हरेक मामिलामा खुलेर लाग्ने सहर धरानमा, कण्डम झिक्नै लजाउँछन

भरतराज शर्मा, धरान । धरान–१ छाताचोकस्थित पुरानो अस्पताल परिसरमा रहेको स्वास्थ्य चौकीमा कण्डम बाकस कहिल्यै खाली हुँदैन । ‘म कण्डम बाकस हु, तपाईहरूलाई आवश्यक परेजति लानुहोस’ भनेर लेखिएको छ तर कण्डम नै झिक्न लाज मान्ने गरेको त्यहाँस्थित कर्मचारीहरू बताउँछन् । ‘धरानमै कण्डम किन्न, झिक्न लजाउने पनि छन्’, अहेब दुर्गाप्रसाद पौडेल भन्छन्, ‘जनचेतनाको कमीले पनि यस्तो भएको हो ।’

‘आवश्यक भएर पनि औषधि पसलमा वा स्वास्थ्यचौकी पुगेर लिन नमान्दा एड्सको सङ्क्रमण बढेको देखिन्छ,’ उनले भने, ‘जनचेतना अभियानलाई तीव्रता दिएर साधन प्रयोगमा लगाउन सक्नुपर्छ ।’

औषधि पसलमा मात्र पुगेर किन्नुपर्ने कन्डम, पिल्सलगायत परिवार नियोजनका साधनहरू अबदेखि पसलपसलमै पाइने भए पनि यो कार्यान्वयन हुन सकेको छैन । ‘यौन रोग र एड्सबाट बच्ने उपाय र मानव स्वास्थ्यका लागि धरानमा पनि अभियान चलाउनु आवश्यक छ ।’ ती कर्मचारी भन्छन् । एचआईभी एड्सको संक्रमण न्यूनीकरण अभियानले सहयोग पुग्ने स्वास्थ्यकर्मीको पनि मत छ ।

‘आवश्यक भएर पनि कन्डम लिन लाज मान्दा एड्सको संक्रमण बढेको देखिन्छ,’ उनको भनाइ छ, ‘जनचेतना अभियानलाई तीव्रता दिएर साधन प्रयोगमा लगाउन सक्नुपर्छ ।’ धरानमा कन्डम प्रयोग गर्न छाडेर गर्भनिरोधक औषधि खाने क्रम बढेको औषधि पसलका सञ्चालकहरुको भनाइ छ । यसले एचआईभी संक्रमणको जोखिम बढाउँदै लगेको स्वास्थ्यकर्मी बताउँछन् । औषधिले गर्भ बस्न रोके पनि एचआईभी र यौनजन्य रोग सर्नबाट रोक्दैन । स्वास्थ्यका लागि खतरा र आर्थिक रूपमा खर्चिलो हुने गर्भनिरोधक औषधि सेवन निरुत्साहित गर्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

औषधि सेवन गरेर गर्भ बस्न नदिने र कन्डमबिना यौनसम्पर्क राख्दा जोखिम बढ्छ । औषधि व्यवसायीका अनुसार अविवाहित किशोरकिशोरीले गर्भनिरोधक औषधि बढी किन्ने गरेका छन् । इकोन, आइपिल, अनवान्टेड, ई ७२, म्याक्स ७२, एमटीपी, प्रिग्नो, एमटिपिल्सलगायत गर्भनिरोधक औषधि किन्नेको सङ्ख्या ५० प्रतिशत बढेको औषधि व्यवसायीको भनाइ छ ।

‘कलेज पढ्ने युवती इकोन किन्न एकाबिहानै ढोका ढक्ढक्याउन आउँछन् । विशेषगरी अविवाहित यस्तो औषधि किन्न आउँछन् ।’ एक औषधि पसले नाम नछाप्ने सर्तमा भन्छन् । आफूले गर्भनिरोधक औषधिको सट्टा यौनसम्पर्क राख्दा कन्डम प्रयोग गर्न सम्झाउने गरेको औषधि पसले बताउँछन् । खाने औषधि प्रयोग जोखिमपूर्ण हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । गर्भ रोक्न औषधि सेवन गर्दा एचआईभी तथा यौनरोगको जोखिम त बढ्छ, जीवनभर बाँझोपन हुने सम्भावना पनि बढ्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

राष्ट्रिय एचआइभी तथा एड्स रोग नियन्त्रण केन्द्रका अनुसार नेपाली समाजमा कन्डमका विषयमा अहिले पनि खुलेर कुरा हुने गरेको छैन । कन्डमको नाम सुन्नेबित्तिकै जिब्रो टोक्ने चलन अझै समाजमा व्याप्त रहेको छ । कन्डमका विषयमा बोल्न, छुन र किन्नसमेत हिच्किचाउने प्रवृत्ति रहेको छ ।

तथ्याङ्क अनुसार नेपालमा वार्षिक साढे ५ करोड देखि ६ करोड थान कन्डम खपत हुन्छ । त्यस्तै, यहाँ सञ्चालित अस्पतालका साथै धरान–४ स्थित छाताचोकमा रहेको स्वास्थ्य चौकीमा किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा नहुँदा किशोरकिशोरीहरु यसरी खुल्न नपाएका हुन् । किशोर किशोरी मैत्री नहुँदा अहिले किशोर किशोरीहरु यहाँ कुनै प्रकारको सेवा लिन नआएको हेल्थ असिष्टेण्ट नवीनकुमार राईले जानकारी दिए ।

‘अहिलेसम्म यो स्वास्थ्यचौकीमा एक जना पनि सेवा लिन आएका छैनन्, सुरक्षित गर्भपतन गराउन त एक जना पनि दिनमा आइपुग्दैनन् ।’ उनले भने । यौन तथा प्रजनन् स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम नराखिनाले पनि किशोरकिशोरीले यसबारे खुलेर कुरा गर्न सक्षम नभएका हुन् ।

चौकीले त्यस क्षेत्रका विद्यालय, कलेजलगायतका शैक्षिक संस्थामा पढ्ने १० वर्षदेखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यबारे सहज र सरल रूपमा जानकारी हुनुपर्ने उनको भनाइ छ ।

सुरक्षित र सुविधा सम्पन्न त्यस क्लिनिकले किशोरकिशोरीलाई किशोरावस्थामा आइपर्ने समस्या, चुनौतीलगायतका प्रत्येक कुराबारेमा परामर्श दिनुका साथै परिवार नियोजन, यौन, एचआइभी एड्स तथा प्रजनन् स्वास्थ्य, पोषण, सुरक्षित गर्भपतन, मेडिकल र स्वास्थ्य शिक्षा तथा सञ्चारलगायतका सेवा निरन्तर रूपमा प्रदान गरिनुपर्ने उनको कथन छ ।

सरकारले केही वर्षअघि किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने उद्देश्यले सुरु गरिएको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा आगामी २ वर्ष भित्र ७५ वटै जिल्लामा विस्तार गरिने जनाएको थियो । चार वर्ष अघि देशका सबै जिल्लामा सेवा पु¥याइने परिवार स्वास्थ्य महाशाखाले जनाएको थियो । स्वास्थ्य संस्थाहरूमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सुरु भएपछि उनीहरू खुलेर आफ्ना समस्या भन्न थाल्ने र स्वास्थ्यकर्मीको व्यवहारमा पनि परिवर्तन आउने लक्ष्य राखिएको थियो ।

यस्तो सेवा दिने स्वास्थ्यकर्मीहरुलाई किशोरकिशोरीहरु सेवा लिन आउँदा उनीहरूका कुरा ध्यानपूर्वक सुन्न, समस्या समाधानमा सहयोग गर्न र समग्र भूमिका कस्तो हुनुपर्छ भन्ने जस्ता कुरामा तालिम दिने गरिएको छ । यस्तै, सूचना र आपसी छलफलको माध्यमबाट किशोरकिशोरीहरुले आफूमा भएको समस्या समाधानको प्रयास गर्न सक्ने भएकाले विद्यालयमा केन्द्रित रहेर किशोरकिशोरी सूचना केन्द्र स्थापनामा जोड दिइएको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =