युएईविरुद्धको खेलका लागि खेलाडी छनोट, प्रारम्भिक चरणमा को को परे ?

कात्तिक २३, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँगको खेलका लागि नेपालले प्रारम्भिक चरणमा २८ खेलाडी छनोट गरेको छ । च्याम्पियनसिपको अन्तिम चरणको खेलमा नेपालले युएईसँग उसैको मैदानमा आगामी डिसेम्बरमा दुई खेल खेल्नेछ । नेपाल र युएईबिचको खेल ६ डिसेम्बर र ८ डिसेम्बरमा हुने छ ।

नेपाली टोलीको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ । बन्द प्रशिक्षणबाट युएईसँग खेल्ने अन्तिम चरणको खेलाडी छनोट गरिने छ । आइसीसीका प्रतिनिधि इस्लाम, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले बोलाएको २८ खेलाडीमध्ये २६ खेलाडीको मात्र नाम सार्वजनिक गरिएको छ । दुई खेलाडी भने यू १९ टोलीबाट बन्द प्रशिक्षणमा आउने छन् । यसै साता मलेसियामा हुने एसीसी यू १९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडी बन्द प्रशिक्षणमा आउने छन् ।

च्याम्पियनसिपको छैटौं स्थानमा रहेको नेपालको लागि युएईसँगको खेल प्रतिष्ठाको लडाई मात्र हुने छ । किनकि च्याम्पियनसिपबाट नेपाल डिभिजन २ मा घटुवा हुनुका साथै विश्वकप छनोटमा पुग्ने लक्ष्यबाट बाहिरिसकेको छ ।

च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत गएको कात्तिकमा हङकङविरुद्ध एक खेलमा हार र एक खेलमा अंक बाडेपछि नेपाल डिभिजन दुईमा झरेको थियो । डिभिजन २ सन् २०१८ को फेब्रुअरीमा नामिबियामा हुनेछ । तर, नेपालले डिभिजन २ बाट विश्वकप छनोटमा पुग्ने मौका भने पाउने छ । डिभिजन २ को शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ ।

च्याम्पियनसिपमा नेपालको १२ खेलबाट ९ अंक रहेको छ । यता, युएई भने ६ अंक जोडेर लिगको पुछारमा रहेको छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा रहेको पपुवा न्युगिनीले विश्वकप छनोटको लागि स्थान पक्का गरिसकेको छ । अब तेस्रो स्थानमा स्कटल्याण्ड, चौथोमा हङकङ र पाँचौ स्थानमा केन्यामध्ये दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउने छन् ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरुमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, बसन्त रेग्मी, बिनोद भण्डारी, सागर पुन, करण केसी, नरेश बुढाएर, शक्ति गौचन, जितेन्द्र मुखिया, मेहबुब आलम, सौरभ खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, आरिफ शेख, ललित सिंह भण्डारी, सुशन भारी, सुशील कँडेल, हसिम अन्सारी, सिद्धत लोहनी, दिलिप नाथ, बिक्रम सोब, सुनिल धमला, अनिल मण्डल र कुशल भुर्तेल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *