अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउ गर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताएका छन् । उनले भने, मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठुलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन ।

ट्रम्प करिब दुई हप्ताको एसिया भ्रमणपछि मङ्गलवार मात्र अमेरिका फर्फेका हुन् । बुधवार अमेरिकी एक टेलिभिजनमा दिएकाे वक्तव्यमा उनले सो धारणा राखेका हुन् । उनले आफ्नो एसिया भ्रमणबाट उत्तर कोरियाका विरुद्धमा जनमत निर्माण गर्न सघाउ पुगेको पनि सो सम्बोधनका बताएका थिए ।

आफ्नो २५ मिनेट लामो टेलिभिजन सम्बोधनका क्रममा उनले पटक पटक पानी पिएका थिए र त्यति नै पटक उत्तर कोरियाको विरोधमा आफ्नो भ्रमणको अनुभव पनि सुनाएका थिए ।

उनले एसियाका पाँच देश दक्षिण कोरिया, जापान, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गरेका थिए । उनले १२ दिनसम्म लगातार ती देशको भ्रमण गरेका हुन् । उनले सो सम्बोधनमा भने जस्तै एसिया भ्रमणमा उत्तर कोरिया नै प्रमुख विषय बनेको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमलाई उनले विभिन्न देशमा बोल्ने क्रममा निकै आलोचनात्मक टिप्पली गरेका थिए ।

विश्वले शान्ति र समृद्धि खोजिरहेको बेला उत्तर कोरियाले भने आणविक क्षेप्यास्त्रको होडबाजी चलाएको भन्दै उत्तर कोरियाली शासकलाई क्रुर र तानाशाहको संज्ञा पनि उनले दिए । उनले आफू पुगेका प्रत्येक स्थानमा त्यहाँका नागरिकले आफू र अमेरिकी नागरिकलाई ठुलो सम्मान र सद्भाव दर्साएको अनुभव पनि सो अवसरमा व्यक्त गरेका थिए ।

साथै, ती देशका जनताले उत्तर कोरियाको आणविक होडबाजीको पछिल्लो क्रियाकलापको पनि कडा शब्दमा निन्दा गरेको अनुभव पनि उनले सो सम्बोधनका क्रममा व्यक्त गरेको समाचारमा जनाइएको छ ।

सोही कारण पनि अहिले समग्र विश्व नै अमेरिकी नागरिकको साथमा रहेको, उत्तर कोरियाको सो क्रियाकलापको विरुद्धमा रहेकोले अब उसको हतियार र आणविक क्षेप्यास्त्रको दादागिरी नचल्ने निष्कर्ष आफूले निकोलेकाे बताएका थिए ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न दक्षिण कोरियाबाट आह्वान समेत गरेका थिए । त्यसपछि भने उनी उत्तरको निकै आलोचक बने ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाको संसद्मा गरेको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गरेका थिए । पछि उनले चीन भ्रमणका क्रममा पनि कोरियाली प्रायद्वीपको मुद्दाका बारेमा समन्वय गर्न चिनियाँ राष्ट्रपति सी चिनीफङलाई पनि आग्रह गरेका थिए ।

सो आग्रहपछि राष्ट्रपति सी चिनफिङले पनि कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्दामा चीनले अमेरिकासँग समन्वय गर्ने बताएको समाचारमा जनाइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि राष्ट्रपति सिले भनेका थिए, ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसमा काम गर्न तयार छौँ ।

बिहीबार भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि समस्या बनेकोले समाधानका लागि पहल गर्न चीनलाई आग्रह गरेकाे बताइएको थियो ।

उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोपूर्ण रूपमा हेरिएको छ । उनीहरुबीचको सो सहकार्यले आगामी दिनमा उत्तर कोरियाको यो आणविक होडको वातावरणमा परिवर्तन आउन पनि सक्ने अनुमानहरु गरिएका छन् । एएफपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *