सयपत्री फुल नफुल्दै आयो तिहार

किशोर खनाल, भरतपुर । गीतानगरका कृष्ण दाहालको घरमा रहेको सयपत्री फुल फुल्नु त परको कुरा, कोपिला समेत लागेको छैन । तिहार मुखैमा आइसक्दा पनि सयपत्री फुलको कोपिलासमेत नलाग्दा उनले यसपटकको तिहारमा बजारीया माला (भारतबाट आयातीत) नै किन्ने सुरसार गरेका छन् ।

‘सयपत्री फुल नफुल्दै यस पटक तिहार छिटो आयो, नत्र घरकै सयपत्री फुलले तिहारको माला बनाउन पुग्थ्यो । यस पटक बजारीया माला नै किन्न बाध्य भइयो’ दाहालले भने । तिहारको समयमा गाउँघरमा सयपत्री फुल फुलेर ढक्कमक्क हुन्थे । गाउँघरकै फुलले तिहारको माला बनाइन्थ्यो । सबैको घाँटीमा सयपत्री फुलको माला देखिन्थ्यो । यस पटक सयपत्री फुल फक्रन नपाउँदै तिहार दैलोमा आइसकेको छ ।

‘यस वर्ष सयपत्री फुलको अभाव हुन्छ, किनभने अहिले तिहार धेरै नै छिटो हामीमांझ आएको छ’ पुष्प व्यवसायी सङ्घ चितवनका अध्यक्ष प्रकाश पन्तले भने । उनले अघिल्लो वर्षहरूमा गाउँका घरहरुमा फुलेको सयपत्रीले भारतीय फुललाई विस्थापित गर्न सकेको बताए । उनले भने, ‘यस पटक सयपत्री नफुल्दै तिहार आएको हुनाले भारतीय फुल बजारमा बढी देखिएको छ ।’

व्यावसायिक रूपमा सयपत्री फुल खेती नगरिँदा पनि तिहारमा यसको अभाव भएको हो । सयपत्री फुलको अभाव भएको हुनाले यस पटक मालाको मूल्य महँगो पर्ने अध्यक्ष पन्तको भनाइ छ । सयपत्री फुल मात्र होइन, तिहारमा माला बनाइने गोदावरी, मखमली, सुपारी फुलको पनि अभाव छ । यस वर्ष ठुलो बाढी आएको कारणले पनि फुल खेतीलाई असर पारेको छ ।

‘चितवनमा यसवर्ष पाँच बिघामा सयपत्री फुलको खेती गरिएको छ । पाँच बिघाको सयपत्री फुलले चितवनलाई पुग्दैन’ अध्यक्ष पन्तले भने, ‘चितवनलाई धान्न १५ बिघाभन्दा बढीमा व्यावसायिक तरिकाले सयपत्री फुलको खेती गरिएको हुनुपर्छ ।’ फुलको अभावलाई छोप्न नारायणगढ, भरतपुर, टाँडी, खैरहनी, चनौलीलगायतका बजारमा भारतीय कृत्रिम मालाहरु भित्रिने क्रम दिनहुँ बढ्दो छ ।

‘किसानले बजारको बारेमा थाहा नपाउनु, फुलमा लगानी वातावरण बन्न नसक्नु, जनशक्ति र प्राविधिकको अभाव, सर्वसुलभ बिरुवा नपाउनु, सरकारको उदासीनताजस्ता विविध कारणले फुल व्यवसाय फस्टाएको छैन’ पुष्प व्यवसायी सङ्घका अध्यक्ष पन्तले भने, त्यस कारण फुलको अभाव भएको छ ।’ यहीँ सयपत्री फुल उत्पादन हुने हो भने, भारतीय मालामा कोही आकर्षित नहुने उनको भनाइ थियो ।

भारतबाट आउने कृत्रिम मालाहरुले बजार छोपिसकेका छन् । ‘यहाँ उत्पादन भएका प्राकृतिक फुलले पुग्दैन, भारतबाट कृत्रिम मालाहरु नल्याएसम्म उपाय छैन’ पन्तले भने, ‘हामीमा फुलको उत्पादन कम भएको कारणले भारतीय मालाहरु बजारमा आएका हुन् । चितवनका १५ जनाभन्दा बढी फुल व्यवसायी छन् । यी मध्ये कोही फुलको बिरुवा बेच्ने (गार्डे्निङ) छन् भने कोही फुल टिपेर बेच्ने (कट्फ्लावर) व्यवसायी छन् । तिहारको बेलामा चितवनमा स्थानीय सयपत्री, मखमलीलगायतका फुलबाट बनेका ५० हजारभन्दा बढीको माला खपत हुन्छ । तिहारको लागि बजारमा विभिन्न पसलमा कृत्रिम फुल सजाएर राखिएको छ । यसरी बेच्न राखेको व्यवसायीहरु कृत्रिम फुलतर्फ नै लोभिन्छन् । स्थानीय सयपत्री फुल खोज्नमा भन्दा पनि उनीहरू कृत्रिम फुलतर्फ तानिएका हुन्छन् । कृत्रिम फुलमा जोखिम कम हुने, चाँडै नबिग्रने, नाफा बढी आउने हुँदा बजारका व्यवसायीहरुले कृत्रिम मालाहरु नै आयात गरेको पाइन्छ ।

‘सयपत्री फुलको माला कम पाइन्छ, कृत्रिम माला जताततै पाइन्छ । यहाँको लोकल फुलको माला नपाएर कृत्रिम फुलको माला बेच्नु परेको हो’ व्यवसायी मुकेश यादवले भने, ‘धेरै रेडिमेट फूलमात्र देखिन्छ, म के गर्ने ? यसमा जोखिम हुँदैन । प्राकृतिक फुल त बिकेन भने घाटा हुन्छ ।’

चितवनमा तिहारमा मात्र कुल मागको करिब ५० प्रतिशत फुलको व्यापार हुन्छ । बर्सेनि १० देखि १५ प्रतिशतका दरले फुलको माग वृद्धि हुने गरेको पुष्प व्यवसायी सङ्घले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयले चितवन जिल्ला फुलमा आत्मनिर्भर नभए पनि थोरैमात्रामा विदेशी फुलहरू आयात भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *