सिरियामा रुसी सेनाको कारबाहीमा २२ बिद्रोही मारिए

“
बेरुत । उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी सोमबार साँझ २२ जना विद्रोहीको मृत्यु भएको समाचारमा जनाइएको छ । मारिनेमा सिरियाका विद्रोही लडाकूहरु रहेको मानव अधिकारकर्मीहरूले पुष्टि गरेका छन् । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियाली विद्रोहको अवस्थाका बारेमा अनुगमन गरिरहेको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । उक्त अधिकारवादी संस्थाका अनुगमनकर्ताले मङ्गलवार बिहान सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ ।
सोमबार साँझपख हवाई सेनाले कारबाही थालेको थियो । कारबाहीका क्रममा २२ जनाको ज्यान गएको बताइएको छ । तर, उक्त कारबाही किन गर्नु परेको हो भन्ने बारेमा भने रुसी वा सिरियाली सेनाले केही बताएको छैन । रुसी सेनाले फायलाक अल साम आबद्ध विद्रोहीहरूलाई लक्ष्य गरेर सो कारबाही गरेको विगतमा पनि बताउने गरेको थियो । घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्रको रूपमा मानिन्छ ।
सिरियामा जारी गृहयुद्धका कारण गएको कम्तीमा पनि पाँच वर्षदेखि हिंसा भइरहेको छ । यहाँ तीन लाखभन्दा बढी नागरिकले हिंसामा परी ज्यान गुमाएका छन् । पछिल्लो समयमा यहाँ आतंककारी समूहहरुको पनि घुसपैठ सुरु भएको छ । जसका कारण सिरियामा हिंसाका नयाँ नयाँ रूप भित्रिएका बताइन्छ ।”








