तीन सय ८३ जनाको निशुल्क मृगौला परीक्षण
“
मंसिर ३, स्याङ्जा । स्याङ्जाको वालिङमा शनिबार निशुल्क मृगौला परीक्षण राखिएको छ । वालिङ ४ एलादी स्वास्थ्यचौकीमा भएको शिविरमा ३८३ जना लाभान्वित भएका छन् ।एलादी स्वास्थ्य चौकीको आयोजना, आँधीखोला तमु समाज काठमाडौँको संयोजन, रोटरी क्लब अफ दी हिमालयन गोर्खा काठमाडौँको प्रायोजन र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर तथा आरज्ञ प्रतिष्ठान पुल्चोक ललितपुरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
मिर्गौला परीक्षण गरिएकामा धेरैजसोमा प्रेसर र सुगर भेटिएकाले खानपानमा विशेष ध्यान दिन मिर्गौला रोग विशेषज्ञ सन्तोष गुरुङको सुझाव छ । परीक्षण गरिएकामध्ये मिर्गौलासम्बन्धी जटिल समस्या नदेखिए पनि मिर्गौलाको परीक्षणसँगै यसलाई जोगाई राख्नका लागि अपनाउन सकिने उपायका बारेमा पनि सचेत गराएको गुरुङले बताए ।
ग्रामीण इलाकामा आएर मिर्गौलासम्बन्धी परीक्षण शिविर राखेकाले आफूहरुको खर्च नहुने, समयको बचत हुने र आफ्नै गाउँ ठाउँमा उपचार तथा परामर्श सेवा पाउँदा स्थानीयवासी निक्कै हर्षित भएका एलादी स्वास्थ्य चौकीका प्रमुख शार्दुल अर्यालले बताए ।
“