मात्रामा असर गर्छ। यसले एक तिहाइ बिरामीका आँखामा असर गरी युमिटाइटिस (आँखा दुख्ने रातो हुने, घाममा खेर्न गाह्रो हुने) गराउन सक्छ । धेरैजसो बिरामीमा यो बाथ हुनुमा ‘एचएलएबी ट्वान्टी सेभेन’ नामक वंशाणुको भूमिका हुन्छ । जसका कारण सन्तानमा पनि यो रोग जान सक्छ ।

लुपस

यो विशेषगरी जवान उमेरका मानिस र महिलामा सुरु भई लामो समयसम्म रहने दीर्घ बाथरोग हो । यसमा अनुहार र शरीरका अन्य भागको छालामा दाग आउने, मुखमा घाउ आउने, जोर्नी तथा मांसपेशी दुख्ने, सुन्निने र अह्ररो हुने, कपाल झर्ने, ज्वरो आउने लगायतका लक्षण देखिन्छ । यो रोग कडा भएमा मिर्गौला, मुटु, फोक्सो, रगत तथा स्नायु जस्ता महत्त्वपूर्ण अङ्गमा असर गरी ज्यानै जोखिममा पर्न सक्छ ।

स्क्लेरोडर्मा (छाला बाक्लो हुने बाथ)

बढ्दो उमेरमा देखिने यो बाथ महिलालाई बढी हुने गर्छ । यसमा हातगोडा र अनुहारको छाला बाक्लो हुने, दुख्ने, सुन्निने जस्ता लक्षण देखिन्छन् । चिसो पानी छुँदा हातगोडाका औंला क्रमशः सेतो, निलो र रातो हुने गर्छ । स्क्लेरोडर्माका कारण छालामा मात्र नभई रगतका नसा, फोक्सो, मिर्गौलामा असर गरी औंलामा घाउ आउने, छाती पोल्ने, दम बढ्ने र मिर्गौला फेल गराउनेसम्म हुन सक्छ । चिसोले रोग बढ्न सक्ने भएकाले यो रोगका बिरामीले बाक्लो पन्जा, मोजा लगाउनु आवश्यक छ ।

जुभेनाइल आरथाइटिस (बालबालिकामा हुने बाथ)

बालबालिकामा हुने बाथ मुख्य दुई किसिमका हुन्छन् । मुटुको बाथ ज्वरो (र्‍युमटिक फिभर ) र जुभेनाइल आरथाइटिस । जुभेनाइल आरथाइटिसमा बालबालिकाको हातगोडाका जोर्नी दुख्ने, सुन्निने, हिँडडुल गर्न नसक्ने, ज्वरो आउने, छालामा विभिन्न दाग आउने, आँखामा असर गर्ने जस्ता लक्षण भेटिन्छ। समयमै पहिचान गरी औषधि प्रयोग भएमा रोग बढ्न पाउँदैन र हातगोडाका जोर्नीहरु बिग्रन वा बांगिन पाउँदैनन् ।

नेपालमा कति छन् बाथरोगी ?

नेपालमा बाथका कति बिरामी छन् भन्ने यकिन तथ्याङ्क छैन । तर, अस्पतालमा उपचारका लागि आएका बिरामीको अवस्थालाई हेर्दा हड्डी खिइएर हुने बाथ र युरिक एसिड बाथका बिरामी धेरै छन् । अमेरिकन कलेज अफ र्‍यामाटोलोजिस्टको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको १० प्रतिशतलाई बाथरोग लाग्न सक्छ । यसलाई आधार मान्ने हो भने, नेपालमा करिब ३० लाखमा बाथरोग छ भन्ने अनुमान गर्न सकिन्छ ।

बाथरोगका साझा लक्षण

  • हातका औंलाहरु दुख्ने वा सुन्निने
  • बिहान उठ्ने बेलामा हात–खुट्टा अह्ररो हुने
  • गोलीगाँठो दुख्ने वा सुन्निने
  • राती तथा बिहान ढाड दुख्ने वा अह्ररो हुने
  • पिँडौला दुख्ने वा करकर खाने
  • खुट्टाको औंला वरिपरि रातो भएर टेक्न नहुने
  • कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने
  • घुँडा सुन्निने वा दुख्ने आदि।

कसरी पत्ता लगाउने बाथरोग ?

बिरामीमा देखिने लक्षण र जोर्नीहरूको जाँच गर्ने बित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ । कहिलेकाहीँ बाथरोग कति कडा छ वा कुन प्रकारको हो भन्ने बुझ्न रगत परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ । धेरै पुरानो रोग तथा औंलाहरू बांगो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन । नेपालमा अलिअलि जोर्नी दुख्यो भने पेनकिलर खाने, युरिक एसिड भयो भनेर बस्ने चलन बढी देखिन्छ, यो एकदम गलत प्रवृति हो ।

बाथरोगलाई बेवास्ता गर्यो‍ भने मृत्यु पनि हुन सक्छ । तर, बाथरोगलाई समयमै उपचार गरेर निको बनाउन सकिन्छ । जटिल प्रकारको बाथरोग लाग्यो भने, यसको उपाचार एकदमै महँगो हुनुका साथै पूर्ण निको पार्न गाह्रो हुन्छ ।

बाथरोगबाट बच्ने उपाय

मेडिकल साइन्सले बाथरोग लाग्नै नदिने उपाउ अहिलेसम्म पत्ता लगाउन सकेको छैन । परिवारका कुनै सदस्यलाई बाथरोग भएमा अन्य सदस्य सतर्क हुनुपर्छ । डेढ महिनादेखि तीन महिनाभित्रमा बाथरोग भएको पत्ता लागेमा ‘सेकेन्डरी प्रिभेन्सन’ अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्छ ।

प्रतिकृयाहरु
Loading...