बौद्धिक वैरीको घेरामा बाबुराम: भट्टराईका विपक्षमा बुद्धिजीवी खनिएपछि

काठमाडौं, मंसिर ३ । बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भयो । चुनावको एक साताअघि उनीसँग वैचारिक युद्ध गर्न योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा, चीनका लागि पूर्वराजदूत महेश मास्केलगायत ११ वाम बुद्धिजीवी खडा भएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

शनिबार वक्तव्य जारी गर्दै उनीहरूले गोरखाका ‘पारखी जनतालाई अवसरवादी चिन्न अपिल’ गरे । नयाँ शक्ति पार्टी संयोजक भट्टराई गोरखा-२ मा माओवादी नेता नारायणकाजी श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै छन् । दुई वर्षसम्म एउटै पार्टीका दुई उपाध्यक्षमध्ये हाल श्रेष्ठका पक्षमा र भट्टराईका विपक्षमा वाम बुद्धिजीवीको वक्तव्यले गठबन्धनमय चुनावी अभियानलाई नयाँ मोड दिएको छ ।

‘डा. भट्टराई माक्र्सवादी विचारधाराका पक्षधर मात्रै नरहेका होइनन्, उनका पछिल्ला गैरराजनीतिक र सिद्धान्तहीन मन्तव्यहरूबाट उनी अवसरवादको प्रतिनिधिपात्र बनेका छन् भन्ने हाम्रो ठम्याइ हो,’ वक्तव्यमा भनिएको छ, ‘गोरखाका पारखी जनताले यसप्रकारका अवसरवादीलाई पहिचान गरी सही निर्णय गर्ने हामीले अपेक्षा गरेका छौं ।’ वक्तव्यमा वाम गठबन्धनलगायत समग्र विषय समेटिए पनि भट्टराईका विपक्षमा बुद्धिजीवी खनिएपछि अन्य विषय छायामा परेका छन् ।

असोज १७ गते एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँगै राष्ट्रिय सभागृहमा वाम एकतासम्म पुग्ने गरी चुनावी गठबन्धन गर्ने संकल्प गरेका भट्टराई केही दिन नबित्दै कांग्रेससँग तालमेल गर्न पुगे । यसअघि वैशाख र जेठको स्थानीय चुनावमा कांग्रेससँग तालमेल गर्ने पालोमा माओवादी पार्टी थियो, जसलाई वाम बुद्धिजीवीहरूले अहिलेको जस्तो ‘सैद्धान्तिक महत्व’ दिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =