यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

चिनियाँ चमत्कारः नागरिक 

चीनको राजधानी बेईजिङमा कात्तिक १ देखि सुुरु भएको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन मंगलबार समापनसंगै संसारभरी यसबारे चर्चा भर्यरहेको छ । ग्रेट हल अफ द पिपलमा एक सातादेखि चलेको महाधिवेसन उद्घाटन समारोहमा राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुक अब नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका थिए । तीन घन्टा लामो सम्बोधनमार्फत उनले चीनलाई विश्वसामु उदाएको धनी शत्तिशाली मुलकका रुपमा समेत चित्रित गरेका थिए ।

सभ्यताको पुरानो विरासत बोकेको चीनको तयारी यतिबेला विश्वको केन्द्र बन्न उन्मुख छ । नेतृत्व सबल रह्यो भने जस्तोसुकै व्यवस्थाबाट पनि समृद्धि सम्भव छ भन्ने सन्देश चीनले दिएको छ । जनता समृद्ध भए व्यवस्था टिकाउन गाह्रो छैन । चिनले अहिले लिएको नीति राजनीितक र आर्थिक दुवैमा सफल देखिएको छ । विश्व समुदायबाट ब्यक्त आशंका र आक्रमणविपरीत चीनले व्यापार, व्यवसाय, लगानी र अन्र्राष्ट्रिय शान्तिमा सहयोग पुर्याईरहेको छ ।

बैंकिङ सुरक्षामा ध्यान देऊः कान्तिपुर 

एनआईसी एसिया बैंकको विदेशमा रहेको खाताबाट रकम चोरी भएको विषयले समग्र वित्तीय क्षेत्रको सुरक्षामा प्रश्न उठाइदिएको छ । उक्त घटनालगत्तै नेपाल राष्ट्र बैंकले थालेको अनुसन्धान, छलफल र अन्य वित्तीय संस्थाले गरेको पहलले सुरक्षामा चासो बढेको देखिन्छ । सँगसँगै धेरै वित्तीय संस्थाहरूमा बढेको त्रासले सूचना–प्रविधिलगायतका क्षेत्रमा सुरक्षा जोखिम पनि रहेको देखाउँछ ।

बैंक–वित्तीय संस्था भनेका सर्वसाधारणको रकमबाट चल्ने निकाय हुन् । सर्वसाधारणले आफूसँग राख्दा रकम असुरक्षित हुने र केही हदसम्म भए पनि ब्याजका रूपमा प्रतिफल पाउने आशामा त्यहाँ रकम जम्मा गरेका हुन्छन् । तर ती संस्थाबाट पनि रकम चोरी हुन थालेकाले त्रासको वातावरण बन्न थालेको छ ।

पहिले सञ्चालक आफैं वा पहुँचवालाले ऋण नतिर्ने जोखिम बढी थियो, जसले गर्दा सर्वसाधारणको बचत हिनामिना भएर केहीले रकम गुमाएका उदाहरण पनि छन् । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडजस्ता सरकारी बैंक उकास्न दातृ निकायको ऋण नै लिनुपरेको थियो ।

बढ्दो चेतना स्तर, राष्ट्र बैंकको तदारुकता र दातृ निकायहरूको ताकेताले त्यो जोखिम केही कम भएको छ । पछिल्लो समयमा बढेको प्रविधिको प्रयोगसँगै नयाँ जोखिम पनि थपिएको छ । एटीएम कार्ड दुरुपयोग भएर सर्वसाधारणको रकम हिनामिना हुने क्रम रोकिएको छैन ।

केही वर्षअघि हिमालयन बैंकमा त्यहींका कर्मचारीको संलग्नतामा कार्डमार्फत सर्वसाधारणको रकम चोरी भएको थियो । पछिल्लो समय विदेशी नागरिकको समेत संलग्नतामा कार्डबाट रकम चोरी भइरहेको छ र कतिपय कारबाहीको दायरामा पनि आएका छन् । एनआईसीको विषय भने बढी संवेदनशील छ । भलै उक्त बैंकबाट सर्वसाधारणको रकम चोरी भएको होइन, तर यसको असर बैंकको मुनाफादेखि सञ्चालनसमेतमा पर्नेछ, जसले बचतकर्ता र सेयरधनीको प्रतिफलमा पार्ने जोखिम छँदै छ ।

विदेशी नागरिकमाथि निगरानीः कारोवार 

नेपालले आफ्नो भूमि भ्रमणका लागि विदेशी नागरिकका लागि सन् १९५० कै दशकदेखि खुला गरेको भए पनि ९० को दशकपछि मात्र यहाँ विदेशी पर्यटकको संख्या बढ्न थालेको हो । अझ त्यसमाथि ९० कै दशकमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमार्फत बाह्य लगानी र प्रविधिलाई समेत स्वागत गर्न थालिएपछि यहाँ विदेशीहरूको संख्या बढ्न थालेको हो ।

अहिले मूलतः पाँच प्रयोजनले विदेशीहरू नेपाल आउने गरेका छन् । पहिलो— भ्रमण वा पर्यटन, दोस्रो— व्यापार, व्यवसाय तथा लगानी, तेस्रो— औषधोपचार, चौथो— अध्ययन र पाँचौं— रोजगारी । नेपालजस्तो सानो देशमा कसरी विदेशीहरू रोजगारीका लागि आउँछन् र भन्ने आमप्रश्न उब्जने गरे पनि बहुराष्ट्रिय कम्पनीहरूदेखि नेपालकै कम्पनीहरूमा समेत परामर्शदाता, विज्ञका रूपमा मात्र नभई सामान्य कर्मचारी र कामदारका रूपमा विदेशीहरू कार्यरत रहेको पाइएको छ ।

यसरी नेपालमा काम गर्ने विदेशीहरूको संख्या ५० हजारभन्दा बढी भए पनि तीमध्ये निकै कमले मात्र श्रमस्वीकृति लिएका छन् । नेपाल–भारतबीच सन् १९५० को सन्धिका कारण नेपालका थुप्रै उद्योग–व्यवसायहरूमा उल्लेख्य संख्यामा भारतीय कर्मचारी–कामदारहरू कार्यरत छन् भने अनौपचारिक श्रमक्षेत्रमा मात्र १० लाखको हाराहारीमा भारतीय कामदारहरू कार्यरत रहेको अनुमान गरिएको छ ।

नेपाल र भारतबीच करिब १ हजार ८ सय किलोमिटर लामो खुला सीमाका कारण सीमावर्ती क्षेत्रमा कृषि मजदुरदेखि निर्माण र औद्योगिक मजदुरका रूपमा दुवै देशका नागरिकको बाक्लै आवतजावत हुने गरेको छ । खुला सीमाको फाइदा दुई देशका नागरिकले मात्र लिएका छैनन्, तेस्रो देशका अवैध आप्रवासी शरणार्थीहरूसमेत खुला सिमानाका फाइदा उठाउँदै नेपाल छिर्ने गरेको हालैको रोहिङ्ग्या शरणार्थीहरूको अवैध प्रवेशले पुष्टि गरेको छ ।

काठमाडौंको कपनमा झन्डै ५ सयको हाराहारीमा रोहिङ्ग्या शरणार्थी बसिरहेको देखिए पनि देशका अन्य भूभागमा पनि यस्ता अवैध शरणार्थीले बास लिएको हुन सक्ने सम्भावना अत्याधिक छ । त्यसैले अन्तर्राष्ट्रिय प्रचलनहरूको समेत अध्ययन गरेर विदेशी नागरिकको निगरानी गर्ने प्रभावकारी कानुनी व्यवस्था गर्नु र त्यसलाई लागू गर्न बलियो संयन्त्र बनाउनु अपरिहार्य भइसकेको छ ।

प्रादेशिक संरचना तयारीमा ढिलाइः गोरखापत्र 

आगामी मङ्सिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।  मतदान भएर मत परिणाम आउन थप एक साता लागेमा पनि अबका डेढ महिनाभित्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य आइसक्नेछन् । नयाँ संविधान जारी भएको दुुई वर्ष भइसकेको छ ।  नयाँ संविधान अनुसार पहिलोपटक चुनाव हुन गइरहेकाले अहिलेसम्म प्रदेशमा कुनै पनि कार्यालय र संरचना छैन ।  प्रदेशसभाको अन्तिम परिणाम आएको तीस दिनभित्रै प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रदेशसभाको बैठक बोलाउनेसम्मको अधिकार रहेको प्रदेश प्रमुखको नियुक्ति भएको छैन भने प्रदेश प्रमुखको कार्यालय, प्रदेश संसद् लगायत अन्य कार्यालय कहाँ राख्ने भन्ने टुुङ्गो अहिलेसम्म लाग्न सकेको छैन । प्रदेश सरकारी सेवा प्रवाहबारे कुनै तयारी भएको छैन ।  संविधानको धारा १६३ मा नेपाल सरकारको प्रतिनिधिका रूपमा प्रत्येक प्रदेशमा एक–एकजना प्रदेश प्रमुख रहने र प्रदेश प्रमुखको नियुुक्ति राष्ट्रपतिले गर्ने व्यवस्था छ । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुुक्त गर्नेदेखि मुख्यमन्त्रीको सिफारिसमा प्रदेश मन्त्रिपरिषद् गठन गर्ने, प्रदेशसभाको बैठक आह्वान र प्रदेशसभाले पारित गरेका ऐन प्रमाणीकरण गर्नेसम्मका अधिकार प्रदेश प्रमुखलाई छ ।

प्रदेश प्रमुुख नियुुक्तिसम्बन्धी मापदण्ड भने तयार भएको बताइएको छ ।  सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा रहेको अधिकारसम्पन्न सङ्घीय प्रशासन पुनःसंरचना समितिले तयार पारेको यो मापदण्ड अनुसार प्रदेश प्रमुुख हुने व्यक्ति संविधान, कानुन र प्रशासनका क्षेत्रमा अनुुभवी व्यक्ति हुनुपर्ने, स्वच्छ छवि र राष्ट्रिय ख्यातिप्राप्त हुनुपर्ने, नियुुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने हुन्छ ।

प्रदेश राजधानी तोक्ने, प्रदेश प्रमुख नियुक्ति गर्ने, सेवा प्रवाहका लागि आवश्यक कार्यालय, भौतिक पूर्वाधार तयार गर्नेदेखि कर्मचारी व्यवस्थापन गर्नेसम्मका काम अझै बाँकी रहेकाले अब ढिलाइ गर्नुहुन्न ।  निर्वाचित पदाधिकारी आइसकेपछि सहज र नियमित रूपमा आफ्नो जिम्मेवारी वहन गर्ने वातावरण तयार हुन आवश्यक छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *