कहिलेदेखि सुरु भयो देउसी–भैलो

कृष्ण अविरल

नेपाली समाजमा प्रचलित लोकभाकाहरुमध्ये अति लोकप्रिय भाका हुन् देउसी–भैली । विशेषतः तिहारको लक्ष्मी पूजाको दिन कुमारी केटीहरुले सामुहिक रुपमा भैली गाउने र त्यसको भोलिपल्टदेखि केटाहरुले देउसी खेल्ने परम्परा भए पनि अहिले सामुहिक रुपमा देउसी–भैली गाउन थालिएको छ । खेल्ने दिन पनि काग तिहारदेखि भाइटीकाको भोलिपल्टसम्म जारी रहन्छ । राजनीतिक दलका सांस्कृतिक भातृ संगठन र कतिपय संघसंस्थाहरुले त देउसी भैलीलाई संस्थागत आयआर्जनको माध्यम पनि बनाएका छन् । यसका नाममा कतिपय घरधनीलाई सताउने र चर्को आवाजमा गानबजान गरेर ध्वनि प्रदूषण समेत गर्न थालिएको छ । विकृति बढेकाले सरकारले समेत नियम बनाएर कडाइ गर्नु पर्ने बाध्यता बन्दै गएको छ ।

बत्तीको झिलिमिलीसँगै मनाइने तिहारको महत्व नै देउसी(भैलीसँग गाँसिएको छ । दशैंलाई ब्राहृमणवादीहरुको पर्व भन्दै टीका बहिष्कार गर्ने तथा गर्न दवाव दिनेहरु समेत तिहारमा हुल बाँधेर देउसी–भैली खेल्न हिंड्छन् । सबै जातजाति र भाषाभाषीलाई आत्मीयता र भातृत्वको मालामा गाँस्न सक्नु नै तिहारको सबैभन्दा सवल पक्ष हो । गेय र भावको सरलता देउसीको सुन्दर विशेषता हो । असी नाघेर बसी खाने उमेर पुगेका बूढापाकादेखि तोतेबोली बोल्दै गरेका केटाकेटी सबैले गाउन सक्ने भएकैले पनि देउसी भैलीको लोकप्रियता नेपाली माझ सर्वव्यापी भएको हो । अझ देउसी भैली गाउँदा आर्थिक उपार्जन सजिलै हुने भएकाले पनि यसप्रति जो कोही आकषिर्त हुने गरेका छन् । देउसी भैली मनाउने परम्परा नै नभएका झापा(मोरङका राजवंशी तथा पहाडी मूलका मानिसहरुको बस्ती भएका राजविराज, विरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी आदि ठाउँका अन्य जातिका केटाकेटीले समेत समुह बाँधेर देउसी–भैली खेल्नुले यसको लोकप्रियता थाहा पाउन सकिन्छ ।

सद्भाव, सुखशान्ति र समृद्धिको कामना गर्दै खेलिने देउसी कहाँबाट कहिलेदेखि सुरु भयो भन्ने बारेमा भने अहिलेसम्म कसैले पनि गहन रुपमा अध्ययन गरेको पाइएको छैन । कृष्णप्रसाद पराजुली, धर्मराज थापा, डा. चुडामणि बन्धु लगायतका लोकभाका–लोक संस्कृतिका अध्येताहरुले देउसी भैलीलाई युगौंदेखि परम्पराका रुपमा चलिएको लोकभाका भनेका छन् । लोकभाका भएकाले यसको खास सर्जक नभएको र समयअनुसार परिकृष्कृत र परिमार्जित हुँदै गएको भन्ने उनीहरुको भनाई छ । लोकभाकाका अध्येता सुबि शाहले आफ्नो पुस्तक ‘नेपाली लोकगीतको झलक’ मा पनि देउसिरे गाथा नेपालमा प्राचीनकालदेखि चलेर आएको बताएका छन् ।

एकथरिको मतअनुसार देउसीको परम्परा पुराणकालीन राजा बलिका पालादेखि सुरु भएको हो । देउसीमा पुराणकालीन लोककथाहरु समावेश हुनु यसको प्रमाण भएको तर्क यस मतका पक्षधरहरुको छ । दिदीले यमराजलाई छक्याएर भाईलाई बचाएको तथा राम–रावणका कथाहरु देउसीमा गाथाको रुपमा आउनुलाई पनि उनीहरुले आधारको रुपमा अघि सारेका छन् । तर तिहार मनाउने सबै हिन्दूमा देउसी–भैलीको चलन नहुनले यो तर्कलाई कमजोर बनाएको छ । अर्काथरिको मतमा चाहिँ १५–१६ औं शताब्दीको शक्तिशाली सिंजा साम्राज्यका बलि राजाका पालादेखि देउसीको परम्परा सुरु भएको हो । दक्षिणका भारतीय नबाबले आक्रमण गरी सिंजाली सेनालाई परास्त गरेपछि बर्षमा यति रुपैया र धनदौलत कर बुझाउने भन्ने सहमति भयो । तर त्यो करको रकम राजा एक्लैले जुटाउन सम्भव हुँदैनथ्यो । हरेक संकटमा राजालाई घरलौरीबाट गच्छेअनुसार वा तोकेअनुसार सहयोग जुटाउने त्यो बेलाका परम्परा थियो । राजाका छोराछोरीको बिहे बटुलो आदिमा पनि यसैगरी खर्च जुटाउने गरिन्थ्यो । यो परम्परा सिंजामा मात्र नभएर काठमाडौं र माझकिराततिर पनि भएको इतिहासमा पाइन्छ ।

भारतीय नबाबलाई तिर्ने खर्च कसरी जुटाउने भन्ने बारेमा भारदारहरुबीच छलफल हुँदा तिहारका बेला युवाहरु भेला भएर गाउँगाउँमा देउसी खेल्ने र त्यसबाट उठेको रकम राज्यकोषमा जम्मा गर्ने भन्ने निष्कर्ष निकालियो । तिहारमा लक्ष्मीपूजाका लागि पनि मानिसले केही धनको जोहो गर्ने भएकाले मनखुशीले सहयोग जुट्ने उनीहरुको विश्वास रह्यो । देउसीमा ‘हामी त्यसै आएनौं, बलि राजाले पठाको’, ‘पहाडको बाटो, चिप्लो माटो’ जस्ता सन्दर्भ उल्लेख हुनु यसको बलियो प्रमाण हो । भब्य रुपले तिहार मनाउने मधेसी तथा भारतीय हिन्दू समाजमा देउसी–भैलीको चलन नभएर पहाडी हिन्दूहरुमा मात्र विद्यमान हुनुले पनि यो तर्कलाई बल मिलेको छ ।

इतिहासकार ज्ञानमणि नेपालले चाहिँ यो मतलाई पुष्टि गर्ने बलियो आधार अहिलेसम्म नपाइएको बताउँछन् । उनको भनाईमा यो परम्परा पुराणकालीन बलि राजाका पालादेखि नै सुरु भएको हो । “जात्रा मात्र यो दिनदेखि सुरु भयो भन्ने हुन्छ । पर्वहरु कहिलेदेखि सुरु भयो भन्ने हुँदैन ।” नेपालले भने, “जुम्लाका बलि राजाले देउसीलाई कर उठाउने माध्यमको रुपमा उपयोग गरे होलान् तर उनकै पालादेखि देउसी सुरु भएको भन्ने आधारचाहिँ भेटिएको छैन ।” लोकभाकाका अध्येता सुबि शाहले आफ्नो पुस्तक ‘नेपाली लोकगीतको झलक’ मा चाहिँ देउसी भाइटीकाको दिन सामुहिक रुपमा खेलिने गाथा हो भनेका छन् । “यो देउसिरे खेल्दा गोरुतिहारका दिन तल्ला भनिने जातिले र भाइटीकाको दिन टीका लगाएपछि सबैले खेल्ने चलन गाउँघरमा अद्यपि छँदै छ ।” पुस्तकका पेज ६७ मा उनले लेखेका छन्, “तर ठाउँठाउँको चलनअनुसार भाइटीकाको दिन नखेलेर अघिल्लै दिन खेलेको पाइन्छ । तर देउसिरेको मुख्य कहानी हेर्दा भाइटीकाकै दिन खेल्नु पर्ने देखिन्छ ।”

पछिल्लो समयमा भने पुराणकालीन मिथक र लोककथाहरुको सट्टा समसामयिक राजनीति, सामाजिक विकृति र विसंगतिप्रति व्यङ्ग्य गर्दै देउसी खेल्न थालिएको छ । रेकर्ड भएर टिभीमा देखिने, रेडियोमा बज्ने देउसीमा मात्र होइन, गाउँघरमा संस्थागत रुपमा खेलिने देउसीमा समेत विकृति विसंगति प्रति प्रहार गर्ने लहर सुरु भएको छ । यसको सुरुआत गर्ने श्रेयचाहिँ १५ वर्षअघिदेखि ब्यङ्ग्यात्मक देउसी खेल्दै आएको संस्था सिस्नुपानी नेपाल र त्यसका संस्थापक अध्यक्ष चट्याङ मास्टरलाई जान्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =