आधा किलो चाँदी नपाएपछि प्रहरी पत्नीहरु झण्डै जुँधे !

काठमाडौँ, कात्तिक १ । पछिल्ला दिनमा प्रहरीले किलोका किलो सुनमात्र हैन, प्रदेश सभाका लागि उम्मेवार बनिसकेका सुन तस्कर पनि समातिसक्यो । तर, प्रहरीभित्र सुनको हैन, चाँदीको झमेला छ । अनि, आफू मर्यादामा बसेर अरूलाई मर्यादित बनाउनुपर्ने ‘सा’ब्नी’ हरुको सेल्फीले पुलिस डेलाई रोमाञ्चित बनाइदिएको छ । सेल्फी खिच्ने उनै ‘साब्नी’ हरुको बाझाबाझ नै चल्यो, नेपाल प्रहरी श्रीमती सङ्घमा ।

प्रहरी पत्नीहरुका तर्फबाट सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित अविच्छिन्न उत्तराधिकारवाला संस्था श्रीमती सङ्घको हालै सम्पन्न ३३ औँ वार्षिकोत्सवमा मनोमानी शैलीको कुरालाई लिएर आपसमा लामै विवाद भयो । सरकारले प्रहरी नेतृत्व छनौटमा गरेको ढिलाइका कारण श्रीमती सङ्घको पुनर्गठन कानुनसम्मत हुन सकेको छैन । तर, एसएसपी र एसपीका पत्नीहरुले सङ्घ अवैधानिक भएको भन्दै वार्षिकोत्सवमा किचलो निकाले ।

‘सरहरु (पतिहरु) कानुन कार्यान्वयनको जिम्मेवारी बहन गर्ने, हामी अवैधानिक सङ्घ चलाएर बस्ने ? यो मिल्ने कुरा होइन’, एक जना एसपी पत्नीले वार्षिकोत्सवमा उठेको कुरा मकालु खबरलाई सुनाइन् । सरकारले आइजिपी छनौटमा ढिलाइ गरेका कारण समयमै हुनुपर्ने साधारणसभा प्रभावित भएको जवाफ दिइयो । सङ्गठनको नेतृत्व फेरिए पिच्छे सङ्घको नेतृत्व तलमाथि हुने जवाफ त उनीहरूले पाए, तर तल्लो दर्जाका अधिकृतपत्नीहरु मानिरहेका थिएनन् ।

०७२ सालदेखि सङ्घको साधारणसभा भएको छैन । अध्यक्ष स्वतः महानिरीक्षक पत्नी हुने प्रावधानअनुसार अहिले सीमा अर्यालले नेतृत्व गरेकी छन् । तर, त्यसबाहेकका पदाधिकारीको चयन लोकतान्त्रिक विधिबाट गर्नुपर्ने विधानविपरीत अघिल्लै कार्यसमितिका पदाधिकारी र सदस्यहरू बहाल छन् । योभन्दा पनि ठुलो लफडा भयो, मायाको चिनोमा । वार्षिकोत्सव सम्पन्न गर्न योगदान पु¥याउने श्रीमती सङ्घका सदस्यहरूलाई आधा किलो चाँदी उपहार दिने पूर्वनिर्धारित कार्यक्रम थियो । यसलाई दिने र उसलाई नदिने भनिएको थिएन । तर, वार्षिकोत्सवमा एसएसपीदेखि तलको दर्जाका हाकिम्नीहरु वैधानिकताको प्रश्न उठाउँदै कराएका कारण चाँदी पाउने सूचीबाट उनीहरूको नाम काटियो ।

एसपी पत्नीलाई बोलाउदा….

एआइजी पत्नीहरुलाई मात्रै दिने घोषणा गरियो । तर, एसपी पत्नी रिना बस्नेतको नाम बोलाइएपछि फेरि अर्को लफडा सुरु भयो । यसरी केही एसपी र डिएसपीका पत्नीहरुलाई पनि चाँदी उपहार दिइयो । यस्तो घटना भएपछि पाउने सूचीमा भएर नाम काटिएका प्रहरी पत्नीहरुले खाजा पानी बहिष्कार गरेर हिँडे । सामाजिक सङ्घ, संस्था ऐनअन्तर्गत दर्ता भएर सञ्चालनमा रहेको उक्त सङ्घको कोषको रकम हिनामिना भएको, मिलेमतोमा लेखापरीक्षण गराई अस्वभाविक शीर्षकहरुमा खर्च देखाइएको भनी अर्को विवादले पनि उग्र रूप लियो । सङ्घअन्तर्गत नै सञ्चालित लागुऔषध दुव्र्यसनी सुधार केन्द्र आसरामा पनि हिनामिना भएको मामिला प्रवेश भयो ।

अहिले आसरा प्रमुखको जिम्मेवारी एआइजी मिङ्मार लामाकी पत्नी रम्भाले सम्हालेकी छन् । त्यस्तै, हालै सम्पन्न ६२ औँ प्रहरी दिवसका अवसरमा आयोजित जलपान कार्यक्रममा निम्तालुहरुलाई प्रहरीपत्नीहरुको सेल्फीले निक्कै आकर्षित गरिरहेको थियो । सेतो बुट्टेदार साडीमा सजिएका प्रहरी पत्नीहरु सामान्यतया आयोजकका हैसियतले निम्तालुको स्वागतार्थीको भूमिकामा हुनुपर्ने हो । तर, यसपालि उनीहरू सेल्फीमा व्यस्त हुने, पतिहरुले चाहिँ इसारा गर्दै सेल्फी खिच्न नदिने दृश्य रोमाञ्चक थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *